भारतको लक्ष्य ५ ट्रिलियन डलरको अर्थतन्त्र

विश्व

       

काठमाडौं, १९ माघ । भारतले ५ ट्रिलियन डलरको अर्थतन्त्रको लक्ष्य हासिल गरेरै छाड्ने जनाएको छ । भारतको लोकसभा र राज्यसभाको संयुक्त सत्रमा आर्थिक वर्ष २०२०/२१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सरकारले लिएको २०२४ भित्र ५ खर्बको अर्थतन्त्रको लक्ष्य पूरा गरेरै छाड्ने प्रतिबवद्धता व्यक्त गरेका हुन् ।

भारतले सन् २०२४ भित्र त्यस्तो लक्ष्य पूरा गर्ने लक्ष्य लिएको थियो । अहिले भारतको अर्थतन्त्र २.६५ ट्रिलियन डलर मात्रै छ । आर्थिक मन्दीको चपेटामा गुज्रिरहेको भारतले सो लक्ष्य पूरा गर्न सक्नेमा अन्तर्राष्ट्रिय संस्थाहरुले आशंका गरिरहेका छन् ।

राष्ट्रपति कोविन्दले भारतसँग अहिले ४ बिलियन डलर विदेशी मुद्रा सिञ्चिति रहेको, अघिल्लो वर्षभन्दा ३ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी बढेको, गाउँका बैङ्कहरुको क्षमता बढेको, १२ ओटा सरकारी बैङ्कहरु नाफामा रहेको जस्ता तथ्याङ्कहरु प्रस्तुत गरेका थिए ।

उनले अहिले भारत सबैभन्दा ठूलो मोबाइल निर्माता देश बनेको समेत दाबी गरेका थिए । त्यस्तै अन्तरिक्षमा पुग्ने भारत चौथो देश भएको समेत उनले बताए ।

भारतले आगामी वर्ष देशभर ५ ओटा औद्योगिक क्षेत्र बनाउने प्रक्रिया अघि बढेको समेत कोविन्दले बताएका छन् । त्यस्तै सरकारले प्रधानमन्त्री सडक योजनाको तेस्रो चरण सुरु गरी १ लाख २५ हजार किलोमिटर सडक बनाउने घोषणा गरेको छ ।

त्यस्तै जलमार्गको विस्तार गरी गंगा नदीमा ठूला जहाज चलाउने ९६० किलोमिटर मेट्रोरेल विस्तार गर्ने लगायतका योजनाहरु समेत सरकारको रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया