स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ । लगभग सबै स्थानीय तहको मतपरिणाम पनि आइसकेबो छ । निर्वाचनमा देशैभर करिब १ करोड ७० लाख मतदाताहरूमध्ये १ करोड १८ लाखभन्दा बढीले मतदान गरेका छन् । छिटफुट घटनाबाहेक निर्वाचन सौहाद्र्र रूपमा सम्पन्न भएको छ । यसले प्रजातन्त्रको प्राथमिक उपादेयता देखाएको छ ।
यसपटकको स्थानीय निर्वाचनले पार्टीका भन्दा पनि दक्ष उम्मेदवारलाई जिताउनुपर्छ भन्ने भावना मतदातामा देखिएको सन्देश दिएको छ । प्रमुख दलहरूलाई एउटा अमूल्य सन्देश छाडेको छ – राजनीतिमा अब युवा, क्षमतावान् अनि काबिल व्यक्तिहरूको पदार्पण आवश्यक छ ।
यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अधिक सघनता देखियो । आम मानिसमा राजनीतिको मुख्य धारप्रति वितृष्णा बढ्दै गरेको सत्य उजागर हुँदैछ । नागरिकमा दलीय उम्मेदवारभन्दा पनि मिलेसम्म आफ्नो क्षेत्रका अनि दक्ष उम्मेदवारलाई जिताउनु पर्छ भन्ने मान्यता बोकेको देखियो ।
मधेशको सन्दर्भमा पनि निर्वाचनले प्थक सन्देश छोडेको छ । मधेशी दलहरूले जसरी सतही विश्लेषण गरेका थिए उनीहरूको बुझाइलाई यो निर्वाचनले आत्मरती र भुलभुलैयामात्र बनाई दिएको छ । अस्वाभाविक आत्मप्रशंसा र स्वजयजयकार पनि राजनीतिमा धेरै टिक्दैन भन्ने मधेशी दलहरूको रवैयालाई मतदाताले यस पटक खारेज गरिदिएको छ ।
लामो समय राजनीतिको मुख्य केन्द्रमा रहेका मधेशी दलहरूको अकर्मण्यतालाई निर्वाचनको मतमपरिणामले उजागर गरेको छ । अघिल्लो निर्वाचनमा राम्रै मत पाएको मधेशी दलकोे अविवेकीपनामाथि यसपालि मधेशी मतदाताले गतिलो झापड दिए । मधेशमा क्रियाशील जसपा र लोसपालाई जनताले पटक पटक शासन सञ्चालन गर्ने अवसर दिँदै आएका थिए । उनीहरूको व्यक्तिगत स्वार्थलाई केन्द्र राखेर र मधेशको मुद्दालाई तिलाञ्जली दिँदै सत्ताको लोभमा फस्दै गए ।
यद्यपी अझै पनि आमरूपमा मधेशी दलहरूप्रतिको विश्वास पूर्ण रूपमा खण्डीकृत भइसकेको छैन। लोकतन्त्रको भावना, मर्म र जनताको चाहनाअनुसार काम गर्ने हो भने मधेशी दलहरूप्रतिको जनविश्वास बलियो भएर आउँछ । अवसर भनेको सबैलाई सधैँ आइरहँदैन, जतिवेला अवसर आउँछ, सो समयमा इमानदार एवं जवाफदेही भएर देश, जनताका हितमा काम गर्नुपर्ने हुन्छ । तर विडम्बना, मधेशी दलहरू अवसर भनेको आफ्नै लागि बुझे ।
विगतमा केही अपवादलाई छाडेर भन्दा मधेशी दलबाट कहीँ कतै कमजोरी भएकै छ । मधेशी दल, जनप्रतिनिधि र उनका नेताहरूले त्यो कमजोरीलाई नदेखेजस्तो गरिरहँदा नै स्थानीय तहमा उनीहरूले विश्वास गरेको उम्मेदवारलाई जनताले पाखा लगाइ दिए । यस्तो तीतो यथार्थलाई स्वीकार गरी सुधारका लागि खुला मनले अघि आउन अहिलेको निर्वाचन परिणामले मूलतः दलहरूलाई घचघच्याएको छ ।
विगतमा मधेशका जनप्रतिनिधिहरू आआफ्ना मतदाताप्रति जवाफदेही नहुनुको प्रतिफल पनि ती दलहरूको पराजयको मुख्य कारण पनि हो । अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्थालाई यसको मर्मअनुसार सञ्चालन गर्न नसक्नुको योगफलका रूपमा अहिलेको परिस्थिति उत्पन्न भएको छ । यसलाई सबैले स्वाभाविक रूपमा लिन सक्नुपर्छ । राम्रो कामका लागि रचनात्मक सहयोग र साथ दिँदै अगाडि बढ्ने संस्कृति विकास गर्नुपर्ने हुन्छ ।
जनताको अदालतमा परीक्षा दिन जाँदा तयारीका साथ जानुपर्ने विषयमा विमति रहँदैन । जनताले आफ्नो भावी प्रतिनिधिको चाल, चरित्र र चेहरालाई मूल्यांकन गर्दछन् । जनपक्षीय नीति, उम्मेदवारको लोकप्रियता र जनचाहनालाई बेवास्ता गरियो भने जनताले लिएको परीक्षामा अनुत्तीर्ण हुने निश्चित छ ।
मधेशी दलहरू जनताको यहि मनोभावनालाई बुझ्न नसक्दा उनीहरूले पत्याएको उम्मेदवारलाई जनताले निर्वाचनमा पत्याएनन् । राजनीतिक दलको ब्राण्ड बेचेर जनताबाट अनुमोदित बनौंला वा बनाउँला भन्ने सोचमा पनि परिवर्तन आवश्यक देखिएको छ । नातावादको आधारमा र चुनावमा पैसाको बलमा उम्मेदवार बन्ने र पैसा खर्च गरेर जित हासिल गरौंला भन्ने नेता, कार्यकर्ताको सोचमा परिवर्तन गर्न सकिएन भने नेतृत्वलाई जनताले स्वतः दण्डित गर्ने सन्देश यो स्थानीय तह निर्वाचनले दिएको छ ।
तपाईको प्रतिक्रिया