मिथिला संस्कृति बचाउने प्रयासमा छौं : वीरेन्द्र ठाकुर

अध्यक्ष, मिथिला संस्कृति समाज नेपाल

अन्तर्वार्ता

11/30/2018

० मिथिला संस्कृतिको संरक्षण गर्ने तिर कसरी लाग्नु भयो ? 

— म विद्यालय अवस्थामा गाउँमा हुँदादेखि नै समाजमा बढ्दै गएको बिकृती र बिसंगतीलाई देख्दा मलाई साह्रै नै चित दुःखेर आउने गर्दथ्यो । कतिपय पौराणिक सोच र रूढीबाजी परम्पराका कारण मिथिला समाजमा दिनानु दिन बिकृति समेत बढदै गइरहेको देखे । जसका कारण मलाई एउटा समाजसेवी भएर आफ्नो मिथिला संस्कृतिको संरक्षणको काम गर्नु पर्छ जस्तो मलाई महशूस भएर आएको थियो ।

० मिथिला संस्कृतिको संरक्षण गर्ने कार्यमा लाग्दा अहिले कस्तो महशूस भई रहेको छ ?

— समाजसेवीको काँधमा ठूलो जिम्मेवारी हुन्छ । समाजसेवी भएर आफ्नो कदम अगाडी बढाई सकेपछि कहिल्यै अप्ठयारो परिस्थितीबाट डराउनु वा आतिहाल्नु हुँदैन् र समाजसेवीको त्यस्तो स्वभाव पनि हुनु हुँदैन् । जहाँसम्म मेरो कुरा हो, त म प्रायः खुशी नै हुन्छु ।

० मिथिला संस्कृति के हो ? 

— मिथिला संस्कृति अपार रहेको छ । मिथिला संस्कृति चाही खान–पान, रहन–सहन, भेष–भुषा, बोली–चाली र ब्यवहार आदीबाट कुनै पनि ब्यक्तिको संस्कृति झल्किन्छ । जुन संस्कृति सम्बन्धित ब्यक्रिको पुस्तौ पुस्तादेखि नै चलिआएका हुन्छन् ।

० मिथिला संस्कृति समाजको उद्देश्य चाही के रहेको छ ? 

— मिथिला धर्म, कला–संस्कृति र संस्कारको संरक्षण गर्नुको साथ–साथै मिथिला समाजको उत्थान र बिकास गर्नु नै यस समाजको प्रमुख मुलभुत उद्देश्य रहेको छ । मिथिलाञ्चल क्षेत्रमा रहेका एतिहाँसिक, पुरातात्विक महत्वका कलात्मक धरोहर जस्तैः मठ–मन्दिर र तलाउँ आदीहरूको संरक्षण गर्नुको साथै तीर्थालुहरूको सेवा–सुबिधाको मध्य नजर गरी त्यसको उचित ब्यवस्था गर्नु नै हाम्रो संस्थाको मुख्य उद्देश्य रहेको छ । 

० यस संस्कृति समाजको उद्देश्य पुरा हुनेमा तपाई आफै कतिको बिश्वस्त हुनुहुन्छ ? 

— यस मिथिला संस्कृति समाजको उद्देश्य पुरा हुनेमा म एकदम विश्वस्त रहेको छु । किनकी यदि यस समाजको उद्देश्य सही र सराहनीय रहेको छ । त्यसैले आज क्रमिक रूपमा दिन प्रतिदिन यस संस्थाको सदस्यको संख्या बढदै गई रहेको छ । यसले नै संस्थाको उद्देश्य पुरा हुने साबित गर्दछ । 

० समाजसेवीको सबभन्दा ठूलो चुनौति के हो, जस्तो लाग्छ ? 

— हाम्रो मिथिला समाजमा सफल र सही ढंगले काम गर्नु नै समाजसेवीको लागी ठूलो चुनौति हो, जस्तो मलाई लाग्छ । अहिले हाम्रो मिथिला समाजमा कुनै पनि काम गर्न अलि गाह्रै छ । राजनीति अस्थिरता र उकालो एवम् ओरालोका कारण मिथिला समाजमा काम गर्ने वातावरण अलि बिग्री सकेको अवस्था छ ।

० तपाई मिथिला समाजको अवस्था कस्तो देख्नुहुन्छ ? 

— हाम्रो मिथिला समाजमा उही पुरानै पौराणिक सोच र रूढीबाजी परम्परा बिद्यमान रहेको र परिवर्तनशील समय आएर पनि आफूलाई परिवर्तन गर्न नसकेको अवस्था छ, जस्तो मलाई लाग्दछ । किनकी हाम्रो मिथिला समाजमा आधुनिक्तामा परिवर्तन त भयो तर माँनसिक्तामा परिवर्तन आउँन सकेको छैन । त्यसैले बाहिरी परिवर्तन देखिएला तर भित्र चाही जुन परिवर्तन आउँनु पर्ने हो, त्यो चाही आउँन सकेको छैन् । त्यसैले हाम्रो मिथिला समाजको अवस्था खराब नै भन्नु पर्छ । 

० मिथिला संस्कृतिको बारेमा कतिले बुझन सकेका छैनन भन्छन नि ? 

— हेर्नुस्, यो कुरामा केही नकेही सत्यता पक्कै पनि छ । यदि यो कुरामा सत्यता नभएको भए आज हाम्रो मिथिला संस्कृति दिन प्रतिदिन लोप हुने थिएन ।

० मिथिला संस्कृति दिनानुदिन हराउँदै जानुको कारण के हुन सक्छ ?

— हाम्रो मिथिला संस्कृति दिनानुदिन हराउँदै जानुको प्रमुख कारण हो जिम्मेवार ब्यक्तिको अभाव हुनु । आधुनिकतातिर मात्र ध्यान दिनु र मानसिकतामा परिवर्तन नहुनु नै हो । मिथिला संस्कृतिको संरक्षणका लागि नेपाल सरकारको ढुकुटीबाट जति बजेट निकासा भइरहेको छ । त्यो पनि सही ठाउँमा उपयोग भइरहेको छ, जस्तो मलाई लाग्दैन । त्यसैले मिथिला संस्कृति दिन प्रतिदिन हराउँदै गइरहेको अवस्था छ । आफ्नो संस्कृतिको संरक्षण गर्न हेतु संस्कृति जोगाऔ ईज्जत बचाऔ भन्ने नामको एउटा अभियान मिथिलाञ्चल क्षेत्रभरी नै चलाउँदै छौं ।

० संस्कृतिको संरक्षण गर्ने कार्यमा युवाहरूको भूमिका कस्तो हुनु पर्दछ ? 

— देशमा रहेका युवाहरूको अवस्था वास्तवमा भन्नु पर्दा धेरै नै दयनीय रहेको छ । देशका युवाहरूलाई सही ढंगले उचित कार्यमा सरकारले परिचालन गर्न सकेको छैन । देशलाई युवाहरूले नै समृद्ध बनाउँने हो तर आजसम्म देशका युवाहरू सदुपयोग हुनुको साटा दुरूपयोग नै भइरहेको छ । त्यसैले देशका युवाहरू ऋाफ्नो संस्कृति बिर्सदै गइरहेका छन् । तर कुनै पनि संस्कृतिको संरक्षण गर्नमा अहिले युवाहरूको नै प्रमुख भूमिका हुने गर्दछ । 

० मानव जीवनमा संस्कृतिले कस्तो खाले प्रभाव पार्दछ ? 

— हरेक मानव जीवन कुनै नकुनै कला–संस्कृतिबाट यो सृष्टिमा आएका हुन्छन । कला–संस्कृति बिनाको जीवन अधुरो अपुरो हुने गर्दछ । संस्कारले मानवको परिचय आफै पनि दिई रहेको हुन्छ । जीवनमा मान–मर्यादा र ईज्जत–प्रतिष्ठा आदी अरूबाट पाउनका लागि आफ्नो संस्कृति अति नै आवश्यक पर्दछ । कुनै पनि संस्कृतिले आफू बसेको समाजमा फेरि बाँच्न पनि सिकाउँदछ र मानव जीवनमा संस्कृतिले प्रमुख भुमिका समेत खेल्ने गर्दछ । त्यसैले आफ्नो कला–संस्कृतिलाई कहिल्यै र कुनै पनि हालतमा बिर्सनु हुँदैन । 

० मिथिला कला–संस्कृतिको महत्व अलि बढी नै रहेको सुनिन्छ । कारण के हुन सक्छ ? 

— मिथिला कला आजको दिनमा बिश्वमा प्रसिद्ध रहेको छ । देशमा मात्र नभएर बिदेशहरूमा समेत मिथिला कलाले चर्चा पाइरहेको छ । अब त देश–विदेशमा समेत मिथिला कलाको प्रदर्शनी निरन्तर आयोजना हुन थालिसकेको अवस्था छ । मिथिला संस्कृति पनि अरू संस्कृति भन्दा धेरै नै फरक किसिमको सराहनीय संस्कृति हो । फरक संस्कृतिका समुदायहरूले पनि मिथिला संस्कृतिलाई समेत पन पराउँने गर्दछ । यसले नै मिथिला कला–संस्कृतिको महत्व साबित गर्दछ । 

० संस्कृतिको संरक्षण गर्ने सरकारको नीति कस्तो रहेको छ ?

— हेर्नुस्, नीति कुनै पनि कला–संस्कृतिको होस् । नीति आफैमा कहिल्यै पनि खराब हुँदैन । राज्यद्वारा बनाइएको कुनै पनि नीति प्रायः ठीक नै हुन्छन् । तर परिवर्तनशील समय भएको हुनाले बनाइएको नीति समय अनुसार परिमार्जित भइरहेको छ की छैन, त्यो चाही ठूलो कुरो हो । परिवर्तनशील समयमा बनेको नीति समय–सापेक्ष्य परिमार्जित अवश्य भइरहनु पर्छ । फेरि राज्यको दोष दिनु भन्दा पनि संस्कृतिको संरक्षणमा सम्बन्धित समाजको प्रमुख अग्रसरता र भुमिका हुनु पर्दछ । 

० अन्त्यमा के भन्न चाहनुहुन्छ ? 

— मिथिला संस्कृतिको संरक्षण गर्ने कार्य लिएर अगाडी सरेको छु । यदि मैले शुरू गरेको अभियान सही र उचित हो भन्ने तपाईहरू पनि यो अभियानमा सहभागी भई दिनु हुन म सबैलाई आग्रह समेत गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ