राजदूत पाण्डेको अभिव्यक्तिप्रति थापाको आपत्ति

समाचार

       

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका नेता गगन थापाले चीनका लागि नेपाली राजदुतको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो की होइन भनि परराष्ट्र मन्त्रालायलाई सोधेका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका राजदुत महेन्द्र पाण्डेको नाम नलिई कांग्रेस नेता थापाले चिनियाँ राजदुतले दिएको अभिव्यक्ति सरकारको धारणा हो वा होइन भनी सरकारलाई नै सोधेका छन् ।

राजदुत पाण्डेले चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्समा दिएको गैर कुटनीतिक अभिव्यक्तिको राजनीतिक र कुटनीतिक वृत्तमा आलोचना भइरहेको छ । कुटनीतिज्ञ तथा कुटनीतिक मामिलाका जानकारहरुले सरकारले यस बारेमा आफ्नो धारणा स्पष्ट गर्न दवाव बढाएका छन् ।

कांग्रेस नेता थापाले चीनका लागि नेपाली राजदुतले ग्लोबल टाईम्समा दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई राजदूत पाण्डेको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो वा होइन भनेर सोधेका हुन् ।

पाण्डेको अभिव्यक्ति सरकारको आधिकारिक धारणा होइन भने परराष्ट्र मन्त्रालयले आफ्नो धारणा स्पष्ट गर्न समेत थापाले माग गरेका छन् ।

कांग्रेस नेता थापाले अन्तर्राष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवाञ्छनीय हुने बताए । थापाले ट्वीट गर्दै भनेका छन्, ‘यतिखेर भारत–चीन, नेपाल–भारत र नेपाल–चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दै गएको छ । यो समयमा राजदूत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कुटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ ।’

तपाईको प्रतिक्रिया