नेकपा माओवादीले देशको पूर्ण रूपान्तरणका लागि एक दशकदेखि सञ्चालन गर्दै आएको जनयुद्ध (सशस्त्र संघर्ष), सात राजनीतिक दलले २०६१ माघ १९ पछि संसद्को पुनस्र्थापनाका लागि सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलन र समानताको लागि लामो समयदेखि चल्दै आएको अहिंसावादी धारको मधेश आन्दोलनसमेत यी तीनवटै संघर्ष र आन्दोलन राजतन्त्रको खिलाफ एक ढिक्का भएर अघि बढेपछि राजतन्त्र धराशायी भयो । राजा ज्ञानेन्द्रले आफ्नो प्रत्यक्ष शासन फिर्ता मात्र लिएनन्, आफैंले विघटन गरेको प्रतिनिधिसभा (संसद्) को पुनस्र्थापन पनि गरे । त्यही पुनस्र्थापित संसद्ले देशलाई राजतन्त्रबाट मुक्त भएको घोषणा मात्र गरेन अपितु संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रात्मक नेपालको घोषणा गर्ने निर्णय पनि ग¥यो । त्यही पूर्व निर्धारित कार्ययोजना मुताबिक २०६४ चैत्र २८ गते निर्वाचित संविधानसभाले देशलाई गणतन्त्र घोषणा गर्नुका साथै गणतन्त्रात्मक संविधान पनि दियो ।
वि.सं. २०६५ जेठ १५ गते बसेको जननिर्वाचित संविधानसभा (संसद्) को पहिलो बैठकले पूर्व निर्धारित कार्य योजना मुताबिक नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । ‘जेठ १५’ लाई वर्षको सर्वश्रेष्ठ दिनको रूपमा गणतन्त्र दिवस कायम गरिँदाको समयलाई फर्केर हेर्दा आज १५ वर्ष पूरा भएको छ । हरेक वर्ष जेठ १५ को दिन हर्ष र उल्लासका साथ राष्ट्रिय दिवस मनाइन थालिएको छ । नेपाली गणतन्त्र भर्खर किशोरावस्थामा रहेको छ । यो गणतन्त्र क्रान्तिका बलमा प्राप्त भएकोले गणतन्त्रका शत्रुहरू छन्, जसले गणतन्त्रलाई धरापमा पार्ने प्रयत्न गर्दै आएका छन् । गणतन्त्रको स्थापना गर्न संघर्षरत नेपाली जनतालाई राजतन्त्रले दमन गरे । तर गणतन्त्रले आफ्ना शत्रुलाई दमन गर्ने छैन, किनभने दमन गणतन्त्रको स्वभाव र चरित्र होइन ।
गणतन्त्रको विशिष्टताहरूबाट परास्त हुँदै उसका शत्रुहरूको शमन हुँदै जाने हो । शत्रुहरू आपसे आप शान्त नभएसम्म गणतन्त्रमाथिको खतरा टर्ने होइन । यसर्थ गणतन्त्रको कुरा गर्दा पहिलो पंक्ति यसको रक्षाको सन्दर्भ उल्लेख्य हुन आउँछ ।
ततपश्चात यसको संस्कारगत र संस्थागत विकाससम्बन्धी सूची सामुन्ने आउँछ । कुनै पनि तन्त्रको संस्कारगत विकास उसको ऐतिहासिकताको धरातलमा हुने गर्दछ । तन्त्रको ध्येय त्यसको आवश्यकताको पूर्तिमा निहित हुन्छ भने ‘आवश्यकता’ को विवरण त्यसको धरातल, अतीत, इतिहास, क्रान्तियात्रामा अंकित हुन्छ । संस्कारगत विकास नै भौतिक रूपमा कुनै पनि तन्त्रको संस्थागत विकास हो भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ । विगतमा प्रयोगमा रहेका तन्त्रहरू उसको धरातलदेखि निकै पर पुग्यो, त्यसैले पर पर हुँदै हुत्तियो । वर्तमान तन्त्रको विषयमा पनि त्यो कुरा त्यही रूपमा लागू हुन्छ । गणतन्त्रलाई इतर तन्त्रका हिमायतीबाट मात्र खतरा छ भन्ने होइन, शत्रुहरू अन्त पनि छन् । केही जानी जानी र केही नजानी बिगार्ने काम उनीहरूले गरिरहेका छन् ।
१६औं गणतन्त्र दिवस मनाइँँदै गर्दा सरकारका प्रवक्ता सरकारका प्रवक्ताहरूबीच यो कुरा गम्भीर रूपमा छलफल भएको देखिएको छ । गणतन्त्र दिवसको सन्दर्भमा आयोजित एक आपसी छलफलको क्रममा मन्त्रालयहरूको प्रवक्ताहरूमाझ नेपाल सरकारको प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको रक्षा र सुदृढीकरण सरकारको मुख्य दायित्व भएको उल्लेख गर्नुभएको देखियो । यसलाई कसरी बुझ्नुपर्ने हुन्छ भने गणतन्त्रको सुदृढीकरण भयो भने यो स्वतः रक्षित हुन्छ । अर्थात् सदाचार रक्षति गणतन्त्रः ।
गणतन्त्र स्थापना भएदेखिको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा भएका कामकाजका साथै अब गर्नुपर्ने कामको विषयमा अध्ययन गरी जनताबीच लैजाने विषयमा प्रवक्ताहरूले छलफल गरेका थिए । गणतन्त्र दिवस मनाउँदाको क्षणको लागि यो एक सान्दर्भिक छलफल हो । सरकारका प्रवक्ता तथा सूचना अधिकारीहरूले निर्वाह गर्नुपर्ने पदीय दायित्वको विषय हो यो । राज्यको अभीष्ट पूर्तिमा सरकारले गरेका कार्यहरूको अध्ययन गर्नैपर्ने काम हो र यो काम सबैले गर्नुपर्छ । खासगरी सरकारका जनसम्पर्क अधिकारीहरू औपचारिक भन्दा कर्मशील हुनु जरुरी छ ।
वि.सं २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको हो । गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । प्रदेशहरूमा मुख्यमन्त्रीको अध्यक्षतामा गठित समितिले र स्थानीय तहमा प्रमुख वा अध्यक्षको अध्यक्षतामा गठित समितिले कार्य गर्नेछ । त्रीदिवसीय कार्यक्रम छ र त्यसअन्तर्गत जेठ १५ गते सार्वजनिक बिदा दिइएको छ । गणतन्त्र दिवसमूलक कार्यक्रमहरूमा शहीद तथा बेपत्ताका परिबार र घाइतेको सम्मान, सान्दर्भिक संवाद, जागरण, रक्तदान, सार्वजनिक तथा ऐतिहासिक स्थलको सामुहिक सफाइजस्ता कार्यव्रmम तय गरिएको छ । सामाजिक स्तरबाट पनि विविध क्रियाकलापहरूको आयोजन अपेक्षित हुनु स्वाभाविक हुन्छ ।
यस परिदृश्यले के देखाउँछ भने राष्ट्रले गणतन्त्र दिवसलाई कत्तिको महत्व दिएको छ । तर यत्तिको जहमत गरी रहँदा माथि भनिए झैं हामीले धरातलको कुरालाई भने छाडी दिनु हुँदैन । गणतन्त्रको धरातलको कुरा के हो त भन्दाखेरि शहीद तथा बेपत्ताका परिबार र घाइतेको सम्मानमा निहित भावनाहरू र बलिदानका गाथाहरू र जनताका परिवर्तनकारी चाहनाहरू नै हुन् । गणतन्त्रका लागि गरिएको बलिदानको गाथा छोटो छैन; एउटै छैन । अनेक छन्, अनेक ठाम छन् । बलिदानका गाथाहरू हाम्रा सन्ततीका लागि जोगाउने मात्र होइन, वर्तमानका नीति निर्माता र राजकीय कार्यकर्तालाई पनि सुनाउनु आवश्यक छ ।
२४० वर्ष पूरानो निंरकुश राजतन्त्रको अन्त्य गरी गणतन्त्र नेपालको स्थापना भएको थियो । संविधान सभाले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापित भएको घोषणा १५ वर्षअघि २०६५ जेठ १५ गते मध्यरातमा गरेको थियो भने ठीक ८० वर्षअघिको एक मध्यरातमा नै यस गणतन्त्रको विजारोपण भएको थियो भन्ने कुरा धेरैलाई थाहा छैन । वि.सं. २००० साल जेठ ९ गतेको मध्यरातमा सप्तकोशी नदीको पश्चिमी किनार, सप्तरी जिल्लाको तत्कालीन सदरमुकाम हनुमाननगरको गारद गरिएको विद्रोह तत्काल केही क्रान्तिकारीलाई कैदबाट मुक्त गरउने उद्देश्यले भए पनि कालान्तरमा उक्त घटना गणतन्त्रको विउ सावित भयो । तर जुन ऐतिहासिक विद्रोहका कारण ‘नेपाली गणतन्त्र’ अंकुरित भयो, त्यो घटना अझै पनि इतिहासको गर्तमै छ । आम जनता त के वर्तान गणतन्त्रका शासक पनि उक्त घटनाबाट परिचित हुन सकेका छैनन् ।
गणतन्त्रको नाम लिँदा हनुमाननगर जेल काण्डको महत्व यो हो कि उक्त घटनाले एक त्यस्तो व्यक्तित्वलाई जन्म दियो जसले निरन्तर निरन्तर लागी रहेर एक दिन गणतन्त्र स्थापना गरी छाड्यो । नेपालका तमाम राजनेताहरु यहाँसम्म कि वर्तमान राष्ट्रपति देखि प्रधानमन्त्रीसमेतले रामराजा प्रसाद सिंह नामको उक्त व्यक्तित्वको अनेक दृष्टि र अनेक आयाममा गणतन्त्र प्राप्तिका लागि गरेको संघर्षको सराहना गरेका छन् । गणतन्त्र–रामराजा र हनुमाननगर जेलकाण्डको यस सम्बन्धको बारम्बार विवेचना हुनु आवश्यक छ । त्यसैले बर्सेनि गणतन्त्र दिवस मनाउँदा तीन दिनको नभई सात दिनको अर्थात जेठ ९ को हनुमाननगर जेल काण्डको तिथिदेखि गणतन्त्र घोषणाको जेठ १५ सम्मको संयोगवश ठीक्क सात दिनको अवधि मिल्नाले पनि गणतन्त्र सप्ताह मनाइनु उचित हुनेछ ।
वि.सं. २००० साल तिर सप्तरी जिल्लाको सदरमुकाम हनुमाननगरबाट राजविराज सर्दै गरेको अवस्था थियो । सरकारी कार्यालयहरू केही यता र केही उतै रहेको अवस्था थियो । बडा हाकिमका कार्यालय त्यहीं थियो । बडा हाकिमको कार्यालयसँगै गारद (सरकारी अड्डाको सुरक्षार्थ रहेका पल्टनको टोली) थियो । नेपाल र भारतका क्रान्तिकारीहरूले वि.सं. २००० साल जेठ ९ गते राति १२ बजे सोही गारदमा आक्रमण गरी त्यहाँ थुनिएका भारतीय स्वतन्त्रता सेनानीहरूलाई छुटाएर लगेको घटना नै हनुमाननगर जेल काण्ड हो ।
हनुमाननगर जेल काण्ड नेपाली जनताले जहानियाँ राणा शासनबाट मुक्ति प्राप्त गर्न सञ्चालन गर्दै आएको क्रान्तिको दृष्टिले मात्र होइन, अपितु भारतीय जनताले बेलायती हुकुमतबाट मुक्ति पाउनका लागि सञ्चालन गर्दै आएको स्वतन्त्रता संग्रामको इतिहासमा पनि अविस्मरणीय घटनाको रूपमा रहेको छ । हनुमाननगर जेल काण्ड तत्कालीन राणा शासकका खिलाफ गरिएको एक त्यस्तो प्रतीकात्मक विद्रोह थियो, जो तत्काल प्रजातान्त्रिक परिवर्तनका लागि त सहायक बन्यो नै अपितु त्यसको ६–७ दशक पश्चात गणतन्त्रात्मक परिवर्तनको मियो पनि बन्यो ।
हनुमाननगर जेल काण्डको समयमा दोस्रो विश्व युद्ध उत्कर्षमा थियो । दोस्रो विश्व युद्ध सन् १९३९ देखि १९४५ सम्म चल्यो । मार्शल फ्रेडरिक पाल्स नेतृत्वको जर्मन सेनाको अन्तिम समूहले फरबरी २, १९४३ को दिन स्टालिनग्रादमा आत्मसमर्पण ग¥यो । त्यो आत्मसमर्पण नै जर्मनीको पहिलो ठूलो पराजय मानियो । हनुमाननगर जेल काण्ड मई २२, १९४३ को घटना हो ।
भारत जतिबेला बेलायती उपनिवेशबाट मुक्तिका लागि संघर्ष गरिरहेको थियो, त्यतिबेला नेपाली जनता राणा शासनबाट मुक्तिका लागि लडिरहेका थिए । राणा सरकारले बेलायती हुकुमतलाई सहयोग गरिरहेका कारणले दुबै देशका क्रान्तिकारी एकै ठाउँमा पुगेकामात्र होइन, आपसमा सहकार्य पनि गर्न थाले । उनीहरू एक अर्काको मुलुकका सीमावर्ति इलाकामा लुकेर बस्दथे र त्यहीँबाट पनि आन्दोलनका कार्यक्रम सञ्चालन गर्दथे । नेपालको क्रान्तिलाई उचाइँमा पु¥याउन राजा त्रिभुवन स्वयं पनि सपरिवार भारतमा शरण लिन पुगेका थिए र अन्ततः राणाहरू सत्ता छाडन विवश भएपछि स्वदेश फर्केका थिए ।
सन् १९४७ मा बेलायतको संसदले भारतलाई स्वतन्त्र गर्ने निर्णय गरेसँगै गणतन्त्र भारतको स्थापना भयो । तर नेपाल सन् १९५१ फरबरी १२ मा दिल्ली सम्झौताबाट राणा शासनबाट मुक्त हुँदा गणतन्त्र घोषित भएन; बल्कि यस मुलुकले गणतन्त्रत्व प्राप्त गर्न थप सत्तरी वर्ष पर्खिनुप¥यो र बलिदानीपूर्ण संघर्ष गर्नुप¥यो । राणा शासनको अन्त्य भएपछि जनता अधिकारसम्पन्न भएको धेरैले माने तर त्यो केबल भ्रममात्र सावित भयो । राणासत्ताको विघटनसँगै उसले खोसी राखेको राजाको अधिकार पुनः राजामा निहित हुन गयो । राष्ट्रको सम्प्रभु पनि श्री ५ नै मानिए । जनताको अधिकारको स्थापनाका निम्ति जनसंघर्ष पुनः प्रारम्भ भए । सन् १९९० को आन्दोलनबाट श्री ५ राष्ट्र प्रमुख कायमै रहे पनि राष्ट्रको सम्प्रभु र कार्यकारी अधिकार जनतामा आयो भने सन् २००६ को आन्दोलनबाट मात्र श्री ५ लाई च्यूत गरी नेपाल गणतन्त्र राष्ट्र घोषित भयो ।
गणतन्त्र नेपालको प्रणेता रामराजा प्रसाद सिंह हुन् । गणतन्त्रको निम्ति नेपालमा विभिन्न ढंगले संघर्षहरू त हुँदै आए, तर मुख्य रूपमा कसको मुख्य योगदान रह्यो भन्दा गणतन्त्रको नारालाई राजनीतिक ढंगले देशव्यापी रूपमा स्थापित गर्ने श्रेय रामराजा प्रसाद सिंहलाई नै जान्छ । उनले नै पञ्चायतीकालमा हुने स्नातक क्षेत्रको उम्मेदवार बनेर गणतन्त्रको नारालाई स्थापित गर्नुभयो र त्यहाँबाट नै गणतन्त्रको कार्यक्रम राजनीतिक रूपमा स्थापित भयो । उक्त उम्मेदवारीसँगै उनले प्रकाशित गरेको घोषणापत्र राजतन्त्र र राजा महेन्द्रमाथि ठूलो वैचारिक प्रहार थियो । उक्त घोषणा यस्तो चर्चित भयो कि त्यस जमानामा पाँच पाँच सय रूपैयाँ खर्चेर मानिसले पढे ।
रामराजा प्रसाद सिंहले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति निर्वाचनमा उम्मेदवारी पनि दिए । तर नेपालले भने गणतन्त्रका लागि उनको योगदानको मूल्य चुकाउन सकेन । हुनत उनको निधनमा राष्ट्रले जुन ढंगले राजकीय सम्मान अर्पण ग¥यो, त्यसले नेपाली राजनीतिक संघर्षको इतिहासको सम्मान अवश्य पनि भएको पाइयो । रामराजा प्रसाद सिंहको जीवनको एक मात्र लक्ष्य ‘गणतन्त्र नेपालको स्थापना’ थियो । उनले गणतन्त्र प्राप्तिको संघर्षमा आफ्नो जीवन र सर्वश्व होमी दिए । सौभाग्यवश जीवनको अन्तिम वयमा उनले नेपाल गणतन्त्र भएको पाए र औधि प्रसन्न भए ।
रामराजा प्रसाद सिंहलाई गणतन्त्रको आवाजलाई जनताको माझमा मुखरित गर्ने श्रेय जान्छ । उनले गणतन्त्र स्थापना गर्न संगठन निर्माण गरी आजीवन संघर्ष गरे । लामो समय निर्वासनमा बसेर पनि नेपाली राजनीति र समाजमा जोडदार धमाका दिई रहे । आफ्नो सर्वश्व हरण हुँदा पनि, मृत्युदण्डको सजाय तोकिँदा पनि उनी गणतन्त्र स्थापनाको जिदलाई छोडेनन् । यति विघ्न हुँदा पनि उनी गणतन्त्र स्थापनाको संकल्पबाट एक कदम पनि पछि हटेनन्, किन ?
किनभने, रामराजा प्रसाद सिंहको बालमनमै राणाशाही–राजशाहीको खात्मा र गणतन्त्रको स्थापनाको संकल्पले ठाउँ बनाइसकेको थियो । उनको जीवनमा यस्तो अदम्य संकल्प भने एस्सै आएको थिएन । जनक्रान्तिकै बेला नौ वर्षको हुँदा पिता जंगली बाबूका साथ भाइ लक्ष्मण प्रसाद सिंहसहित काठमाडौंको सदर जेलमा भोग्नुपरेको अवस्थाले नै उनीभित्र गणतन्त्रको दृढ संकल्प र महानायक्त्वको विजारोपण गरेको थियो । पिता र भाइसहित जेल पर्नु हनुमाननगर जेल काण्डकै प्रतिघटना थियो । अर्थात् वि.सं. २००० साल जेठ ९ गते राति १२ बजे भएको हनुमाननगर जेल काण्डपश्चात राणाले लिएको दमनको नीतिकै प्रतिक्रियामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विजारोपण भयो भने तत्पश्चात पुनस्र्थापित राजशाहीले पुनः दमन नीतिबाट गणतन्त्रको विरुवालाई बटवृक्ष बनाउने काम ग¥यो ।
हनुमाननगर जेल काण्डको नामले प्रसिद्ध उक्त घटनामा राणा शासकले थुनेर राखेका स्वतन्त्रता सेनानीहरूलाई जेल तोडेर मुक्त गरिएको थियो । क्रान्तिकारीले गारदमा गरेको आगजनीको एउटा झिल्को अन्ततः नारायणहिटीसम्म पुग्यो र एक दिन पुरै नारायणहिटीलाई संग्रहालयमा परिणत ग¥यो । हनुमाननगर जेल तोडेर कैदी भगाएको भनी नेपाल सरकारले चलाएको फौजदारी मुद्दामा ४८ जना नेपाली नागरिकलाई प्रतिवादी बनाइएको थियो, जसमा रामराजा प्रसाद सिंहका बाबु पनि परेका थिए । यसरी थुनिएकामा रामेश्वर प्रसाद सिंह, चतुरानन्द प्रसाद सिंह, जयमंगल प्रसाद सिंह, मिनबहादुर सिंह, तारिणी प्रसाद सिंह, रामजी सिंह, शत्रुघन प्रसाद सिंह, विन्देश्वरी प्रसाद सिंह, अखण्ड नारायण सिंह, रामदत्त कोइराला, समरबहादुर प्रजापति, कामानन्द मिश्र, नेबु मंडल, अब्दुल मियाँ, कृष्णवीर कामी, किसन दुसाध, विणुध्वज श्रेष्ठ, वैजनाथ उपाध्याय, आननदी प्रसाद सिंह, चन्द्र नारायण सिंह, देव नारायण सिंह, सेवक माझी गरी २२ जना थिए ।
पछि यी २२ जनामध्ये विन्देश्वरी प्रसाद सिंह, अखण्ड नारायण सिंह, देव नारायण सिंह, आनन्दी प्रसाद सिंह, रामदत्त कोइराला, समरबहादुर प्रजापति र एक जना अरु गरी सात जना र त्यसको एक सातापछि शत्रुघ्न प्रसाद सिंह, कामानन्द मिश्र र वैजनाथ उपाध्याय गरी तीनजना जमानतमा रिहा भए । कोइलाडीका यमुना प्रसाद सिंह थप गरिएकाले जम्मा १३ जना काठमाडौं जेलमा थिए । वि.सं. २००० सालमा प्रधानमन्त्री जुद्ध शमशेर वीरगंज दौडाहामा आएको बखत जयमंगल प्रसाद सिंहका ९ वर्षका छोरा रामराजा प्रसाद सिंह र ६ वर्षका लक्ष्मण प्रसाद सिंह लाइनमा बसेर प्रधानमन्त्रीलाई निवेदन दिँदै हाम्रा बुबा जेलमा पर्नुभएको छ ।
तर हाम्रो सम्पत्ति रोक्का गरिएको छ । यसरी जेलमा परिसकेको मान्छेको बारेमा फैसला नभई सम्पत्ति रोक्न मिल्छ भनी विन्ती चढाएका थिए । हनुमाननगर जेल काण्ड मुद्दामा थुनिएका पिता जयमंगल प्रसाद सिंह (जंगलीबाबू) लाई भेट्न जाँदा आफैं पनि थुनिन पुगेका नौ वर्षे बालक रामराजा प्रसाद सिंहलाई त्यतिबेला के थाहा थियो कि त्यसै घटनाले उनलाई राजशाहीको विनाशक र गणतन्त्रका महानायक बनाइ दिनेछ । बाबुमाथि लगाइएको अभियोगमा ‘ए ! उसैको छोरा हो ? ल, एल्लाई पनि थुन्दे’ भन्ने किसिमको त्यो कस्तो अन्याय थियो ।
भारतमा अंगे्रजी हुकुमतविरुद्ध र नेपालमा राणा शासनविरुद्ध सत्ता हस्तान्तरणको लागि संघर्ष चलिरहेका थिए । सीमामा बसोवास गर्ने नागरिक बिना बर्दी र बन्दुकका सिपाही (सेना) नै मानिन्छन् । उनीहरू आआफ्नो अस्तित्वका लागि आपसमा लड्छन् पनि र सहअस्तित्वका लागि एकअर्काप्रति समर्पित पनि रहन्छन् । सांस्कृतिक जीवनमा उनीहरू यस प्रकारले आबद्ध हुन्छन् कि राजनीतिक सीमा विभाजनले उनीहरूलाई अलग्याउन सक्दैन । सांस्कृतिक जीवनको त्यसै धरातलमा नेपाल र भारतमा आन्दोलनकारी एकअर्काको आन्दोलनका सहयोद्धा हुन पुगेका थिए ।
वि.सं. १९९९ श्रावण २४ गते अर्थात् सन् १९४२ अगस्त ८ को मुम्बई कांग्रेस अधिवेसनबाट अंग्रेजको विरोधमा भारत छोडो आन्दोलन हेतु महात्मा गाँधीले राखेको प्रस्ताव पारित भएर स्वतन्त्रता आन्दोलन नयाँ ढंगबाट प्रारम्भ भयो । महात्मा गान्धीसँग छुट्टिएर नेताजी सुभाषचन्द्र बोस आजाद हिन्द फौज गठन गर्ने काममा लागेका थिए । यता राणा शासनका खिलाफ वि.सं १९९३ मा नेपाल प्रजा परिषद् गठन भई आन्दोलन चर्किरहेको थियो । भारतका स्वतन्त्रता सेनानी नेपाली सीमावर्ति गाउँहरूमा र नेपाली क्रान्तिकारी भारतीय सीमावर्ति गाउँहरूमा लुकेर बस्थे, आपसी भेटघाट, क्रान्तिकारी बैठक आदि गर्ने गर्थे ।
नेपाली सीमावर्ति जिल्ला सप्तरीका कोइलाडी, बर्साइन, मधेपुरा, बनैनियाजस्ता गाउँमा राजपुतहरूको घनाबस्ती थियो । राजपुतहरू ठूल्ठूला जमिन्दार थिए । जमिन्दारीका कारण शासनमा उनीहरूको राम्रै पहुँच त थियो तर उनीहरू निरंकुशताका खिलाफ पनि लागेका थिए । उनीहरू नेपाल र भारत दुबै देशमा निरंकुशता र उपनिवेशविरुद्ध चलिरहेको मुक्तिकामी संघर्षको पक्षमा थिए र भारत एवं नेपालका क्रान्तिकारीहरूलाई हरेक तरहले सहयोग गरिरहेका थिए । ती गाउँका अलावा सखडा र नर्घोसमेत दुबै देशका क्रान्तिकारीहरूका लागि सेल्टर बनेका थिए । क्रान्तिकारीहरूलाई सहयोग गर्ने प्रमुख व्यक्तिहरूमा रामेश्वर प्रसाद सिंह, तारिणी प्रसाद सिंह, चतुरानन्द सिंह, जयमंगल प्रसाद सिंहलगायत थिए । जयमंगल प्रसाद सिंह रामराजा प्रसाद सिंहका पिता र जंगलीबाबुको नामले प्रसिद्ध थिए । भारतीय स्वतन्त्रता सेनानीहरू यता नेपाल पसेर बनैनिया, सखडा, बर्साइन, कोइलाडीमा र त्यस्तै नेपालका क्रान्तिकारीहरू उता भारत पसेर नेउर, कुनौली आदिमा सेल्टर लिने गरेका थिए ।
अंग्रेज सरकारले १९४२ अगस्त ९ देखि नै भारतीय नेताहरूलाई पक्राउ गरी जेलमा हाल्ने कार्य प्रारभ गरेर लगभग २६ हजार नेता तथा कायकर्ताहरूलाई बन्दी बनायो । त्यसबाट जनतामा असन्तोष बढ्न गएर व्यापक तोडफोड भयो, जसबाट रेल्वे लाइन, पुलिस चौकी, हुलाक र सञ्चारमा धेरै क्षति पु¥याइयो । भारतको हजारीबाग जेलमा बन्दी रहेका जयप्रकाश नारायण, सुरज नारायण सिंह, रामनन्दन मिश्र, योगेन्द्र शुक्ला, गुलाबी सोनार (गुलाबचन्द्र गुप्ता) र शालीग्राम सिंह नोवेम्बरमा जेलबाट भाग्न सफल भए ।
रामेश्वर प्रसाद सिंहको संस्मरणमा उल्लेख भए अनुसार हनुमाननगर जेल काण्डको संक्षिप्त घटनाक्रम यस प्रकार छ । लोकनायक जयप्रकाश नारायण जेल तोडेर फरार भएपछि लुक्दै छिप्दै नेपाल पसे । डा. राममनोहर लोहिया, कुमारी विजया पटवद्र्धन पनि नेपाल पसिन् । पूर्णियाको रूपौली थाना कब्जा गर्ने भारतीय क्रान्किारी आनन्दी प्रसाद सिंह, सरोपट्टिका कार्तिक प्रसाद सिंह, सहर्षाका चित्र नारायण शर्मा, सियाराम सिंह, वनगाउँका कुलेश्वर खाँसहित पचासौं भारतीय क्रान्तिकारी सप्तरी पसी सेल्टर लिएका थिए । उनीहरूको सेल्टर सखडा, बनैनिया, बनरझुला, बर्साइन, कोइलाडी, कोशी टप्पु आदि स्थान थिए । जयप्रकाश नारायण तथा राममनोहर लोहिया कोशीटप्पु क्षेत्रमा बसेका थिए ।
स्वतन्त्रता सेनानीहरूले यता नेपालमा दुई पटक सम्मेलन सम्पन्न गरे भने त्यसै सम्मेलनको निर्णयबाट सुरुंगामा फौजी तालिम क्याम्प पनि सञ्चालन गरे । सुरज नारायण सिंहले सम्मेलनको प्रस्ताव राख्दा त्यसको जिम्मेवारी तिलाठीका यमुनानन्द मिश्र, बर्साइनका चतुरानन्द प्रसाद सिंह, जयमंगल प्रसाद सिंह, औरही (सिरहा) का सूर्यनाथ दास यादव, देव नाायण गुरमैताले सप्तरीको राजपुरमा सम्मेलन गर्ने निर्णय लिए । सम्मेलनको सम्पूर्ण जिम्मेवारी चतुरानन्द प्रसाद सिंहले लिए ।
योजना अनुसार राजपुरमा विहार कांग्रेसको सम्मेलन भयो, जसमा लगभग सय जना सहभागी भएका थिए । सुरज नारायण सिंहले भारतमा रहँदा पक्राउ परी आन्दोलनलाई अघि बढाउन बाधा हुने भन्दै जयप्रकाश नारायणलाई सप्तरी तिरै आजाद दस्तालाई प्रशिक्षण दिन आग्रह गरे ।
डा. पिताम्बर लाल यादवको प्रजातान्त्रिक आन्दोलन र सप्तरी भन्ने पुस्तकमा उल्लेख भएनुसार सन् १९४३ अप्रिल १३–२४ सम्म महासमिति स्तरको सम्मेलन सप्तरीको बनरझुलामा भयो, जसमा पंजाब, यूपी, उडीसा, बंगाल आदि ठाउँहरूका नेता एवं कार्यकर्ताहरको सहभागिता भयो ।
आजाद दस्ताको प्रशिक्ष्ण शिविर सञ्चालन गर्ने विषयमा छलफल भएर सप्तरीकै सुरुंगा पहाडमा प्रशिक्षण शिविर सञ्चालन गर्ने तय भयो र यस कार्यमा दलबहादुर प्रजापति, सुरुंगा क्षेत्रका फरेस्ट गार्ड विष्णुभक्त र जमिन्दार सेवक माझीले सहयोग गर्ने भए । आजाद हिन्द फौजका हवलदार सरदार नित्यानन्द सिंह प्रशिक्षक नियुक्त गरिए । जयप्रकाश नारायणको निर्देशनमा सप्तरीको उत्तर–पश्चिम कुनामा स्थित सुरुंगा पहाडमा आजाद दस्ताको प्रशिक्षण सम्पन्न भयो ।
डा. राममनोहर लोहियाको सुरक्षाको लागि भारतबाट नेपालको यही क्षेत्रमा ल्याउने विचार भएपछि कोशी क्षेत्रमा नै बसिरहेका श्यामनन्दन बाबालाई भारततिर पठाई कटिहार फारबीसगंज हुँदै १४ मईको साँझतिर डा. लोहिया पनि यस क्षेत्रमा आइपुगे । विजया पटवद्र्धनलाई भारत नै जानुपर्ने भएकोले जयप्रकाश नारायणसँगै बसिरहेको एमबीबीएसका छात्र वैद्यनाथ झालाई अह्राइयो र उनले सुरक्षित कलकत्ता पुर्याई फर्केर पुनः जयप्रकाश नारायणका साथ बसे ।
यसैबीच राणा सरकारका एक पूर्व कर्मचारी वन जाँच विभागका वहिदार ज्ञानबहादुरले कोशी टप्पु क्षेत्रमा लगभग दुई महिनादेखि हतियारधारी स्वतन्त्रता सेनानीहरू लुकेर बसेको सूचना सहायक बडाहाकिम इश्वरी प्रसादलाई दिए । उक्त जानकारी पछि हनुमाननगरबाट २० जना रायफलधारी सन् १९४३ मई १९ मा सप्तरीको गम्हरियामा भारतीय नेता ब्रजकिशोर शास्त्री र श्यामसुन्दर सिंह तथा कोशीघाटमा नै बसी भोलिपल्ट फर्कन लाग्दा सप्तरीको मधुवनमा जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, कार्तिक प्रसाद सिंह र डा. वैद्यनाथ झा पनि गिरफ्तार गरिए र तनीहरूबाट १२ बोरको एउटा बन्दुक र एउटा रिभाल्वरसमेत बरामद गरी जफत गरियो ।
गिरफ्तारीपछि जयप्रकाश नारायण तथा राममनोहर लोहियासहित सातजना स्वतन्त्रता सेनानीलाई हनुमाननगरस्थित बडाहाकिमको गारदमा राखिएको थियो । जयप्रकाश नारायण एवं डा. राममनोहर लोहिया समातिएको कुरा सखडा, बनैनिया, बनरझुला, बर्साइन, कोइलाडी, फौजी तालिम क्याम्प सुरुंगासम्म पुग्यो । स्वतन्त्रता सेनानी तालिमे फौजीहरूले त्यही राति गारदमाथि आक्रमण गरी आफ्ना नेताहरूलाई छुटाएर लगे । आक्रमणको क्रममा केही सिपाही मारिए र केही घाइते पनि भए ।
राणाहरू भारतीय स्वतन्त्रता सेनानीहरूले सेल्टर लिएको, बारम्बार सम्मेलन गरेको, फौजी क्याम्प चलाएको आदि घटनाबाट बेखबर थिए । तर जेलमाथि आक्रमण गरी कैदी छुटाएर लगेसम्मका घटनाबाट उनीहरू रन्थनिए । राणाले सहयोग गर्दै आएको अंग्रेजको आफूप्रतिको विश्वास भंग हुने कुराले पनि उनीहरू बेचैन भए । आक्रमणकारी स्वतन्त्रता सेनानीहरू त जेल काण्डपछि स्वदेश फर्की सकेका थिए तर त्यस घटनाको फौजदारी मुद्दा भने नेपाली नागरिकले झेल्नुप¥यो । सरकारले तत्काल धरपकड गरी ४८ जनामाथि मुद्दा चलायो । आरोपीहरूले आफूलाई घटनाबारे जानकारी नभएको बताए पनि अमिनी तथा जिल्ला अदालतमा कारबाहीपछि मुद्दासहित उनीहरूलाई काठमाडौं सारियो ।
वि.सं. २००१ अर्थात् सन् १९४४ मा ब्रिटिश सरकारले एटर्नी जनरलसहितको टिम यो जान्नलाई नेपाल पठायो कि नेपाल सरकारलाई वादी बनाएर भारतमा जयप्रकाश नारायण उपर मुद्दा चलाउन सकिन्छ कि सकिदैन । उनीहरूले १५ दिनसम्म मिसिलको अध्ययन गरे तर मुद्दा चलाउन नसकिने निष्कर्षमा पुगेर फर्के । गारदमा गोली चलाउनेमा स्वतन्त्रता सेनानी सूर्य नारायण सिंह, नित्यानन्द सिंह, गुलाबी सोनार, अवध सिंह नाम उल्लेख भए पनि त्यो दाबी पुष्टि हुने प्रमाण मिसिलमा थिएन । श्री ३ ले पनि मिसिललाई कारगर ठानेनन् ।
मिसिल कमजोर भएकाले आरोपीहरू छुट्न थाले । अब्दुल मियाँ र कृष्णवीर कामीको निधन जेलमै भइसकेको थियो । रामेश्वर प्रसाद सिंहले स्मरणमा उल्लेख गरे अनुसार वि.सं. २००२ असोज २ गते जेलमा चतुरानन्द सिंह र जयमंगल प्रसाद सिंह (जंगलीबाबू) मात्र बाँकी रहेका थिए । सन् १९४६ मा अंग्रेज सरकार भारत त्याग्ने प्रक्रिया प्रारम्भ भएपछि मात्र उनीहरूको रिहाई भयो । जयमंगल प्रसाद सिंह (जंगलीबाबू) काठमाडौं जेलमा हुँदा उनलाई भेटन गएका रामराजा प्रसाद सिंहलाई पनि त्यहीँ थुनेर राखियो । जेलमा रहँदा नै नौ वर्षको बालापनमा उनले क्रान्तिकारिताको पाठ पढे । र, त्यो पढाइ यस्तो गम्भीर थियो कि त्यसैको बलमा उनले सिंगो क्रान्तिलाई पूर्णता दिन सफल भए ।
गणतन्त्र नेपालका संस्थापक रामराजा प्रसाद सिंहको जीवनका महत्वपूर्ण घटनाहरू तथा कानूनी तथा अंग्रेजी साहित्यको अध्ययन, ग्रेजुएट कन्स्टिच्वेन्सीबाट उम्मेदवारी–घोषणापत्र–विजय र जेल यात्रा, राजा महेन्द्रसँगको वाकयुद्ध, निर्वासन, च्वे ग्वेभाराको दीक्षा, नेपाल जनवादी मोर्चाको गठन, गुरिल्ला युद्धको तयारी, बम काण्ड, माओवादी जनयुद्धलाई उत्प्रेरणा–प्रशिक्षण र सामरिक सहयोग, गणतन्त्र नेपालको प्रथम राष्ट्रपति पदमा उम्मेदवारी र अविजय, निधन र राजकीय सम्मान आदि आलोकित भए तर जुन घटनाले उनलाई क्रान्तिको मार्गमा लम्कन धक्का दिएको थियो, हनुमाननगर जेल काण्डको त्यो घटना भने इतिहासमा अझै ओझेलमै छ ।
वास्तवमा त्यही अन्यायले गर्दा त्यो बालकको गणतान्त्रिक अवतरण भयो । त्यसैले हनुमाननगर जेल काण्डको महत्व वर्णन गर्नु त्यति सजिलो छैन । विश्व राजनीतिक परिवर्तनको लहरलाई नेपालसँग जोड्ने काम रामराजा प्रसाद सिंहले तबसम्म गरी रहे, जबसम्म कि यो मुलुकले राजनीतिक परिवर्तनको पूर्णता प्राप्त गरी सकेन ।
नेपालमा सप्तरी जिल्लाको राजनैतिक भूमिका ठूलो भए पनि त्यसको वस्तुनिष्ठ अध्ययन हुन सकेको छैन । वि.सं. २००० साल जेठ ९ को हनुमाननगर जेलकाण्ड, नेपाली कांग्रेसको स्थापना र सप्तरी, वि.सं. २००४ को मजदूर आन्दोलन र सप्तरी, २००७ सालको क्रान्ति र सप्तरी, किसान आन्दोलन र सप्तरी, २०१४ सालको भद्र अवज्ञा आन्दोलन र सप्तरी, २०१५ सालको आम निर्वाचन र सप्तरी, २०१८ सालको आन्दोलन र सप्तरी, २०२८ सालको स्नातक निर्वाचन र सप्तरी, २०३७ सालको जनमत संग्रह र सप्तरी, २०४२ सालको सत्याग्रह र सप्तरी, २०४२ सालको बम विष्फोट र सप्तरी, २०४६ सालको जनआन्दोलन र सप्तरी, २०६२/६३ को आन्दोलन र सप्तरीका साथै तराईको सशस्त्र संघर्ष र सप्तरीको शीर्र्षक राखी अध्ययन गर्ने हो भने नेपाली राजनीतिक इतिहासमा सप्तरी जिल्लाको यथेष्ट भूमिका रहेको देखिन्छ ।
बदलिँदो संघीय राजनीतिक अवस्थामा प्रदेश र स्थानीय तहका सरकारहरूले आआफ्नो क्षेत्रको राजनीतिक इतिहासको अध्ययन नगर्ने हो भने माथि उल्लेख गरिए झैं गणतन्त्रको धरातललाई हेर्न र बुझ्न सकिने छैन । त्यस्तो अवस्थामा यस कारणले समेत गणतन्त्रलाई सुरक्षित तुल्याउन कठिन हुनेछ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन् ।)
तपाईको प्रतिक्रिया