एअर इन्डिया पूरै बेच्ने भारत सरकारको घोषणा

विश्व

       

नयाँ दिल्ली, १७ माघ । भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेअर बेच्ने योजना सार्वजनिक गरेको छ । नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ । 

एअर इन्डियाको आठ अर्ब डलर ऋणमध्ये खरिदकर्ताले तीन अर्ब डलरभन्दा बढी तिर्नुपर्ने हुन्छ ।

एअर इन्डियाको शेअर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना हो तर सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन् । सरकारको सबैभन्दा महत्वपूर्ण प्रस्ताव भनेको शत प्रतिशत स्वामित्व बेच्ने हो । 

सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ताको आकर्षण नभएको ठानिन्छ । एअर इन्डियासँग १४६ विमान छ र घरेलु तथा अन्तर्राष्ट्रिय उडानका लागि आकर्षक अवतरणमार्ग र पार्किङस्थल रहेको छ । तर कम भाडा लिने प्रतिस्पर्धाका कारण उसले अघिल्लो दशकमा निरन्तर बजार गुमाएको थियो ।

उसको ऋण दायित्व आठ अर्ब डलर नाघिसकेको ठानिन्छ । तर स्वामित्व लिन चाहनेले सवा तीन अर्ब डलर बराबरको उत्तरदायित्व मात्रै वहन गर्नुपर्ने नयाँ सर्तमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया