लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) ६ महिनाअघि जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर गठन भएको हो । त्यसअघि तत्कालीन राजपा र समाजवादी पार्टी एकीकृत भएर जसपा बनेको थियो । तर जसपा एकीकरणको एक वर्षपनि नबित्दै सिद्धान्तविहीन आधारमा महन्थ ठाकुर र राजेन्द्र महतोहरु त्यहाँबाट अलग भएर लोसपा बनाए ।
२०७४ साल वैशाख ७ गते महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महिन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी नेपाल, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भई राजपा बनेको थियो ।
फेरि राजपा र उपेन्द्र यादव, डा. बाबुराम भट्टराईले नेतृत्व गरिरहेको समाजवादी पार्टीबीच २०७७ वैशाख १० गते पार्टी एकता गरेर जनता समाजवादी बनेको हो ।
जसपा विभाजन हुँदा ठाकुर र महतोबीच समान विचार र धारणा थियो र अहिले ठाकुर र महतोबीच नै मनोमालिन्य बढेको छ ।
लोसपा बनेको ६ महिना नबित्दै त्यस पार्टी भित्र अन्तरद्वन्द्व सुरु भएको छ । ठाकुर र महतो, जो पार्टी बनाउन एक भएका थिए, अहिले दुबैबीच पानी बराबरको स्थित बनेको छ । एकले अर्कोविरुद्ध प्रस्तुत भइरहेका छन् । पार्टी भित्रको अन्तरसंघर्षले गर्दा पार्टी कमजोर भइरहेको छ भने नेता तथा कार्यकर्ता दिशाहीन बनिरहेका छन् ।
ठाकुर र महतोपक्षबीच जारी विवादका कारण पार्टी भद्रगोल बनेको छ । जस कारण पार्टी गठन भएदेखि अहिलेसम्म एक पटक पनि कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन । त्यस्तै केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति मात्र होइन, भ्रातृ संगठनहरु पनि गठन भएका छैनन् । त्यतिमात्र होइन लोसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।
महतोलाई जानकारी नै नदिइ ठाकुरले मधेश प्रदेशको संयोजकमा जितेन्द्र सोनललाई नियुक्त गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । मधेश प्रदेशको संयोजक नियुक्तमा ठाकुर पक्षले मनोमानी गरेको महतो पक्षको दाबी छ ।
लोकपा भित्रको विवाद नेतृत्वको अकर्मण्य र निष्क्रिताको चरम नमूना हो । जसका कारण आम कार्यकर्तामा निराशा उत्पन्न भएको छ । नेतृत्वले न्यूनतम लोकतान्त्रिक विधि र प्रक्रियालाई ध्यान नदिने हो भने पार्टीबाट केही नेता अलग हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन । पार्टीका नेताहरुकाअनुसार अहिले ठाकुर र महतोबीच यस्तो विवाद छ कि यी दुई नेताबीच बोलचालको अवस्थासमेत छैन ।
ठाकुर र महतो दुवैको व्यवहारबाट थुपै कार्यकता निराश भइरहेका छन् । पार्टी आन्तरिक घर झगडामा व्यस्त रहँदा उसले कसरी आफनो एजेन्डा उठाउन सक्छ?
शीर्ष नेताकै शैलीबाट नेता तथा कार्यकर्ता असन्तुष्ट बन्यो भने यसले कालान्तरमा पार्टीलाई हित त गर्र्दैन बरु केही योग्य नेता र कार्यकर्ता पनि गुमाउन सक्दैन ।
स्थानीय निकायको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा पार्टीलाई बलियो बनाउनको सट्टा नेतृत्व नै विभाजित भएपछि यसले निर्वाचन परिणाममा पनि असर पु¥याउन सक्ने तर्फ नेतृत्वको ध्यान जान आवश्यक छ ।
तपाईको प्रतिक्रिया