उम्मेदवार सिफारिसको लहर, लाज छोप्ने पहल

सम्पादकीय

राजनीतिक दलका शीर्ष नेताहरूको उम्मेदवार बन्ने सिफारिसको लहर चलेको छ । छापा र डिजिटल मिडियामा फलानो जिल्लाको फलानो निर्वाचन क्षेत्रबाट फलानो दलका नेतालाई उम्मेदवार बनाउने सिफारिस गरिएको समाचार पढ्न पाइन्छ । राजनीतिक दलले आफूलाई लोकतान्त्रिक विधि प्रक्रिया अवलम्बन गरेको दर्शाउन यस्तो सिफारिसको पाखण्ड गरिरहेका छन् ।

राजनीतिक दलले वडा एकाइदेखि प्रदेश हुँदै संघीय समितिमा सिफारिस गरी पठाएको दाबी गरिरहेका छन् । राजनीतिक दलका वडा एकाइदेखि प्रदेश हुँदै संघीय समितिमा अझ पूरा गरिने समितिहरू पूरा भएका छैनन् । लोकतान्त्रिक विधि अनुसार पार्टी संगठन सञ्चालन गरेको पारदर्शी संगठन बनाउने हो भने यी पार्टीले पहिले निर्देशिका सार्वजनिक गर्नुपर्ने छ । पार्टीको केन्द्रीय नेतृत्वको वा नेतृत्वमा रहेका समूहका इशारामा मातहतका कमिटीलाई यो वा त्यो निर्णय गराउने काम हुने गरेको छ ।

राजनीतिक दलका निर्णयलाई तिनै पार्टीका निकायमा कार्यान्वयन गराउन सहयोग नगर्ने पार्टी नेतृत्वलाई कारबाही नगर्ने परिपाटी जनताले देखिरहेकै छन् । यस्ता राजनीतिक नेतृत्व विरुद्ध कारबाही नभए वा कर्मकाण्डीय पानी छर्केर शुद्ध पार्ने काम राजनीतिक दलहरूबाट हुने गरेको समाचार पनि मिडियामा सार्वजनिक हुने गरेको छ ।

सबै राजनीतिक दलले आदर्श र निष्ठा तथा सिद्धान्तको कुरा गर्छन् । तर कारबाही गरिने विषयमा राजनीतिक दलहरू मौन बस्ने गर्छन् । जनकपुरधाम उपमहानगरपालिकाको प्रसङ्गबाट बुझौँ । मेयरमा स्वतन्त्र मनोजकुमार साह जिते । मनोजकुमार साह निर्वाचन हुन अघिसम्म कांग्रेसका जिम्मेवार कार्यकर्ता थिए । कांग्रेसका वरिष्ठ नेताहरूको पंक्तिमा रहेका विमलेन्द्र निधिले उनलाई निर्वाचनमा सघाएर जिताए । निधिले पार्टीको निर्णयलाई अवज्ञा गरे ।

हिसाबले कारबाही हुनुपर्ने हो । तर भएको देखिएन् । निधिलाई कारबाही त भएन नै यो पाँच वर्ष नबित्दै मनोजकुमार साहको कर्मकाण्डीय पानी छर्को संस्कार विधिबाट उनको पार्टीमा भित्र्याउने काम हुनेछ । अनि पार्टी आदर्श र निष्ठामा कसरी चल्ने हुन्छ । जसरी पनि चुनाव जित्नु एक मात्र उद्देश्यलाई कार्यान्वयन गराउने बाटो अपनाउने दलहरूको चरित्र भएपछि आदर्श र निष्ठाको स्वाङ गलत हुन्छ ।

सिफारिसमा शीर्ष नेतृत्वको समाचार पछि अर्को कुरो राजनीति छ । ती शीर्ष नेताहरूले अन्य राजनीतिक दललाई यो क्षेत्रमा मेरो दाबी छ यहाँ वजनदार नेता नपठाउनु है भन्ने राजनीतिक पहल छ । समग्र पार्टीको संरचना विधिलाई लोकतान्त्रिक विधिमा नढालिकन् यसरी सिफारिसको नाटकले स्वाङ बाहेका केही जनाउँदैन् ।

राजनीतिक मूल्य, मान्यता र आदर्श धराशायी अवस्थामा पुगेकाले राजनीतिलाई प्रतिष्ठित तुल्याउने जिम्मेवारी यी राजनीतिक दलको जिम्मेवारी हो । उनीहरूले चुनाव जित्ने लोभलाभको अवसरवादी राजनीतिलाई एक दुई चुनावका लागि हानि बेहोर्ने साहस गरे आदर्श स्थापित गराउन खोजे राजनीति र राजनीतिक व्यक्तित्व प्रतिको वितृष्णामा कमी आउने थियो ।

राजनीतिक दलले यसमा ख्याल गर्नु पर्छ । चाहे पार्टी नेतृत्वका लागि वा सरकरको नेतृत्वका लागि गरिने राजनीतिक परिदृश्यको प्रतिष्ठा सूचक माथि उकास्ने काम आगामी निर्वाचन प्रक्रियामा राजनीतिक दलबाट होस भन्ने चाहना जनताको छ । निष्ठा र आदर्शमा आधारित राजनीतिक प्रतिष्ठालाई माथि उठाऔँ । नभए उम्मेदवार सिफारिसको लहर लाज छोप्ने अर्थहीन पहलबाहेक केही हुने छैन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ