रौतहट । मुस्लिम समुदायको पवित्र महिना रमजानमा बेलुकी पढिने तरावी नमाज चलिरहेको समयमा मस्जिद अगाडि बिहेमा प्रयोग गरिएको ‘डिजे’ रोकेर ठूलो आवाजमा बजाइएको विषयलाई लिएर विवाद हुँदा दुई समुदायबीच झडप भएको छ।
घटना रौतहटको सदरमुकाम गौर नगरपालिका–सबगढा क्षेत्रमा बिहीबार बेलुकी भएको हो। तरावी नमाजका बेला मस्जिद आसपास उच्च आवाजमा डिजे बजाइएपछि स्थानीयबीच भनाभन सुरु भएको थियो। स्थिति नियन्त्रण बाहिर जाँदा शुक्रबार दुवै पक्षबीच ढुङ्गा हानाहान तथा झडप भएको जनाइएको छ।
स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो १ बजेदेखि अर्को सूचना नभएसम्मका लागि गौर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ। प्रशासनले पूर्वमा मुडलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कफ्र्यू क्षेत्र तोकेको छ।
स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनामा संलग्न १८ जनालाई नियन्त्रणमा लिइएको र दुवै समुदायबीच वार्तामार्फत समस्या समाधान गर्ने पहल भइरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।
प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै सबै पक्षलाई संयम र शान्ति कायम राख्न अपिल गरेको छ।
तपाईको प्रतिक्रिया