पोखरा–दिल्ली बस सेवा पुनः सुरु

समाचार

       

पोखरा, १५ असोज । लकडाउनका कारण बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ ।

पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँदिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा शुरु गरेको हो ।

पोखरादेखि नेपाल–भारत सीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पु¥याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पु¥याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

विगतमा नेपाल–भारत मैत्री बस सेवाअन्तर्गतको एक र प्रालिअन्तर्गत एक गरी दैनिक दुई बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिनेछ ।

दशैँ तिहारलगायत चाडपर्व नजिकिरहेको र पेशाव्यवसाय तथा रोजगारीका क्रममा भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन असहज नहोस् भनेर सेवा शुरु गरिएको बताइएको छ ।

मोडर्न इराले १४ वर्षअघिदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । त्यसैगरी नेपाल र भारत सरकारबीच दुईदेशीय यातायात सञ्चालनको सहमतिअनुसार २०७३ असारदेखि मैत्री बस सेवा सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया