काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आइतबार सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको बेठक आइतबार सम्पन्न भएको हो ।
सो बैठकले पारित गरेको ११ बुँदे प्रस्ताव जस्ताको तस्तैः
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक (माघ १५–१९, २०७६) मा प्रस्तुत र पारित
समसामयिक प्रस्तावहरू
१. यो वैठक सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनताका निम्ति नेपाली जनताद्वारा सञ्चालित जनयुद्ध तथा जनआन्दोलनहरूका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरूका आदर्शलाई पछ्याउँदै अगाडि बढ्ने दृढ सङ्कल्प व्यक्त गर्दछ।
२. यो बैठक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्यहरू कमरेड रवीन्द्र अधिकारीको गतः २०७५ साल फागुन १५ गते तथा कमरेड धनीराम पौडेलको गतः २०७६ साल जेठ ३१ गते भएको असामयिक एवं दुःखद निधनवाट पार्टीलाई अपूरणीय क्षति पुगेको ठहर गर्दछ। यो वैठक नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज र लोकप्रिय पूर्व उपप्रधान अर्थमन्त्री कमरेड भरतमोहन अधिकारीको २०७५ फागुन १८ गते भएको दुःखद् निधनप्रति गहिरो शोक व्यक्त गर्दछ । यो वैठक उहाहरूले राष्ट्र, जनता र नेपाली कम्युनिष्ट आन्दोलनका पक्षमा गर्नभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।
३. यो बैठक प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा निर्विरोध निर्वा्चित हुनु भएका माननीय श्री अग्निप्रसाद सापकोटालाई हार्दिक बधाइ तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ ।
४. यो बैठक गतः माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी हुनुहुने नेकपाका सवै सदस्यहरू तथा नेकपासँगको सहकार्यमा विजयी राष्ट्रिय जनता पार्टी, नेपालका सदस्यहरूलाई हार्दिक वधाइ ज्ञापन गर्दछ । त्यसैगरी यो बैठक गतः मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा पार्टीको तर्फबाट विजयी हुनुहुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू एवं स्थानीय तहका प्रमुख, उपप्रमुख एवं वडा अध्यक्षहरूमा हार्दिक वधाइ ज्ञापन गर्दछ । उपरोक्त निर्वाचन परिणामहरूले हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मख्य, निर्णायक र लोकप्रिय शक्तिका रुपमा रहेको तथ्य पुनर्पुष्टि गरेको निष्कर्षसहित यो वैठक भक्तपुर, धरान, भरतपुर लगायत विभिन्न स्थानहरूमा प्राप्त अनपेक्षित परिणामहरूवाट गंभीर शिक्षा लिन आवश्यक ठान्दछ।
५. यो बैठक गतः आम निर्वाचनमा नेपाली जनताबाट प्राप्त अभूतपूर्व समर्थन र विश्वासलाई ऐतिहासिक अवसर र अग्निपरीक्षाका रुपमा लिएर जनभावना अनुरुप विकास निर्माण, सुशासन, जनसेवा र समद्धिका दिशामा अझ दृढ, गतिशील, स्वच्छ र निष्ठापूर्ण ढङ्गले समर्पित हुन नेपाल सरकार, प्रदेश सरकारहरू, सबै स्थानीय तह र जनप्रतिनिधिहरूलाई आह्वान गर्दछ।
६. यो बैठक चीनको वुहान शहरवाट सुरु भई चीन लगायत विभिन्न मुलुकहरूमा तीव्र गतिमा फैलिइरहेको नोभल(कोरोना भाइरसको समस्याप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। यस संक्रमणवाट चीनमा भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै यसका विरुद्ध चीनले चालेको प्रभावकारी कदमको प्रशंसा गर्दछ। र, यस विरुद्धको अभियानमा चीनियाँ जनता, सरकार र चीनियाँ कम्युनिष्ट पार्टीलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दछ। नोभल कोरोना भाइरसको सम्भावित सङ्क्रमणवाट नेपाली जनतालाई सुरक्षित गर्न विमानस्थल लगायत सीमा(नाकाहरूमा उच्च सतर्कता अपनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । वुहान शहरमा रहेका नेपाली विद्यार्थीहरू लगायत नेपाली नागरिकलाई आपत्कालीन उद्धार गर्न सरकारसंग आग्रह गर्दछ।
७. यो बैठक इरान, इराक लगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। कुनै पनि समस्याको वार्ताद्वारा शान्तिपूर्ण समाधान खोजिनु पर्ने तथा युद्ध या आक्रमणका कुनै पनि गतिविधिहरू तत्काल रोकिनु पर्ने नेपालको मान्यता रहेको कुरा स्पष्ट पार्दै यो बैठक सम्बद्ध सबै पक्षलाई संयम हुन र तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आह्वान गर्दछ । उक्त क्षेत्रमा दस लाखभन्दा बढी नेपालीहरू कार्यरत रहेको र नेपालीहरूको सुरक्षा नेपालको सर्वोपरि चासोका विषय भएको हुनाले उक्त क्षेत्रमा विकसित स्थितिको निरन्तर अनुगमन गर्न र नेपालीहरूको सुरक्षाका लागि सवै खाले कुटनीतिक पहललाई तीव्र पार्न यो बैठक सरकारको गंभीर ध्यानाकर्षण गर्दछ ।
८. यो बैठक २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधरा, लिपलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दछ। ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरूका आधारमा ती भूभागहरू एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ र नेपाल र भारतका परराष्ट्र सचिवहरूको संयन्त्रवाट समस्याको समाधान गर्ने पूर्व सहमति विपरीत गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहने स्पष्ट पार्न चाहन्छ । यस सम्बन्धमा नेपाल सरकारले सर्वदलीय बैठक आयोजना गरेर साझा राष्ट्रिय दष्टिकोण निर्माण गर्न लिएको तदारुकता, देशको भौगोलिक अखण्डता रक्षाका लागि सरकारले लिएको अडान र चालेका कदमहरू सही रहेको करामा जोड दिदै पार्टी सरकारको त्यस अडानलाई दढ समर्थन गर्दछ । राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउदै यस समस्याको समाधान कुटनीतिक एवम् राजनीतिक माध्यमबाट गर्न बैठक सरकारलाई आह्वान गर्दछ । साथै विभिन्न स्थानमा सीमाना र दसगजा मिचिएको र नेपालले आफ्नो भू(भागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ।
९. यो बैठक गत डिसेम्बर १ देखि १०, २०१९ (मंसिर १५(२४, २०७६) सम्म तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) को भव्य आयोजनाका निम्ति नेपाल सरकार र सम्बद्ध निकायहरूलाई हार्दिक वधाइ ज्ञापन गर्दछ। र, उक्त खेलकूदमा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई समग्रमा दोस्रो स्थान दिलाउने नेपाली खेलाडीहरूलाई हार्दिक वधाइ ज्ञापन गर्दछ।
१०. यो बैठक मुलुकका विभिन्न भू(भागमा विगत केही समय यता सडक दुर्घटनाबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ । वैठक यस समस्याको दिगो समाधानका लागि सडक पूर्वाधारमा प्रभावकारी सुधार गर्न, सवारी चालक र सवारी धनी लगायत सम्बन्धितलाई जिम्मेवार बनाउन, पुराना सवारी साधनहरूको नियमन गर्न र सडक सुरक्षा र अनुशासनको कडाइका साथ पालना हुने कुरा सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । वैठक सडक दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण, शोकाकुल परिवारप्रति समवेदना एवं घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ र घाइतेहरूको उपचारको प्रवन्ध गर्न र दुर्घटनामा अभिभावक गुमाएका वालवालिकाहरूको शिक्षादीक्षा र जीवनयापनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ।
११. यो बैठक काठमाडौंको मदननगर वल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गर्दछ । देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुनेगरी आगामी तीन महिना भित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गर्दछ । उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यहरूले न्यूनतम एकदीनको तलव वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिलखोलेर सहयोग गर्न हार्दिक अपिल गर्दछ ।
१९ माघ २०७६
तपाईको प्रतिक्रिया