इमरान खान, कपिलवस्तु । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा युवा नेता अकरम पठान चयन भएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिकाको सिद्धार्थ रिसोर्ट चन्द्रौटामा भएको पार्टी पुनर्गठन कार्यक्रमद्वारा उनी चयन भएका थिए । अकरम पठानको नेतृत्वमा ४९ सदस्यीय लुम्बिनी प्रदेश समितिको उपाध्यक्षमा नेत्रबहादुर थापा, मोहम्मद असलम अन्सारी र लालिमा मल्ल चयन भएका छन् ।
मुख्य सचिवमा विवेक चन्द्र मिश्र, सचिवमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद कादरीले जिम्मेवारी पाएको जसपाले जनाएको छ ।
यसैबिच केन्द्रीय अध्यक्ष अशोक कुमार राईले आगामी चुनावमा सुशासनलाई मुख्य एजेन्डा बनाइने बताए । जेनजीको भावना समेटिएको आधुनिक, समावेशी र परिवर्तनमुखी घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको उनले बताए ।
उनले जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकीकृत रूपमा ‘जातो’ चुनाव चिन्ह लिएर जाने निर्णयलाई संस्थागत गरिएको अध्यक्ष बताए ।
नवनिर्वाचित अध्यक्ष युवा नेता अकरम पठानले युवा पुस्ताले चाहना गरेको सुशासन, पारदर्शिता र जबाफदेहिताको मूल्य बोधलाई आधार बनाएर सगंठनलाई नयाँ राजनीतिक दिशामा अघि बढाइने प्रतिबद्धता समेत जनाए । सहभागितामूलक निर्णय प्रक्रिया, डिजिटल पारदर्शिता र जनतासँग प्रत्यक्ष संवादमार्फत पार्टीलाई थप सशक्त बनाएर अगाडि बढने बताएका थिए ।
तपाईको प्रतिक्रिया