० जसपा नेपाल विभाजित भएकै होइन ?
— होइन, यसलाई विभाजन भन्न मिल्दैन । दुई/चार जना व्यक्तिहरू पार्टी छाडेर जाँदै हुनुहुन्छ । बहिर्गमनमा पर्नुभएको छ । पार्टीबाट केही साथी बाहिरिनुलाई फुट वा विभाजन भनिँदैन । विभाजनको परिभाषा मैले पढेँसम्म केही प्रतिशत साथी लिएर गएका, केही सम्पति लिएर अलग भएकालाई मात्र विभाजन भन्न सकिन्छ । तर, उहाँहरूले कुनै कार्यकर्ता लिएर जानुभएको छैन । त्यसैले यसलाई हामीले केही साथीहरूको बहिगर्मन भनेका छौँ । विभाजन होइन यो ।
० तर, डा. बाबुराम भट्टराई पक्षीय नेताहरूले यसलाई विभाजन नै भन्दै आएका छन् नि ?
— त्यो त उहाँहरूको स्वतन्त्रता हो । उहाँहरूले आफ्नो वाक स्वतन्त्रताको अधिकार प्रयोग गर्नुभएको छ । उहाँहरूको नजरमा यो विभाजन होला । आरोप लगाउने पहिलादेखिकै चलन छ । बीचमा बाबुरामजी र उपेन्द्रजी एकदमै सौहाद्रपूर्ण तरिकाले भेट भएको थियो । मलाई लाग्दथ्यो यो नेपालको सबैभन्दा सुन्दर अल्ग्याई हुनेछ । अलग हुने साथीले सहमतिकै आधारमा अलग हुँदैछन् । सहमतिमै अलग हुने कुरो भए पनि पछि उहाँले उपेन्द्र यादवमाथि आरोप प्रत्यारोप लगाउन थाल्नुभयो । आरोप लगाउनेहरूलाई वाक स्वतन्त्रता छ ।
० वीरगञ्जमा भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आफूहरूलाई नबोलाइएको भट्टराई पक्षको आरोप छ नि ?
— उहाँहरूले अलग हुने गतिविधि सुरू गरिसक्नुभएको थियो । खासगरी उहाँहरूले देशभरिका केन्द्रीय सदस्यहरूसँग हस्ताक्षर गराउन थाल्नुभयो । त्यो हस्ताक्षरको उद्देश्य के थियो, त्यो हस्ताक्षर गर्ने साथीलाई पनि थाहा थिएन । तर, एउटा कागजमा हस्ताक्षर गराउँदै डिँड्नुभएको थियो । त्यसकारण उनीहरूलाई बोलाउने अनिवार्यता देखिएन । खासगरी असार ११ र १३ गते दुई दिन बैठक भएको थियो । ११ गते सबैलाई जानकारी गराइएको थियो । धेरै साथीले व्यस्तता देखाएर आउनुभएन । रामसहाय यादवले सबैलाई फोन गर्नुभएको थियो । तर, उहाँहरू आउनु भएन । त्यसपछि १३ गते नआउने साथीलाई किन बोलाइरहने भनेर हामीले नबोलाएकै हो । यसरी छुट्टिने निधो गरिसकेकालाई बोलाउने अनिवार्य नै देखिँदैन ।
० भट्टराई र यादवबीच तिक्तता किन बढ्यो ?
— बाबुराम भट्टराई नेपालकै राजनीतिमा सबैभन्दा विद्वान मानिस हुनुहुन्छ । एकदमै विद्वान हुनुहुन्छ । हामीले केही दिन संगत गर्न पायौँ । हामी त गौवान्वित महसुस ग¥यौँ । तर, पछि हेर्दै जाँदा उहाँमा विचलनसम्बन्धी रोग रहेछ । स्थिरता देखिएन । माओवादी पनि परित्याग गर्नुभयो । नयाँ शक्ति खोल्नुभयो । जनता समाजवादी पार्टीमा आउनुभयो । यहाँ पनि बाधा उत्पन्न गर्न थाल्नुभयो । कि त उहाँका नजिक रहेका साथीहरूले जहिले पनि विचलित गरिरहेको हुनुपर्छ । त्यही विचलनको कारण होला, उहाँ छुट्टिएर जानुभयो । उहाँ विद्वान मान्छे, नेपालको राजनीतिमा केही गर्न सक्ने मान्छे, एउटा सोच र आधार भएको मान्छेसँग छुट्टिनु पर्दा आम जनतालाई त दुःख नै भएको छ ।
० तपाईँहरूले वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै आउनुभएको थियो । तर, पटक–पटक टुटफुटको क्रम चलि नै रहेको छ नि ?
— उपेन्द्रजीको पक्षबाट कुनै तिक्तता भएको छैन । सबैलाई काम गर्ने वातावरण थियो । तपाईँहरूलाई पार्टीमा अवसर आउँदा लिने, फलानो साथीलाई प्रदेश प्रमुख बनाउनुप¥यो, फलानोलाई राजदूत बनाउनुप¥यो भन्दा अवसर पनि दिइएकै हो । अर्को कुरा पार्टीमा निर्णयबिना केही हुँदैन । सानोभन्दा सानो निर्णय पनि वृहत् छलफल पछि हुने गरेको छ । निर्णय प्रक्रियामा सबै साथी सहभागी नै हुनुहुन्थ्यो । जहाँसम्म बाबुरामजीसँगको तिक्तताको कुरा छ, उहाँ पार्टीमा आउँदा तत् क्षण नेतृत्व समावेशी हुनुप¥यो भन्नुभएको थियो । आजको उहाँको ठाउँमा एक जना जनजाति आदिवासी नेता अशोक राई संघीय परिषद् अध्यक्ष हुनुहुन्छ । सबैको नीति विचार वैकल्पिक शक्तिकै थियो । अब उहाँको के चित्त दुखाइ भयो, त्यो उहाँले नै भन्नुहुन्छ ।
० महेन्द्रराय यादव पनि उतै लाग्नुभयो नि ?
— महेन्द्रजी बुझि नसक्नु मान्छे हो । महेन्द्रजी कहीँ स्थिर रहन सक्दैनन् । ६ जना अध्यक्ष रहेको राजपा थियो । पछि जसपा भयो । राजपा बन्न नदिनुमा सबभन्दा ठूलो हात महेन्द्रजीकै थियो । कुनै कुरामा पनि सहमति नहुने । उहाँले आफ्नो विचार नबनाउने अनि अरूले विचार राख्दा सहमत नहुने मान्छे हुनुहुन्छ । उहाँमा पनि विचलन छ । महेन्द्रजी पहिलादेखि नै हामीसँगै हुनुहुन्थ्यो । उहाँले मन्त्री माग्नुभएको थियो । मन्त्री पनि बनाइयो । अवसर पनि दिइयो । तर, उहाँ किन दुःख मनाउ गरेर बस्नुभएको थियो । त्यो, बुझिनसक्नु छ ।
० मन्त्रीबाट फिर्ता बोलाइएपछि रूष्ट बनेका हुन् कि ?
— मन्त्री परिवर्तनको निर्णय पार्टीको एक जनाले गरेको पनि होइन । समितिले निर्णय गरेको हो । अनि संघीय मन्त्री बनेको ६ महिनापछि पदमुक्त गर्ने भएर सहमति नै भएको थियो । ६ महिनाको ठाउँमा नौ महिना भयो । अरूले पार्टीको निर्णय भनेर सहयोग गरेका थिए । तर, महेन्द्रजीको दुःख मनाउ गलत हो ।
० नेतृ रेणु यादवले पनि राजीनामा दिनुभएको छ । यसलाई कुन रूपमा लिनुभएको छ ?
— यो रेणुजीको क्षणिक आक्रोश हो । यो आक्रोश लामो छैन । यो आफैँ मेटिएर जान्छ । उहाँ तत्काल आक्रोशित देखिनुभएको हो । त्यो आक्रोशलाई हामीले ध्यान दिएका छैनौँ । उहाँको राजीनामाबारे पार्टीमा कुनै छलफल पनि भएको छैन । पार्टीले यसलाई गम्भीरतापूर्वक पनि लिएको छैन ।
० उहाँ फेरि फर्किनुहुन्छ ?
— उहाँ पार्टीमै हुनुहुन्छ । उहाँले पदीय जिम्मेवारीबाट मुक्त भएको मात्र भन्नुभएको छ । उहाँ पार्टीको नेतृ हो । अहिले आक्रोशित हुनुहुन्छ ।
० वीरगञ्जमा भएको केन्द्रीय विस्तारित बैठकबाट हटाइएकाहरूलाई पार्टीमा फर्किने ढोका बन्द भएको हो ?
— हामीले उहाँलाई जिम्मेवारीबाट मुक्त गरेका थियौँ । तर, पछि बाबुरामजीले विज्ञप्ति निकालेर हामीले पार्टी नै अर्को बनाउने भन्नुभयो । त्यही भएर उहाँहरू हाम्रो पार्टीमा हुनुहुन्न भन्ने कुरा हामीले ठम्यायौँ । अब उहाँहरूले के गर्नुहुन्छ । त्यो उहाँहरूको कुरा हो । कसैले गल्ती स्वीकार गरेर पार्टीमा आउन चाहे भने ढोका खुल्ला छ ।
० वीरगञ्ज बैठकले के के निर्णय ग¥यो ?
— पहिलो कुरा स्थानीय चुनावको समीक्षा भयो । आधिकारिता उम्मेदवारविरूद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्ने निर्देशन दिइएको छ । त्यस्तै, स्थानीय तहको चुनावको समीक्षाका लागि समिति बनाउने निर्णय गरेका छौँ । योबाट पाठ सिकेर आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित तुल्याउन संसदीय बोर्ड गठन गर्ने निर्णय गरेका छौँ । त्यस्तै, निर्वाचन तयारी समिति गठन गर्ने निर्णय भएको छ ।
० महाधिवेशन आ विधान अधिवेशनको विषयमा के के निर्णय भयो ?
— विधान अधिवेशनको निर्णय भएको छ । आगामी निर्वाचन पश्चात् विधान अधिवेशन गरिनेछ । विधान अधिवेशनपछि पार्टी अधिवेशन हुने छ ।
० स्थानीय तहमा जसपाले ल्याएको परिणाम अपेक्षाकृत हो ?
— त्यसको समीक्षात्मक प्रतिवेदन सार्वजनिक भइसकेको छ । यस विषयमा हामीले निर्मम तरिकाले समीक्षा गरेका छौँ । समग्रमा यो चुनावमा हामीले पिठ्यू थपथपाउने किसिमको त रहेन । तर, असन्तोष र असन्तुष्टि गर्ने ठाउँ पनि रहेन । ठिकै रह्यो । स्थानीय चुनावमा मतको संख्या पहिलेको भन्दा बढेको छ । हिमाल पहाडमा पनि हामीले बिउ रोप्न पायौँ ।
तपाईको प्रतिक्रिया