धनुषामा यस वर्ष बली प्रदान नहुने

समाचार

       

जनकपुरधाम, १४ असोज । कोरोना महामारीलाई मध्यनजर गर्दै स्थानीय प्रसाशनले धनुषा जिल्लामा यसवर्ष विजयी दशमीमा बली प्रदान गर्न रोक लगाएको छ ।

प्रत्येक वर्ष विजया दशमीको अवसरमा जनकपुरधामको राजदेवी मन्दिरसहित जिल्लाभर हुँदै आएको बलीप्रदानलाई यस वर्ष जिल्ला प्रशासन कार्यालय धनुषाले रोक्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै कोरोना भाइरसलाई मध्यनजर गर्दै यसवर्षको वडा दसैँमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरुमा बोकाबली नचढाउने, कुनै किसिमको भीडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने भएको निर्णय पालना गर्न अनुरोध गरेको छ ।

राजनीतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रनिनिधिहरुको उपस्थितिमा बसेको बैठकबाट जिल्ला प्रशासन कार्यालय धनुषाले यस्तो निर्णय गरेको हो ।

गत वर्ष जनकपुरको राजदेवी मन्दिरमा१४ हजार ६ सय ३३ बोकाबली भएको थियो ।

तपाईको प्रतिक्रिया