काठमाडौं, ५ जेठ । समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफूलाई जनताभन्दा माथि ठान्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताएका छन् ।
उनले उक्त कुरा रिपोर्टस नेपालसँगको साक्षात्कारमा बताएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेकोमा आक्रोश पोख्दै भने, ‘संविधानको धारा ६६ को उपधारा २ मा राष्ट्रपतिबाट सम्पादन गरिने सबै काम नेपाल सरकारको सिफारिस र सम्मतिबाट हुने व्यवस्था छ । यस अनुसार उनले मेरो सरकार होइन नेपाल सरकार भन्नु पर्दथ्यो ।’
नेता श्रेष्ठले प्रश्न गरे, के ओली नेतृत्वको सरकार राष्ट्रपति भण्डारीको सरकार हो ? उनले ओलीमाथि कटाक्ष गर्दै भने, ‘प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई सामन्ती युगको महारानीजस्तो बनाउन खोजेको छ । आफूलाई जनताभन्दा माथि ठान्नेहरू नामका कम्युनिष्ट भए पनि कामका सामन्ती सरदार हुन ।’
उनले भने, ‘कम्युनिष्ट हो भने त त्यहीअनुसारको आचरण र व्यवहार पनि हुनुपर्छ ।’ उनले सङ्घीय गणतन्त्रात्मक युगमा नयाँ संस्कृति बनाउनुपर्नेमा पुँजीवादी देशका अनुुकरण गर्न खोजेकोमा ओलीको कटाक्ष गरेको हो ।
तपाईको प्रतिक्रिया