अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको अवसरमा कोदोजन्य ग्रन्थ प्रकाशन हुने

समाचार

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३’ को अवसरमा आउँदो १७ पुसमा एक कार्यक्रम गरी मनाउँदैछ ।

संयुक्त राष्ट्रसंघले सन २०२३ लाई अन्र्राष्ट्रिय कोदोजन्य बाली बर्षको रुपमा घोषणा गरेपछि नेपालमा पनि त्यसलाई महत्वका साथ मनाउँन लागिएको हो ।

नार्क, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि विभाग; राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका साथै संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठन, नेपालले अन्य सरकारी तथा गैह्रसरकारी संघसंस्था, कृषक समुदाय एवं बिभिन्न सरोकारवालाहरुसँग मिलेर कोदोजन्य बालीहरुको प्रवर्धनको लागि प्रचारप्रसार, प्रदर्शनी, खाद्य परिकार तथा बीउ मेला, आदि विविध कार्यक्रमहरु संचालन गरिरहेको छ ।

नेपालमा बिभिन्न कोदोजन्य बालीहरुको खेती हुन्छ, जस अन्तर्गत कोदो, चिनो, कागुनो, घोगे वा बाजरा, जुनेलो, सामा, धानकोदो, आदि अन्नबालीहरुको साथै थुप्रै घाँसबालीहरु पर्दछन् ।

यसै सन्दर्भमा नेपालमा कोदोजन्य बालीहरुको इतिहास, परम्परा, संस्कृति, वर्तमान अवस्था, खाद्य तथा पोषण सुरक्षाका साथै पशु–आहारामा यिनीहरुको महत्व, जलवायु अनुकुलन क्षमता, हालसम्म नेपालभित्र र बाहिर अनुसन्धान गरी विकास गरिएका प्रविधिहरु, चुनौति तथा सम्भावनाका साथै यी बालीहरुको प्रवर्धनमा सरकार, नीजि क्षेत्र, कृषक, विद्यार्थी तथा आम उपभोक्ताहरुको भूमिका समेटिएको कोदोजन्य ग्रन्थ २०२३ प्रकाशनको क्रममा रहेको छ ।

यसमा खोजमुलकका साथै ७० भन्दा बढी महत्वपूर्ण लेखहरु समावेश गरिएको हुनेछ । सोही ग्रन्थको सम्पादन गोष्ठी अहिले धुलिखेलमा चलिरहेको छ ।

यो ग्रन्थ सम्पादनको नेतृत्व गरिरहेका जीन बैंकका प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीका अनुसार नेपालमा हालसम्म भएका २१ वटा कोदोजन्य प्रजातिहरुको बारेमा तयार गरिन लागेको यो ग्रन्थमा कोदोजन्य बालीहरुको सम्पूर्ण जानकारी समावेश गरिएको हुन्छ ।

नेपालमा कोदोजन्य बालीहरुको महत्व, अवस्था, अन्तराष्ट्रिय स्तरमा नेपालमा पाइने विविधता, नेपाली मौलिक परम्परा, नवीनतम कृषि प्रविधि, आदिको समेत जानकारी समावेश हुने भएकोले यो राष्ट्रको अपनत्व हुने गरी सबैको लागि उपयोगी हुने महत्वपूर्ण प्रकाशन हुने उनले बताए ।

कोदो बालीमै विद्यावारिधि अनुसन्धान समेत गरेका राष्ट्रिय बाली प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक कृष्णहरि घिमिरेका अनुसार नेपालका सबै जिल्लामा कम लगानी, रासायनिक मल तथा सिंचाई सुविधा बिना पनि खेती गर्न सकिने यी बालीहरु खाद्य तथा पोषण, मानव स्वास्थ्य, पशु आहारा, कृषि–पर्यटन, आय–आर्जन, जलवायु अनुकुलन आदिको दृष्टिकोणले अति नै उपयुक्त बालीहरु हुन् ।

यी बालीहरुमा जातीय विकास, बाली व्यवस्थापन, प्रशोधन, खाद्य परिकार विविधिकरण, नीतिगत पैरवी, बजार प्रवर्धन तथा मुल्य शृंखला आदि क्षेत्रमा पर्याप्त अनुसन्धान गरी ३ वटै तहका सरकारहरु, गैह्रसरकारी संस्थाहरु, शैक्षिक संस्थाहरु, संचार माध्यम आदि मार्फत् यथोचित प्रचार–प्रसार र जनचेतनामूलक कार्यक्रममा जोड दिन सकेमा वर्तमान र भविष्यको निम्ति समेत कोदोजन्य बालीहरुबाट समृद्धि हासिल गर्न सकिने घिमिरेले बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यो संग्रह तयार भएपछि उपेक्षित रूपमा रहेको कोदो बालीका आर्थिक, सामाजिक, धार्मिक, पौष्टिक, वैज्ञानिक र अन्य तथ्यहरूको रहस्योद्घाटन भई बिषयगत ज्ञानको दायरा बढ्ने र यसको खेती बिस्तारमा समेत सहयोग पुग्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ