काठमाडौँ । राष्ट्रिय एकता दलले भोटेकोशी बाढीमा ज्यान गुमाएका दिवङ्गत आत्माहरूको शान्ति, सद्गति र मोक्षको कामना गर्दै पशुपतिनाथ मन्दिरस्थित बागमती घाटमा जल तर्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
हिन्दू परम्परा अनुसार औँसीको पावन अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा दिवङ्गतहरूप्रति श्रद्धापूर्वक जल अर्पण गरिएको थियो।
श्री पशुपतिनाथ मन्दिरको पूर्वी गेटस्थित बागमती घाटमा अपराह्न ४:०० बजे सम्पन्न सो कार्यक्रममा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव, केन्द्रीय नेता तोयानाथ दाहाल, पुस्ता लामा (पाथीभरा माता), विनोद सिंह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले एक लोटा जल अर्पण गर्दै बाढी पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
कार्यक्रमका क्रममा बोल्दै दलका अध्यक्ष विनय यादवले भोटेकोशी बाढीका मृतकहरूप्रति राज्यले देखाएको उदासीनताको आलोचना गर्नुभयो।
सरकारले गत भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरे पनि सार्वजनिक बिदा नदिएकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, "विपदमा ज्यान गुमाएका नागरिकहरूप्रति राज्यको तर्फबाट पूर्ण सम्मान र संवेदना प्रकट हुनुपर्छ। केवल शोक घोषणामा सीमित नभई सरकारले प्रत्येक वर्ष भदौ २२ गतेलाई भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको स्मरणमा राष्ट्रिय शोकका साथ सार्वजनिक बिदा दिनुपर्छ।"
बाढी पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गर्न तथा हरेक वर्ष भदौ २२ गतेलाई स्मृति दिवसका रूपमा मनाउने वातावरण बनाउनसमेत राष्ट्रिय एकता दलले सरकारसँग माग गरेको छ।
तपाईको प्रतिक्रिया