काठमाडौं । मित्रराष्ट्र भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष महतोले भनेका छन्, ‘भारतले आफ्नो गौरवशाली स्वतन्त्रता दिवस (१५ अगस्त) मनाउँदै यस ऐतिहासिक दिनमा हामी राष्ट्रिय मुक्ति पार्टी, नेपालको तर्फबाट भारत सरकार, भारतीय जनता र सबै भारतवासीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।’
भारतको स्वतन्त्रता संग्राम मानव इतिहासको सबैभन्दा प्रेरणादायी, साहसिक र न्यायपूर्ण आन्दोलनहरू मध्ये एक हो । अहिंसा, एकताको शक्ति, र अटल सङ्कल्पको बलमा भारतीय जनताले ब्रिटिश उपनिवेशवाद विरुद्ध गरेको संघर्षले सम्पूर्ण विश्वलाई स्वतन्त्रता, लोकतन्त्र र आत्मनिर्णयको मार्ग देखाएको छ ।
‘यो केवल तेस्रो विश्वयुद्धपछिको उपनिवेशविरोधी तरङ्ग मात्र होइन, मानवताको विजयको प्रतीक हो । यो उपनिवेशबाट मुक्तिको तेस्रो लहर थियो, यसले नेपाली जनतालाई पनि आफ्नो राष्ट्रिय अस्मिता र स्वाभिमानका लागि प्रेरित गरेको थियो र त जहानियाँ राणा शासनको अन्त्य भयो । तर आजको दिनमा, हामीले याद गर्छौं कि स्वतन्त्रता भनेको केवल शासन, सत्ता वा ब्यबस्था परिवर्तन मात्र होइन, मानिसको मन, विचार, र संस्थाहरूबाट पनि औपनिवेशिक मानसिकताको विसर्जन हो । हामी अहिले चौथो उपनिवेशविरोधी लहरमा छौं; एक यस्तो लडाई जसले स्वदेशी चेतना, आत्मनिर्भरता, र सांस्कृतिक गौरवलाई पुनर्जीवित गर्दै, औपनिवेशिक संरचना, संस्कृति र चिन्तनबाट पूर्ण मुक्तिको आह्वान गर्छ । यस महान् संघर्षमा भारतले अग्रणी भूमिका खेलिरहेको छ, र हामी नेपालीहरू पनि यसै बाटोमा अगाडि बढिरहेका छौं । त्यसैले हाम्रो पार्टीले राष्ट्रिय मुक्ति क्रान्तिका आह्वान गरेका हौँ,’ उनले सन्देशमा भनेका छन् ।
भारत र नेपालबीचको साझा इतिहास, सांस्कृतिक समृद्धि र रगतको सम्बन्धलाई अझ गहराउन प्रतिबद्ध रहेको बताएका भनेका छन्, ‘गंगा र हिमालयले जोडेका सहोदर संस्कृतिका यी दुई देशहरूबीचको शान्ति, सहकार्य, र आपसी विश्वास नै यस क्षेत्रको स्थिरता र समृद्धिको आधार हो । हाम्रो आशा छ कि यी सम्बन्धहरू जनताको हित, प्रगति, र साझा सुरक्षाको लागि अझ बलियो हुनेछन् । यस पावन अवसरमा, हामी भारतको प्रगति, आर्थिक समृद्धि, र सबै नागरिकहरूको सुख–शान्तिको कामना गर्दछौं । साथै, हामी दुई देशबीचको मैत्री, सहकार्य, र साझा संघर्षबाट नयाँ युगको सुरुवात हुने विश्वास गर्छौं । भारत–नेपाल मैत्री दिगो रहोस !’
तपाईको प्रतिक्रिया