वीरगञ्ज, २४ चैत । पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हरिनारायण रौनियारले पर्सामा विकासको लहर ल्याएरै छाड्ने बताएका छन् ।
रौनियारले आफ्नो चुनावी प्रतिबद्धताअनुरुप पर्सा क्षेत्र नम्बर ३ मा विकासका अनेक योजनाहरु लिएर पुगेका छन् ।
रौनियारले पछिल्लो पटक सहरी विकास मन्त्रालयबाट आफ्नो क्षेत्रका लागि विपन्न परिवारलाई आवास निर्माणको योजना ल्याएका छन् ।
रौनियारले आइतबार पोखरिया नगरपालिकाका विभिन्न वडामा पुगेर विपन्न परिवारको लगत संकलन गरेका छन् ।
पहिलो चरणमा क्षेत्र नम्बर ३ मा २ सय ७५ विपन्न परिवारलाई घर निर्माणमा सहयोग पु¥याइने रौनियारले बताए । खरले छाएका कच्ची घर पहिचान गरी प्रति परिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइने उनले बताए । सो रकमबाट घर छाउन जस्तापाता खरीद गर्नु पर्नेछ ।
जिल्लाका विपन्न परिवारको आवास सुधारमा यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गर्दै रौनियारले आफूले चुनावताका व्यक्त गरेका विकासका बाचाहरूलाई पूरा गरिछाड्ने दाबी पनि गरे ।
राजनीतिमा प्रवेश गरेको छोटै समयमा जनताले विश्वास गरी आफूलाई सांसद पदमा पु¥याए पनि आफूविरुद्ध राज्य सञ्चालकहरुले राजनीतिक पूर्वाग्रह साँधेको उनले आरोप लगाए ।
राज्यले जति दुःख दिए पनि आफूले जनताको दुःखमा साथ नछोड्ने उनको भनाइ थियो । सो स्थलगत तथ्यांक संकलन कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल पोखरिया नगर अध्यक्ष गोवद्र्धन यादवको पनि सहभागिता थियो ।
सांसद रौनियारले सो अवसरमा स्थानीय दीर्घकालीन विकास योजनाका बारेमा पनि स्थानीयसँग छलफल गरेका थिए ।
यसअघि उनकै पहलमा पोखरिया नगरपालिकालाई स्मार्ट सिटी बनाएर वृहत्तर विकासका लागि १ अर्ब रुपैयाँको योजना आएको थियो ।
तपाईको प्रतिक्रिया