अस्पतालमै सुरक्षित प्रसूति नपाएकी बबिताको पीडामा समाजसेवी साहको साथ

समाचार

राजविराज । अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन आर्थिक अभाव भएपछि अस्पतालको प्रवेशद्वार नजिकै सडक पेटीमा बच्चा जन्माएकी एक महिलालाई समाजसेवी सुनिता साह (क्रान्ति) ले राहत सामग्री प्रदान गरेकी छन्।

राष्ट्रिय समता पार्टी नेपालकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी राजविराज–७ निवासी साहले शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल पुगेर राजविराज नगरपालिका–१४ की बबिता पासवानलाई आमा र नवजात शिशुका लागि आवश्यक राहत सामग्री हस्तान्तरण गरेकी हुन्।

विपन्न परिवारकी बबिता आर्थिक अभावका कारण तीन दिनअघि अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन नसकेपछि आवश्यक रकमको जोहो गर्न बाहिर निस्किएकी थिइन्। सोही क्रममा अस्पतालको प्रवेशद्वार नजिकै प्रसव पीडा बढेपछि उनले सडक पेटीमै बच्चा जन्माएकी थिइन्। हाल बबिता र नवजात शिशु दुवै गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत छन्।

बबिताको अवस्थाबारे जानकारी पाएपछि साहले उनको पीडामा सहयोग पु¥याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराएकी हुन्। उनले आमा र बच्चाका लागि लत्ताकपडा, झुल, सेनिटरी प्याड, साबुन, पाउडर, पौष्टिक आहारलगायतका सामग्री प्रदान गरेकी छन्।

साहले करिब एक महिनासम्म पुग्ने खाद्यान्नसमेत उपलब्ध गराउँदै विपन्न परिवारलाई तत्काल राहत र मानवीय सहयोग आवश्यक रहेको बताएकी छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ