भारतीय राजदूत हुम्लामा

समाचार

       

काठमाडौं, ३१ भाद्र । भारतीय राजदूत मन्जिभसिंह पुरी दुई दिनका लागि आफनो परिवारसहित हुम्ला पुगेका छन् । राजदूत पुरीकी श्रीमतीसहित सात सदस्यीय टोली हुम्लाको सिमकोट पुगेका हुन् । 

परिवारसहित सिमकोट पुगेका राजदूत पुरीले सिमकोट विमानस्थलमा पुग्नेबित्तिकै आफ्ना देशमा कैलाश मानसरोवर जाने धार्मिक पर्यटकलाई सुविधा हुने गरी पूर्वाधार निर्माणमा जोड दिएका छन् । 

सिमकोटमा पुरीले जिल्लास्थित सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पौण्डेल, सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् । 

राजदूतसँगको भेटमा सहायक प्रमुख जिल्ला अधिकारी महेशमुकामर पौड्यालले सिमकोट विमानस्थलबाट जिल्ला अस्पताल केही टाढा भएकाले आपतकालीनका लागि ल्याएका बिरामीको उपचार गर्न समस्या भएको बताउँदै सिमकोट विमानस्थलमै घुम्ती स्वास्थ्य क्लिनिकको व्यवस्थाका लागि आग्रह गरे ।

सदरमुकाम सिमकोट विमानस्थमा पुगेलगत्तै राजदूत पुरीले हुम्लाका लागि भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए । हुम्ला आफैँमा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भएको यो शिवजीको बस्ने स्वर्गको ठाउँमा भएकोले यसलाई भारत सरकारले पनि विशेष क्षेत्रका रूपमा हेरेको पुरीले बताए ।

राजदूत पुरीलाई जिल्लामा भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्न सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले आग्रह गरे । उनले सिमकोट आसपासमा गाडी गुड्न थालेपछि बिरामाी ओसारपसार गर्ने एम्बुलेन्सको आवश्यकता भएको भन्दै भारतीय राजदूतसँग एम्बुलेन्स माग गरे । पुरी आफनी श्रीमतीसहित सिमकोटमा रहेको विजय होटलमा बास बसेका छन् । पुरी आइतबार मुगुको रारा अवलोकन गर्न जाने कार्यक्रम छ । 

तपाईको प्रतिक्रिया