भ्रमण वर्षको लक्ष्य गढीमाई मेलाले एक्लै पूरा गरेको छ : उपेन्द्र प्रसाद यादव

मेयर, महागढीमाई नगरपालिका, बारा

स्थानीय सम्वाद्

    २०७६ माघ ३ शुक्रबार   

० महागढीमाई नगरपालिका धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको छ । पर्यटक भित्र्याउन नगरपालिकाले के गर्दैछ ?

— यस नगरपालिकामा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको छ, जसको मुख्य केन्द्र हो गढीमाई मन्दिर । यहाँ पर्यटक लोभ्याउनका लागि हामीले एउटा गुरूयोजना तयार गरेका छौं । धार्मिक पर्यटक भित्र्याउनका लागि गुरूयोजनाअनुसार मन्दिर वरिपरि विकासका कामहरू अगाडि बढाएका छौं ।

० व्यवस्थापन पक्ष कस्तो छ ?

— गढीमाई मन्दिरको प्रांगणमा एउटा ठूलो व्यवस्थित विवाहमण्डप १२ करोडको लागतमा बनाउँदैछौं । यसैगरी, हामी पोखरीहरू सौन्दर्यीकरण गर्दैछौं । यस्तै, यहाँ डिलक्स शौचालय निर्माण गरेका छौं । त्यसैगरी, सरसफाइको दृष्टिकोणले पनि नगरपालिकाले विभिन्न योजनाहरू सञ्चालन गरेको छ । यहाँ पार्क, चिल्ड्रेन पार्क लगायत निर्माण गर्ने हाम्रो गुरूयोजनामा रहेका छन् ।

० नेपाल भ्रमण वर्ष पनि सुरू भइसकेको छ, संघीय सरकारबाट कतिको सहयोग पाउनुभएको छ ?

— नेपाल भ्रमण वर्षको सन्दर्भमा गढीमाई मन्दिर पूर्वाधार निर्माणका लागि संघ वा प्रदेश सरकारबाट कुनै किसिमको सहयोग पाएका छैन । भ्रमण वर्षको लक्ष्य पूरा गर्नका लागि यो गढीमाईले ठूलो योगदान दिन सक्छ तर कुनै किसिमको चासो देखिएको छैन । नेपाल सरकारले यस भ्रमण वर्षमा पर्यटक भित्र्याउने जुन लक्ष्य लिएको छ त्यो लक्ष्य गढीमाई मेला एक्लैले पूरा गरिसकेको छ । गढीमाई पञ्चवर्षीय मेलामा ४० लाखभन्दा बढी विदेशी धार्मिक पर्यटक भित्रिएका थिए । अहिले पनि गढीमाईमा लाखौंको संख्यामा विदेशी पर्यटकहरू आउने गरेका छन् । तर, यसमा प्रदेश वा संघ सरकारले कुनै किसिमको ध्यान दिएको छैन । भारतीय धार्मिक पर्यटकलाई सरकारले सायद महत्व दिएको छैन जस्तो लाग्छ ।

० भनेपछि भारतका विभिन्न राज्यबाट गढीमाई मेलामा आउने धार्मिक पर्यटकलाई नेपाल सरकारले पर्यटकको रूपमा हेरेको छैन ?

— मलाई त यस्तै लाग्छ । किनभने अहिलेसम्म यहाँ प्रदेश वा केन्द्र सरकारको कुनै किसिमको ध्यानाकर्षण भएको छैन ।

० भारतीय धार्मिक पर्यटक पनि पर्यटक नै हो भनेर प्रदेश वा केन्द्र सरकारलाई किन ध्यानाकर्षण गराउनुभएको छैन ?

—हामीले प्रदेश र केन्द्र सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएका छौं । पञ्चवर्षीय गढीमाई मेला सुरू हुनुभन्दा पहिला पनि हामीले प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराएका थियौं । यो एसियाकै सबभन्दा ठूलो मेला हो, नेपालको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सक्छ, यसलाई भव्य र सभ्य बनाउन प्रदेश वा केन्द्र सरकारले केही गरिदिनुपर्छ भनेर डेलिगेशन दिएका थियौं । पत्रमार्फत् पनि हामीले सहयोग मागेका थियौं तर, कसैको कुनै किसिमको चासो देखिएन ।

० यस पटकको पञ्चवर्षीय गढीमाई मेलामा कतिसम्म पर्यटक आएका थिए ?

— यसपटकको गढीमाई मेलामा मंसिरसम्म लगभग ८० लाख पर्यटक भित्रिएका थिए र माघे संक्रान्तिमा १२ लाख पर्यटक आएका छन् । माघे संक्रान्तिमा हाम्रो पूरै बारा जिल्ला नै भरिभराउ थियो ।

० पर्यटकहरूको सुविधाका सवालमा केकस्ता व्यवस्था गर्नुभएको छ ?

— महागढीमाई नगरपालिकाले पर्यटक तथा भक्तजनहरूका लागि ठाउँ–ठाउँमा खानेपानीको व्यवस्था गरेको थियो । लगभग ३० ठाउँमा अस्थायी शौचालयको पनि व्यवस्था गरेका थियौं । यस्तै, अस्थायी पण्डालहरू पनि लगाएका थियौं । सुरक्षाको दृष्टिकोणले ८५ ठाउँमा सीसी क्यामेरा जडान गरेका थियौं । नगर प्रहरीदेखि सुरक्षाकर्मीहरू पनि खटाएका थियौं । यस्तै, नगरपालिकाले लगभग १४ वटा अस्थायी स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

० यत्रो ठूलो संख्यामा महागढीमाई नगरपालिकामा पर्यटक भित्रिने गरेका छन्, यसबाट नगरपालिकालाई कतिको आर्थिक लाभ हुन्छ त ?

— यो मेलामा आउने पर्यटकहरूका लागि हामीले अतिथि देवो भवः भावले सेवाहरू पु¥याइरहेका छौं । यसबाट हामी कुनै किसिमको लाभभन्दा पनि धर्म र पुण्यको हिसावले हेरेका छौं । दिनानुदिन गढीमाई मेलामा पर्यटकको सख्या पुग्दै गइरहेको छ । यहाँ करोडौं संख्यामा विदेशी धार्मिक पर्यटक भित्रिन थालेका छन् । यहाँका बासिन्दाले पर्यटक तथा श्रद्धालूहरूलाई निःशुल्क रूपमा विभिन्न किसिमका सेवाहरू उपलब्ध गराउँदै आएका छन् । जसले गर्दा हामीलाई ठूलो सहयोग पनि पुगेको छ । हामीले पर्यटकबाट केही लिनेभन्दा पनि सेवाभावले आफ्नो कार्यहरू अगाडि बढाइरहेका छौं । त्यसैले, यहाँ आउने पर्यटकहरू पूर्णरूपमा सन्तुष्ट भएर फर्किने गरेका छन् ।

० महागढीमाईका जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् ?

— निश्चितरूपमा यहाँका जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् । हामी जनतामुखी काम गरेका छौं । जनतामुखी योजनाहरू ल्याई जनताकै लागि विभिन्न कामहरू अहिले गरिरहेका छौं । जनताले सिंहदरबारको पनि अनुभूति गरेका छन् । यहाँ कुनै किसिमको असन्तुष्टि वा विरोध छैन । यहाँका जनताले सुशासन र विकासको अनुभूति राम्रोसँग गरेका छन् ।

तपाईको प्रतिक्रिया