जिम्बावेका राष्ट्रिय निकुञ्ज तहसनहस गर्दै चीन

विश्व

       

काठमाडौं । जिम्बावेको राष्ट्रिय निकुञ्जलाई कब्जामा ल्याएर चीनले त्यहाँ उत्खनन् गर्न थालेको छ। हालै मात्र सार्वजनिक भएको जिम्बावेमाथि चिनियाँ पञ्जाका समाचारहरु अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन् । अफ्रिकाको बहुमुल्य राष्ट्रिय निकुञ्जमध्येको एक मानिने जिम्बावेको ह्यान्जे राष्ट्रिय निकुञ्ज चिनियाँ कम्पनीहरुले कोइला उत्खननका लागि भन्दै तहसनहस पार्न लागेका हुन् ।

करिब एक सय स्तनधारी र ४ सय चरा प्रजाति एवं विश्वकै दुर्लभ जिवजन्तुहरु रहेको यो राष्ट्रिय निकुञ्जलाई चीनले अब, कोइला निकासीका लागि उत्खनन् गर्ने भएको हो । सुरुमा चिनियाँ टोलीलाई राष्ट्रिय निकुञ्ज क्षेत्रमा गैंडा अनुगमन गर्न गएको भेजाने ट्रस्टका टोलीले देखेको थियो । ती मानिसहरु जंगलमा हराएका हुन सक्छन् भन्ने ट्रस्टको समुहले आशंका गरेको थियो । तर, पछि ती मान्छे चीनको झोंगछिन कोइला उत्खनन् समुह र अर्काे चिनियाँ कम्पनी अफ्रोचिन स्मेल्टिंगका कर्मचारीहरु रहेको थाहा भएको थियो ।

उनीहरुसँग जिम्बावेका राष्ट्रपति इमर्सन माङ्गावाबाट कोइला उत्खनन्का लागि अनुमति मिलेको कागजातहरु समेत थिए । भेजाने ट्रस्टका ट्रेभोर लानेले राष्ट्रिय निकुञ्जको बीचमा कोइला उत्खनन् गर्न नहुने बताएका छन् । सयौं प्रजातिका पशुपंक्षी एवं जीवजन्तुका लागि निकै महत्वपूर्ण स्थानका रुपमा रहेको निकै ठूलो र महत्वपूर्ण राष्ट्रिय निकुञ्जलाई कोइला उत्खनन्का लागि भनेर सखाप पार्नु अुनचित देखिन्छ । यस्तो कार्य वातावरणविरोधी भएको ट्रस्ट समुहका अधिकारीहरु बताउँछन् ।

यसबाहेक चिनियाँ यो कदम अन्तराष्ट्रिय कानुन विपरीत भएको भन्दै विश्वभर आलोचना भएको छ । अहिले जिम्बावेले उत्खनन कार्यमा रोक लगाउने निर्णय गरेको छ । यद्यपी यो निर्णय कार्यान्वयन भने भएको छैन् । सामान्य रुपमै पनि, जिम्बावे सरकारले यसरी कुनै प्रतिप्रश्नबीना नै चीनलाई बहुमुल्य प्राकृतिक सम्पदा मास्न दिनु र चीनले पनि कुनै लाजबीना यस्तो गतिविधि अघि बढाउनुमा विश्व समुदायले नै घृणा व्यक्त गरेको छ ।

यसको एउटै कारण चीनको डेब्ट ट्र्याप डिप्लोमेसी हो। चिनियाँ ऋणको चंगुलमा फसेको जिम्बावेलाई ब्याजसमेत चुकाउन मुस्किल परिरहेको छ । यो अवस्थामा चीनले जिम्बाबेको राष्ट्रिय निकुञ्जमा कब्जा गरेको हो ।

र, यो सबै हुनुको जिम्मा रोबर्ट मुगावेको युगलाई जान्छ । अल्पसंख्यक गोरावर्गमाथिको उत्पिडन गर्न लागेको मुगावे सरकार अमेरिका र पश्चिमी प्रजातन्त्रबाट किनारामा पारिएका थिए । यो अवस्थामा उनले चीनलाई आफ्नो साथी पाएका थिए । त्यसयता चीनले अफ्रिकाका अन्य मुलुकझैं जिम्बावेमाथि पनि कृषि, उत्खनन्, वन एवं अन्य व्यापारिक क्षेत्रमा लगानी गरेको थियो । सन् २००० मा पश्चिमी प्रजातन्त्रले जिम्बावेमाथि प्रतिबन्ध लगाउँदा चीनले भने अर्बाैको लगानी गरेको थियो ।

चीनले सैन्य, एकेडेमी, सांसद भवन्, रेलवे एवं अन्य पूर्वाधारका क्षेत्रमा लगानी गरेको थियो । यसलाई ब्रिटिस कम्पनीले भारतमा कच्चापदार्थ बन्दरगाह नजिक पु¥याउन रेल सञ्जालको निर्माण गरेकै रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया