० जनता समाजवादी पार्टी नेपाल फेरि विभाजनको संघारमा पुगेको हो ?
— जसरी बाहिर चर्चा भइरहेको छ, त्यसरी नै पार्टीभित्र केही विवाद वा असन्तुष्टि होला जस्तो लाग्दैन । पार्टीमा केही साथीहरुलाई त्यस्तो लागेको हुनसक्छ । यदि असन्तुष्टिहरु छन् भने व्यवस्थापन गरिन्छ ।
० तर अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच तिक्तता बढ्दै गएको हो नि ?
— जसपा एउटा ‘भिजन’ र ‘मिसन’ मा क्लियर भएको पार्टी हो । नेपालमा एउटा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ जसपा निर्माण भएको हो । हामीले परिवर्तनको मुद्दालाई उठाएर मुलुकमा पहिचानको स्थापना, विभेदको अन्त्य, सामाजिक न्यायलगायतका समस्याहरु समाधान गर्ने उद्देश्यका साथ जसपा गठन गरेका छौं । त्यसकारणले वैचारिक र राजनीतिक रुपबाट सशक्त वैकल्पिक पार्टी जसपा हो । सांगठनिक र सशक्तरुपमा बढ्दै गएको दल हो जसपा । जनताका मुख्य मुद्दा र समस्याहरु उठाइरहँदा केही तत्वहरुलाई मन नपरेको हुन्छ । ती तत्वहरुले हाम्रो शक्तिलाई छिन्नभिन्न पार्न हाम्रा विरुद्धमा अनेक प्रचारबाजीहरु गरिरहेका छन् । यस्ता कुराहरु हाम्रा पार्टी गठन भएदेखि अनुभव गर्दैछौं । ती कुराहरुलाई हामी चिर्दै पार गर्दै अगाडि पनि बढिरहेका छौं ।
० यादव र भट्टराईबीच द्वन्द्व बढ्दै गएको कुरालाई नजरअन्दाज गर्न मिल्छ ?
— तपाइँ कसरी भन्न सक्नुहुन्छ ? राजनीतिकरुपमा हामी एकै ठाउँमा छौं, सांगठनिकरुपमा पनि हामी एकै ठाउँमा छौं । हाम्रा मुद्दा र एजेन्डाहरु तिनै छन् । खासगरी राजनीतिक दलहरुमा वैचारिक र राजनीतिक भिन्नता आएपछि विभाजन हुने हो । डा.बाबुराम भट्टराई हिजोसम्म कम्युनिष्ट आन्दोलनमा हुनुहुन्थ्यो, उहाँको विचार परिवर्तन भएपछि सामाजिक आन्दोलनमा आउनुभयो । उहाँमा वैचारिक परिवर्तन आएपछि माओवादी पार्टी छोड्नुभयो । समान विचार, दृष्टिकोणमा हामी एकै ठाउँमा छौं । आन्तरिक कुराहरुमा केही चित्त बुझेन भने त्यसलाई व्यवस्थापन गर्दै जाने हो ।
० अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाउन मानिरहनुभएको छैन भन्ने भट्टराई पक्षको गुनासो छ ?
— पहिलो कुरा त, जसपाभित्र कुनै पक्ष वा विपक्ष नै छैन । केन्द्रीय समितिको बैठक नबसेको हो र ? जतिबेला पनि केन्द्रीय समितिको बैठक बसिँदैन नि । हुन सक्छ केही साथीहरुलाई कुनै एजेण्डामा छलफल गरौं भन्ने लागेको होला । आवश्यकताअनुसार बैठक बस्छ र बस्नैपर्छ । अध्यक्षलाई अहिले आवश्यकता महसुस नभएको हुनसक्छ । पार्टीको विधानले अध्यक्षलाई केन्द्रीय समितिको बैठक बोलाउने भनिएको छ ।
० जसपाको विधानले तीन जना अध्यक्षको परिकल्पना गरेको छ, एउटा संघीय परिषद र दुईटा कार्यकारी अध्यक्ष । यसमा उपेन्द्रको विमत्ति रहको देखिन्छ?
— तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बन्दा नेताहरुको व्यवस्थापन गर्न तीन अध्यक्षको व्यवस्था गरिएको छ । कहिले काँही पदहरु नेता व्यवस्थापनका लागि राख्नुपर्ने हुन्छ । त्यतिबेला नेताहरुको व्यवस्थापनका लागि संघीय परिषद् अध्यक्ष र कार्यकारी दुई अध्यक्ष बनाइएको थियो । तर, अहिले त्यो स्थिति छैन । पूर्वराजपाका केही नेताहरु छुटिएर गइसकेपछि एउटा अध्यक्षले छुट्टै पार्टी बनाउनुभयो । त्यसैले अहिले पहिलेकै जस्तो नेता व्यवस्थापन गर्नुपर्ने अवस्था छैन । किनभने जसपाको विधान अधिवेशनबाट आएको होइन । अब हाम्रो पार्टीको विधान अधिवेशन हुन्छ, त्यसले कस्तो व्यवस्थाहरु तय गर्ने हो, त्यो त पछिको कुरा हो ।
० भनेपछि अहिलेको अवस्थामा जसपामा दुई कार्यकारी अध्यक्ष आवश्यक छैन ?
— जसपा निर्माणका बेला पनि हाम्रा दृष्टिकोण के थियो भने दुईटा अध्यक्ष राख्नुहुँदैन । किनभने यस्तो अभ्यास अन्य दलहरुले पनि गरेका थिए, ती दलहरुको अवस्था हामीले देखेका थियौं । त्यसले गर्दा हामीले दुईटा अध्यक्ष प्रणाली रुचाएका थिएनौं तर नेताहरु व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएकोले अन्तरिम विधानमा दुई अध्यक्ष राख्नुपर्ने भयो । महाधिवेशनबाट एकल अध्यक्षीय प्रणालीको टुंगो लगाउने हामीले भनेका थियौं । दुई अध्यक्ष हुँदा अवस्था के–के आए, यसका भुक्तभोगी हामी छँदैछौं । म एक नम्बरको अध्यक्ष तँ दोस्रो नम्बरको अध्यक्ष, एकले अर्कोलाई कारबाही गर्ने जस्ता विकृत्तिहरु हामीले देखिसक्यौं । ती विसंगतिहरुबारे सोचेर भोलि फेरि त्यहीं अवस्था सिर्जना नहोस् ।
० त्यसोभए, जसपा फेरि विभाजनकै मुखमा पुगिसकेको अवस्था छैन ?
— बाहिर आइरहेको जस्तो विवाद छैन । सबै कपोल्कल्पित र भ्रामक कुराहरु छन् । जसपा अब फुट्ने सम्भावना छैन ।
० अहिले एमसीसी प्रकरणले देशको राजनीति तरंगित भएको छ । एमसीसीबारे जसपाको दृष्टिकोण के छ त ?
— देशको हितमा जे कुरा हुन्छ, त्यसको पक्षमा हामी उभिन्छौं । त्यसैले एमसीसीबारे जसपाले कुनै औपचारिक निर्णय गरिसकेको छैन । गठबन्धनका अन्य दलहरुबीच पनि मतान्तरहरु देखिएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका छुट्टाछुट्टै मतहरु रहेका छन् । भोलि कस्तो स्थिति आउँछ, त्यसबारे हामी समीक्षा गर्दै राष्ट्रको हितमा जे हुन्छ, त्यसको पक्षमा हामी निर्णय गर्छौं ।
० गठबन्धनका दलहरुले एमसीसीबारे प्रष्ट दृष्टिकोण राखिरहेको छ, तर जसपा तटस्थ जस्तै देखिएको छ । एमसीसीबारे जसपाले प्रष्ट दृष्टिकोण किन बनाउन सकेन ?
— जसपा पनि स्पष्ट छ कि विकास निर्माणका लागि सहयोग वा अनुदानहरु लिनुपर्छ । तर ती सहयोगहरु राष्ट्रहितमा हुनुपर्छ । कांग्रेस, माओवादी र नेकपा एसबीच नै अहिले फरक मतहरु आइरहेका छन् । हामी एमसीसीबारे अध्ययन गरेर आवश्यक निर्णय गर्छौं । जुनसुकै सहयोग पनि देशहितमा हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं । यसको बारेमा आवश्यकता पर्दा हामी निर्णय गर्छौं ।
० तर एमसीसीकै कारण संसद बैठक स्थगित हुँदै आएको छ, गठबन्धन नै टुट्छ कि भन्ने आशंका गरिँदैछ नि ?
— संसदको बैठक गठबन्धनको कारण स्थगित भइरहेको छैन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अलोकतान्त्रिक प्रक्रिया र पद्धतिका कारण संसद बैठक स्थगित हुँदै आएको छ । लोकतन्त्रमा प्रमुख प्रतिपक्षी पनि एउटा मुख्य अंग हुन्छ । त्यो प्रतिपक्षीले त्यहिअनुसारको आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसकारण प्रमुख प्रतिपक्षी दलको कारणले संसद बैठक बसिरहेको अवस्था छैन । सत्तापक्ष संयमित भएर प्रमुख प्रतिपक्षलाई कन्भिन्स गर्ने दायित्व पनि हुन्छ । सत्तापक्षले आफ्नो त्यहि दायित्व निर्वाह गर्दैछ । त्यसैले, एमसीसीको कारण गठबन्धन टुट्छ भन्ने कुरा छैन ।
० माघ २६ गतेको संसद बैठक रातारात किन स्थगित भयो त ?
— प्रमुख प्रतिपक्षी दल एमालेले लगातार अवरोध गर्दै आएको छ, राम्रोसँग संसद चल्न दिइरहेको छैन । भनेपछि प्रमुख प्रतिपक्षीसँग सम्वाद गर्ने सत्तापक्ष र सभामुखको पनि दायित्व हो । त्यसका लागि सत्तापक्ष सम्वादबाट समस्या समाधान गर्ने पक्षमा लागेको छ । त्यसका लागि दुई दिन संसद बैठक स्थगित गरेर भएपनि प्रतिपक्षलाई कन्भिन्स गर्न खोज्दैछ ।
तपाईको प्रतिक्रिया