० तपाइँ करिब साढे तीन वर्षसम्म प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हाल्नुभयो, आफ्नो कामप्रति कति सन्तुष्ट हुनुहुन्छ ?
— जसपा नेपालको रणनीतिअनुसार अग्रगमन शक्तिहरुसँग समन्वय र सहकार्य गरेर संविधान संशोधन र संघीयतालाई संस्थागत गर्ने उद्देश्यका लागि अहिले प्रदेश २ को सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई ल्याइएको छ । म साढे तीन वर्षसम्म मन्त्रीको रुपमा काम गर्दा संघीयता संस्थागत हुन सकेको थिएन । संघीय सरकारले संघीयताको विपक्षमा काम गरिरहेको थियो । जसले गर्दा हामीले सोचेअनुसारको काम गर्न सकेनौं । तथापि पनि मैले सम्हालेको मन्त्रालयमा जुन काम गरें, त्यसबाट म सन्तुष्ट छु । किनभने प्रदेश २ को सरकारले संघीयतालाई संस्थागत गर्नका लागि निरन्तर आफ्ना कामहरु अगाडि बढाइरहेको छ । कानून बनाउने मामिलामा पनि सबै प्रदेशभन्दा बढी प्रदेश २ ले ऐन कानूनहरु बनाएको छ ।
० प्रदेश २ को सबभन्दा प्राथमिकतामा पर्नुपर्ने विषय नामाकरण र स्थायी राजधानी कहिले टुंगो लाग्छ ?
— प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगो लगाउन संसदमा दुई तिहाइ बहुमत चाहिन्छ, जुन हामीसँग विगतमा थिएन । यसभन्दा अघि हामीसँग सरकार बनाउने सामान्य बहुमत मात्र थियो । जसपा नेपालले दूरगामी सोच लिएर प्रदेश २ मा संयुक्त सरकार निर्माण गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहसँग सहकार्य गरेका छौं । अहिले हामीसँग दुई तिहाइ बहुमत छ । माओवादी केन्द्रले पनि नामाकरणको सवालमा हामीले गरेको प्रस्ताव नै पेश गरेको छ । त्यसैले नामाकरणको सवालमा जसपा र माओवादीको एकमत छ । यसमा कांग्रेसले यदि साथ दियो भने दुई तिहाइ बहुमतले पारित हुन्छ । यस विषयमा केन्द्रीय नेतृत्वहरुले पनि पहल गरिरहनुभएको छ । आफ्नो स्वार्थभन्दा माथि उठेर संघीयतालाई संस्थागत गर्ने सवालमा कामहरु अगाडि बढाइरहेका छौं ।
० अहिले तपाइँहरुसँग दुई तिहाइ बहुमत छ, मन्त्रालय थपेर प्रदेशमाथि आर्थिक भार मात्रै थपिने काम भएको देखिन्छ । प्रदेशको नामाकरण प्राथमिकतामा किन परेको छैन ?
— प्रदेशमाथि आर्थिक भार थपिएको भन्ने कुरा होइन, हामीले संघीयतालाई संस्थागत गर्नका लागि सबै दलसँग सहकार्य र समन्वयको नीति लिएका छौं । अब प्रदेशको मन्त्रालय विभाजन गर्नुभन्दा यदि हामीले नै मन्त्रालय छोडेर भएपनि सबैलाई सरकारमा ल्याउने प्रयास गर्नुपर्छ । अर्को कुरा प्रदेशको नामाकरण र राजधानीका लागि प्रस्ताव संसदमा गइसकेको छ । अहिले संसद सञ्चालन हुन नसकेको कारणले छलफल हुन सकेको छैन । संसद सञ्चालन हुने बित्तिकै नामाकरण र राजधानीको विषयमा छलफल गर्छौं । हामीसँग दुई तिहाइ बहुमत छँदैछ र नाम र राजधानी निश्चितरुपमा टुंगो लाग्छ नै ।
० यो गठबन्धन भत्किने सम्भावना पनि देखिन्छ नि ?
— यो गठबन्धन भत्किने कुनै सम्भावना छैन । यो हाम्रो गठबन्धनले संयुक्त रुपमा सरकार सञ्चालन गर्छ र आउँदो चुनावमा पनि संयुक्तरुपमा नै जानेछ । यो गठबन्धनको उद्देश्य भनेको संघीय गणतन्त्रलाई संस्थागत गर्नु हो । आगामी निर्वाचनमा यो गठबन्धनले दुई तिहाइभन्दा बढी सिट जितेर यो देशमा राजनीतिक स्थिरता दिनुपर्ने आवश्यकता छ । यो गठबन्धनलाई निरन्तरता दिनका लागि हामीले जे गर्नुपर्छ त्यो गर्न तयार छौं । त्यसकारणले यो गठबन्धनमा कुनै किसिमको असर पर्ने अवस्था छैन । यो गठबन्धनलाई लामो समयसम्म अगाडि बढाउने हाम्रो सोच छ ।
० जसरी तपाइँहरुले मन्त्रालयलाई टुक्र्याएर भएपनि कांग्रेस र माओवादीलाई प्रदेश सरकारमा ल्याउनुभयो जसले गर्दा आर्थिक भार मात्र थपिएको देखिन्छ । कांग्रेस र माओवादीलाई सरकारमा ल्याउँदा प्रदेशलाई के फाइदा भयो त ?
— यसबाट सिंगो देशले नै उपलब्धि पाएको छ । प्रतिगमनकारी शक्ति हावी भएको बेलामा अग्रगमन शक्तिहरु एकजुट भयो । सडक संघर्ष ग¥यौं र साथसाथै कानूनी उपचारमा पनि गयौं । सर्वोच्च अदालतले त्यतिकै हाम्रो पक्षमा निर्णय गरेको होइन । प्रतिगमनकारीका विरुद्धमा अग्रगमनकारी शक्तिहरु सशरीर सर्वोच्च अदालतमा उपस्थित भएका थिए । जसले गर्दा संघीयता कोल्याप्स हुनबाट जोगिएको हो । यही हाम्रो सबभन्दा ठूलो उपलब्धि हो । अर्को कुरा, प्रदेश २ का जनताले के उपलब्धि पाए भन्ने कुरामा केही मान्छेहरुले प्रदेश २ माथि कुदृष्टि लगाएका थिए । प्रदेश २ संघीयताको जननी हो, संघीयता संस्थागत गर्नका लागि हरेक बलिदान दिन तयार छ । प्रदेश २ बाट बाँकी ६ वटै प्रदेशले पाठ सिक्नुपर्ने छ । योभन्दा बढी राजनीतिक उपलब्धि अरु के हुन सक्छ र ।
० चुनावताका तपाइँहरुले मधेशी गठबन्धन बनाएर मधेशी जनताको मत बटुल्नुभयो । जसको विरुद्धमा भाषण गरेर मत लिनुभयो आज त्यही शक्तिहरुसँग सत्ता गठबन्धन गर्नुभएको छ । यो मधेशी जनादेशको विपरीत होइन ?
— हामीले संघर्षको जुन बाटो तय गरेका थियौं, जुन विचार र सिद्धान्त लिएर अगाडि बढेका थियौं त्यसलाई सबैले मान्न तयार भएको यो हाम्रो ठूलो उपलब्धि हो । यसबाट हामीले आफ्नो राजनीतिक परिपक्कवतालाई प्रमाणित गरेका छौं । आफ्नो सिद्धान्त र विचारलाई हामीले स्थापित गरेका छौं । जतिबेला हामीले संविधान संशोधन हुनुपर्छ भन्ने प्रस्ताव राख्दा केही दलहरुले यसलाई ठाडो विरोध गरेका थिए, आज ती दलहरु पनि सहमत भएका छन् । जसपाले ल्याएको संविधान संशोधनको प्रस्ताव जायज छ भन्ने कुरा उनीहरु मान्नु भनेको हाम्रो राजनीतिक जीत हो । त्यसकारणले यो मधेशी जनादेशविपरीत होइन । यसमा हिनता बोध गर्ने कुरै होइन । आज कांग्रेस, माओवादी र माधव नेपाल समूहले हाम्रो विचारलाई स्वीकारेका छन् भने यो हाम्रो ठूलो उपलब्धि होइन ? राजनीतिकरुपमा सैद्धान्तिक र वैचारिक जीत भनेको ठूलो उपलब्धि हो । जसपा वैकल्पिक शक्ति बन्ने बाटोमा छ ।
० जसपा विभाजित अवस्थामा छ, अब पनि वैकल्पिक शक्ति बन्छ त ?
— जसपा नेपाल विकासको चरणबाट अगाडि बढिरहेको छ । प्रजातान्त्रिक अभ्यासमा सर्वसम्मतले निर्णय भयो भने अति उत्तम, यदि भएन भने बहुमतको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ र अल्पमतमा रहेकाहरुले सम्मान गरेर अगाडि बढ्नुपर्ने हुन्छ । केही साथीहरु प्रतिगमनको पक्षमा लाग्नु गलत कुरा थियो । त्यसमा हाम्रो केन्द्रीय कार्यकारिणी समितिले बहुमतबाट खारेज गर्न सफल भयो । यो भनेको राजनीतिक दूरदर्शिताको परिचय हो । केही व्यक्तिहरु जसपा नेपाल फुटाउनका लागि जिल्ला–जिल्लामा विभिन्न किसिमका कार्यक्रमहरु गरिरहेका छन्, त्यो गैरवैधानिक कार्य हो । हाम्रा श्रद्धेय अध्यक्ष उपेन्द्र यादवजीले पटक–पटक भन्नुभएको छ कि बाटो बिराएका साथीहरु पार्टीमै फर्किनुस् । अध्यक्ष उपेन्द्र यादवजीले आह्वान गर्दा पनि जिल्ला–जिल्लामा गएर जसपालाई विभाजन गर्ने दुस्साहस गरिरहेका छन् । यसबाट पार्टी फुट्दैन, केही गलत सोच राखेका व्यक्तिहरु पार्टीबाट निस्किने मात्रै हो ।
० तर, महन्थ–राजेन्द्र समूहले त उपेन्द्र यादवले जसपा विभाजन गरे भन्ने आरोप लगाएको छ नि ?
— उपेन्द्र यादवमाथि जस्तो किसिमको आरोप लगाए पनि यथार्थ कुरा यथार्थ नै रहन्छ । जतिसुकै भ्रम सिर्जना गरे पनि त्यो क्षणिक मात्रै हुन्छ । सम्पूर्ण नेपाली जनताले बुझिसकेका छन् कि कसले गल्ती गरेका छन् । कुन प्रभाव, सोच र लोभमा प्रतिगमनको साथ दिए भन्ने कुरा सबैलाई थाहा छ । त्यसकारणले उहाँहरुले भ्रम फैलाएर केही हुँदैन । उहाँहरुकै समूहका नेताहरुले प्रतिकार गर्ने अवस्था आइसकेको छ । उहाँहरुकै समूहका नेताहरुले भनिसकेका छन् कि तपाइँहरु प्रतिगमनको पक्षमा उभिनुभएको थियो । केपी ओली जस्ता संघीयताविरोधीलाई साथ दिनुभएको भन्ने आरोप उहाँहरुकै समूहका नेताहरुले लगाइरहेका छन् । त्यसकारणले अब झुठा र भ्रमपूर्ण कुराहरु चल्दैन । उहाँहरु आफ्नो गल्ती स्वीकारेर पार्टीमा आउनुभयो भने ठिक छ होइन भने राजनीतिक भविष्य समाप्त हुन्छ ।
तपाईको प्रतिक्रिया