मधेश आन्दोलनबाट संघीयता तथा समावेशीको एजेन्डा बोकी उदाएका र आन्दोलनकारीहरूबाट मसिहाको उपनामबाट चिनिन पुगेका त्यतिञ्जेलका मधेशी जनअधिकार फोरम हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २बाट संघीय संसदको चुनाव हारेका छन् । मसिहा भनिदा कहिल्यै त्यस शब्दको प्रतिकार यादवले गरेको सुनिएन । बरू मधेशवादी नभन मधेशकेन्द्रित दल हौँ भनी भनेको सुनियो । उपेन्द्र यादवले आफै पनि पटक पटक सरकारमा सामेल भएर पार्टीको नेतृत्व गरे ।
सरकारको नेतृत्वबाट समग्र मधेशको जनतालाई दिन पर्ने वा चाहेको कुरो गाह्रो भएपनि आफ्नो चुनाव चिन्हका जनतालाई विश्वास हुने गरी काम गर्नुपर्नेमा त्यसो गर्न नसकिएको देखियो । जनमत पार्टीका अध्यक्ष सीके राउतले उनलाई एक भारी अन्तरले चुनावमा हराएका छन् । सघन प्रतिस्पर्धाबाट मात्र उपेन्द्र यादव हारेका छैनन् । उपेन्द्र यादव लोकप्रिय भएको भए राउतसँग सय दुईसयको अन्तरले हार्नुपर्ने थियो । त्यस्तो देखिएन् ।
अर्कोकुरो सप्तरी २को चुनाव क्षेत्रमा जनमत पार्टीले प्रदेश सभाका दुवैक्षेत्रमा जित हात पारेको हो । यसले पनि त्यो क्षेत्र पहिले देखि जनमत पार्टीको प्रभाव क्षेत्रमा गइसकेको थियो र त्यसको चालसम्म पाउन नसक्नु उपेन्द्र यादवको राजनीतिक कमजोरी हो । निर्वाचनमा जित्नु अघि जनमत पार्टीका अध्यक्ष सीके राउत राजनीतिका कुशल खेलाडी थिएनन् ।
नयाँ पार्टी खोलेर पहिलो पटक स्थानीय, प्रदेश र संघीय चुनाव लडेका हुन् । यस्तोमा हेर्दा कुनै पुराना बलिया राजनीतिक दलका बलिया उम्मेदवारबाट हारेको भन्न पनि मिल्दैन् । यसआधारमा हेर्दा मसिहाले समग्र मधेशको लागि त गरेनन गरेनन आफ्नै क्षेत्रमा केही काम नगरेको देखियो ।
आन्दोलनबाट जन्मेका नेताले आन्दोलनको एजेन्डा बिर्सिएर सत्तामा जाँदा र सत्तामा जाँदा गर्न नसकेर हुने हविगतको पाठ यो निर्वाचन परिणामबाट देखिएको हो । यो पाठ देशका अन्य ठाउँमा पनि नभएको होइन् । स्वतन्त्र पार्टीले पनि पहिलो पटक चुनाव जितेर राम्रो नतिजा ल्याएको छ । तर तिनका उम्मेदवारले यो हैसियतको जित हात पार्न सकेको देखिएन् ।
पार्टीको अध्यक्ष पटक पटक मन्त्रीभएका आन्दोलनबाट मसिहाको उपाधि भएका नेताहरूलाई हराउने गरी जित अन्यत्र अहिले सम्म सुनिश्चित भइसकेको देखिएन् । यो भनेको जनताका लागि केही गर्छु भनी जाने नेताहरूले क्षेत्रको विकास तथा समृद्धिका लागि सोच्न नसक्दा पराजयको नमिठो स्वाद चाख्नुपर्ने हेक्का राख्नुपर्छ । यो पराजयको पाठ सबैले सिकौँ । सत्ताको शक्तिको मातमा लट्ठिएर जनतालाई न बिर्सौँ ।
तपाईको प्रतिक्रिया