सीमा समस्या हल गर्न चीनको प्रस्ताव भारतद्वारा अस्वीकार

विश्व

       

नयाँ दिल्ली । चीनले भारतसँगको सीमा विवाद हल गर्न सन् १९५९ मा प्रधानमन्त्री चाउ एनलाइले राखेको प्रस्तावमा सहमत हुन भारतलाई आग्रह गरेको प्रस्तावलाई भारतले खारेज गरेको छ ।

७ नोभेम्बर १९५९ मा प्रधानमन्त्री चाओले भारतीय समकक्षी जवाहरलाल नेहरुलाई पत्र लेख्दै सो प्रस्ताव राखेका थिए ।

चाओले सो पत्रमा पूर्वी सेक्टरमा म्याकमोहन लाइन र पश्चिम सेक्टरमा आआफ्नो नियन्त्रणमा रहेको क्षेत्रबाट दुवै देशले आफ्नो सैनिक २० किलोमिटर पछाडि सार्ने प्रस्ताव राखेका थिए ।

त्यसलाई भारतले अस्वीकार गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिँदै गएको थियो, जुन अन्ततः १९६२ मा युद्धमा परिणत भएको थियो ।

चीन अझै पनि चाओकै प्रस्तावमा अडिग रहेको अभिव्यक्ति चिनियाँ विदेश मन्त्रालयले दिएको छ । तर, भारतीय विदेश मन्त्रालयले भने त्यसलाई खारेज गरेको छ ।

‘भारतले एकतर्फी रुपमा परिभाषित १९५९ को लाइन अफ एक्चुअल कन्ट्रोललाई कहिल्यै स्वीकारेको छैन । भारतको यो अडान चीनलाई पनि राम्ररी थाहा छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ । त्यस्तै चीनले भारतको केन्द्र प्रशासित लद्दाखलाई मान्यता नदिने पनि स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया