चुनावचिन्हबिनै समाजवादी दर्ता

राजनीति

6/13/2019

काठमाडौं, ३० जेठ । समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि आवेलन दिएको हो ।

अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले आयोग कार्यालयमा गएर पार्टी दर्ता गराएका हुन् । पार्टी दर्ता गरिसकेपछि पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो पार्टीले समावेशितालगायत मुद्दाहरूलाई सशक्त रूपमा उठाउने बताए ।

अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको संविधानमा धेरै त्रुटीहरू रहेको उल्लेख गर्दै संविधान संशोधन गर्नुपर्ने पार्टीको माग रहेको बताए । केपी ओली नेतृत्वको सरकारबाट पार्टी तत्काल बाहिरिन्छ कि बाहिरिँदैन भन्नेबारे उनले स्पष्ट जवाफ दिएनन् ।

‘तत्कालीन एमाले, माओवादी केन्द्र र समाजवादी फोरमबीच संविधान संशोधन गर्ने सहमति भएपछि हामी सरकारमा सहभागी भएका हौं । संविधान संशोधन हुनुपर्छ । भएन भने सरकार छोड्छौं । अहिले त्यसका लागि हामी छलफल गरिरहेका छौं,’ यादवले भने ।

पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराए पनि चुनाव चिन्ह खाली राखेको छ । अध्यक्ष यादवले दर्ता भएको पार्टीको चुनाव चिन्ह भने टुंगो लागिनसकेको बताए ।

‘त्यसलाई हामीले अहिले खाली राखेका छौं,’ यादवले भने । एक हुनुअघि फोरमले मसाल र नयाँ शक्तिले आँखालाई चुनाव चिन्ह बनाएका थिए । स्थानीय चुनावमा भने नयाँ शक्तिले फोरमको मसाल चिन्ह प्रयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ