भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी भेट्दै

विश्व

       

काठमाडौं, २१ असोज । लद्दाखमा सिमा विवाद उग्र बनेयता पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी महिना आमने–सामने हुने भएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार आगामी नोभेम्बर १७ तारिखमा भिडियो कन्फ्रेन्समार्फत ब्रिक्स सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा सी र मोदी सहभागी हुनेछन् ।

रुसले मात्र आफूसहित चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिकाले १२ औं ब्रिक्स सम्मेलनमा भिडियो कन्फ्रेन्सको माध्यमबाट भाग लिने बताएको छ ।

गएको ६ वर्षयता सी र मोदीबीच १८ पटक भेटघाट भइसकेको छ । तर गत जुन महिनामा भारत र चीनका सेनाबीच भएको झडपयता दुवै नेताले सम्वाद गरेका छैनन् । अधिकारीहरुका अनुसार १७ नोभेम्बर अगाडि दुवै नेताबीच कुनै वैठक अथवा फोना सम्वादको कार्यतालिका नभएको बताइएको छ । यद्यपी ब्रिक्स सम्मेलन अगाडि यी दुई नेताबीच कुराकानी हुने सम्भावना भने रहेको विश्लेषकहरु बताउँछन् ।

सीमा विवाद उग्र बन्न अगाडि गत मार्च २६ मा पनि सी र मोदी एकै कार्यक्रममा सहभागी भएका थिए । साउदी अरबले कोरोना महामारीको विषयालाई लिएर जी–२० देशबीच भिडियो कन्फ्रेन्समार्पmत छलफल गराएको थियो ।

ब्रिक्स सम्मेलन समाप्त भएको चार दिनपछि नै जी–२० सम्मेलन हुँदैछ । यस कार्यक्रममा पनि सी र मोदी आमने सामने हुनेछन् । यसपटक जी–२० सम्मेलन नोभेम्बर २१ देखि २२ सम्म चल्नेछ ।

विश्लेषकहरुका अनुसार आगामी महिनाको १७ तारिखमा हुने ब्रिक्स सम्मेलन भारत र चीनबीच विवाद समाधान गर्ने एक अवसर हुनसक्छ ।

तपाईको प्रतिक्रिया