नवाज सरिफलाई हाजिर हुन अदालतको आदेश

विश्व

       

इस्लामाबाद । पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई नोभेम्बर २४ भन्दा अघि नै अदालतमा हाजिर हुन आदेश दिएको छ ।

उपचार गराउन भन्दै अदालतबाट बिदा लिएर लण्डन पुगेका सरिफ पटक पटक हाजिर हुन आदेश दिँदा पनि पाकिस्तान फर्किएका छैनन् । उच्च अदालतले सेप्टेम्बर १५ मा वारेन्ट जारी गर्दा सरिफले जवाफ दिएनन् । बरु एनको पारिवारिक स्रोतबाट उपचारमा थप समय लाग्ने प्रतिक्रिया आएको थियो ।

यसअघिका आदेश पालना नगरेपछि इस्लामाबादस्थित उच्च अदालतका रजिस्टारले शुक्रबार फेरि सरिफको नाममा पत्र लेखेका हुन् । यसअघि पाकिस्तान सरकारले सरिफलाई फरार अपराधीको रुपमा चित्रित गरेको छ । साथै भारतसँग मिलेर पाकिस्तानी सेनालाई कमजोर पार्ने षड्यन्त्र गरेको आरोप प्रधानमन्त्री इमरान खानले नै लगाएका छन् ।

सरिफ गत वर्षको नोभेम्बरदेखि नै बेलायतको लण्डनमा रहँदैआएका छन् । उपचारका लागि आठ महिनाको बिदा अदालतबाट स्वीकृत भए पनि उनी जानकारी विना नै थप समय बेलायतमै बसेका छन् ।

भ्रष्टाचार मुद्दामा दोषी भई १० वर्षको जेल सजाय भोगिरहेका नवाज सरिफले अदालतको आदेश विपरीत जेल बाहिर गएपछि उनलाई फिर्ता गर्न नसकेकोमा इमरान खान नेतृत्वको सरकार नै पछिल्लो समय आलोचित बन्ने गरेको छ ।

तपाईको प्रतिक्रिया