मूल्यवृद्धि र ग्यास अभावविरुद्ध अग्रगामी युवा मोर्चाको आन्दोलन घोषणा
समाचार
काठमाडौं । अग्रगामी मोर्चानिकट अग्रगामी युवा मोर्चाले बढ्दो मूल्यवृद्धि नियन्त्रण तथा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको माग गर्दै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
मोर्चाले असोज ६ गते नेपाल आयल निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेको छ। आम जनता पार्टी (आजपा)को काठमाडौंस्थित कार्यालयमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर तथा प्रवक्ता सुभाष साहलगायतको सहभागिता थियो।
लामो समयदेखि एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव भइरहे पनि बजार अनुगमन प्रभावकारी हुन नसकेको भन्दै मोर्चाले मूल्य नियन्त्रण तथा अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
मोर्चाको निर्णयमा भनिएको छ, ‘ग्यास आपूर्तिमा देखिएका समस्या समाधान गर्न तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन यही असोज ६ गते अग्रगामी युवा मोर्चाद्वारा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेका छौँ।’
मोर्चाले बढ्दो मूल्यवृद्धि, कालोबजारी तथा सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराउँदै ५ बुँदे माग अघि सारेको छ।
यस्तै, यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मोर्चाले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा उद्धार तथा राहत कार्य प्रभावकारी बन्न नसकेको आरोप लगाएको छ। विपद् प्रभावितको तत्काल उद्धार, उचित राहत तथा स्थायी पुनःस्थापनाका लागि एकीकृत समन्वय गर्न सरकारसँग माग गरिएको छ।
मोर्चाले संस्थागत हुँदै गएको भ्रष्टाचार र प्रशासनिक ढिलासुस्ती अन्त्य गरी पारदर्शिता तथा सुशासन कायम गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
त्यसैगरी, स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा दैनिक हजारौँ युवा विदेशिन बाध्य भएको भन्दै वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा बिचौलियाको सञ्जाल नियन्त्रण गर्न माग गरेको छ।
संयुक्त प्रेस विज्ञप्तिमा समाजवादी युवा संघ नेपालका अध्यक्ष मनिष यादव, समाजवादी युवा संगठनका संयोजक जनकबहादुर कार्की, विद्यार्थी जनमत संघका संयोजक पोषणकुमार यादव, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका प्रतिनिधि विप्लव खुम्बु, आईटी आर्मीका केन्द्रीय प्रतिनिधि राजेश शर्मा, आम विद्यार्थी मोर्चाका केन्द्रीय सचिव प्रिन्स साह, समाजवादी विद्यार्थी युनियन नेपालका उपमहासचिव मुकेशकुमार यादव, कमन जेनजी नेपालका केन्द्रीय प्रतिनिधि रवि ध्वज कार्की र युवा संगठन (प्रलोपा)का सहसंयोजक डिएन जोशीलगायतले हस्ताक्षर गरेका छन्।
मोर्चाले आफ्ना मागप्रति सरकारले तत्काल ध्यान नदिए देशव्यापी रूपमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।
तपाईको प्रतिक्रिया