अमेरिकाले आठ चिनियाँ एपमाथि लगाए प्रतिबन्ध

विश्व

       

काठमाडौं । राष्ट्रपतीय कार्यकालको अन्तिम क्षणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि आठवटा चिनियाँ एप्लिकेसनमाथि प्रतिबन्ध लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले चर्चित भुक्तानी सेवा प्रदायक अलिपे, विच्याट पेसहितका आठ एपमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

बीबीसीका अनुसार प्रतिबन्धमा परेकामा अलिपे, क्युक्यु वालेट र विच्याट पे विश्वका चर्चित भुक्तानी सेवाप्रदायक छन् । उक्त कार्यकारी आदेश ४५ दिनमा कार्यान्वयनमा आउनेछ ।

अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा भएको आरोप लगाउँदै अमेरिकाले चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । ती एपमार्फत अमेरिकी नागरिकलाई ट्रयाक गर्नसक्ने सम्भावना रहेकाले प्रतिबन्ध लगाउनुपरेको बताइएको छ ।

प्रतिबन्धित सूचीमा क्युक्यु, क्यामस्क्यानर, सेयर इट, भीमेट र डब्ल्यूपीएस अफिस पनि छन् । अब ट्रम्पले सत्ता छोडेपछि यी प्रतिबन्ध लागू हुनेछन् । कार्यकारी आदेशमा भनिएको छ, ‘अमेरिकाले राष्ट्रिय सुरक्षाको रक्षा गर्न चिनियाँ सफ्टवेयर जोडिएको एप विकास गर्नेविरुद्ध सशक्त कदम चाल्नैपर्छ ।’

यसअघि नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी टिकटक, दूरसञ्चार सामग्री निर्माता हुवावे, चिपमेकर एसएमआईसी, ड्रोन उत्पादक डीजेआई टेक्नोलोजीलगायतका कम्पनीहरु कालोसूचीमा परिसकेका छन् ।

तपाईको प्रतिक्रिया