‘दलित–दलितबीचसमेत छुवाछूत’

समाचार

राकेश प्रसाद चौधरी

       

महोत्तरी, ३ असोज । विभेद तथा छुवाछूत अन्त्यको कुरा आउने वित्तिकै दलित एवं गैरदलितबीच मात्र नभई दलित दलितबीच समेत छुवाछूत रहेको कुराले बढी चर्चा र स्थान पाउने गर्छ । दुवै कुरा असत्य भने होइनन् ।

दलित समुदायभित्रै भेदभाव र छुवाछुत रहेको कुरा महोत्तरी र सिरहा जिल्लाका सोही समुदायका अगुवाहरुले स्विकार गरेका छन् । यस विषयको स्विकारोक्तीसँगै मुक्तिका लागि बहस थालेका छन् ।

महोत्तरीको एकडारा तथा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका दलितले आफ्नै समुदायमा रहेको भेदभाव अन्त्य गर्न संवादहरु गर्न थालेका छन् । दलित समुदायभित्रै दुसाध, मुसहर, खत्वे, डोम, हलखोर, धोवी, चमार, तत्मासहितका जाति भेदभाव र जातीय स्थान निर्धारण भएकोले भेदभाव भइरहेको छ ।

छुवाछूत नमानेको खण्डमा देउता रिसाउने भय र त्रासका कारण यसको अभ्यास निरन्तर रुपमा भइरहेको एकडारा गोनरपुरा टोलकी बबिता देवी दासले बताइन् ।

यस्तो अभ्यास सिरहाको सखुवानन्कारकट्टीमा समेत देखिएको साझा आवाज परियोजना फिल्ड अफिसर टिकाराम विश्वकर्माले बताए । दलित समूदायभित्रका जातिहरुले मान्ने देउताहरुबीच समेत समानता देखिएको छ । यी समुदायले हनुमानजी, बन्नी, गोरैया, पंचपीढिसहितका देउताहरुलाई आ–आफ्नो घरमा पुजा गर्नेगर्छन ।

एकडारा एवं सखुवानन्कारकट्टी गाउँपालिकामा रहेका मानवअधिकार रक्षक संजालका सदस्यहरुले एकसाथ दलित दलित तथा दलित गैरदलितबीचको विभेद एवं भेदभाव अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमहरु गर्ने योजना बनाएको छ । एकडाराका मनजीत रामले दलित समुदायभित्रकै जातिका युवाहरुबीच मित लगाइए यसले छुवाछुत हटाउन मद्दत गर्ने बताए ।

दलित दलितबीचको छुवाछूत न्यून मात्रै गर्न सकिए गैरदलितबीचको विभेद अन्त्य गर्नका लागि यस विषयमा ब्यापक बहस र चर्चापरिचर्चा गर्न मद्दत मिल्ने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष मोहन पासवानले बताए ।

तपाईको प्रतिक्रिया