काठमाडौं, २१ साउन । प्रतिनिधिसभा सदस्य तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठीले गलत विवरण पेश गरी नागरिकता लिनेमाथि कारबाही हुने तर दिने अधिकारमाथि किन कारबाही नहुने भन्ने प्रश्न गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका हुन् ।
त्रिपाठीले प्रश्न गरे, ‘नागरिकता दिने अधिकारीमाथि कारबाही नहुने कारण के हो ? कसैका नातेदार पर्छन् कि, आफन्त पर्छन् या हाम्रो राज्यको घोषित नीति नै यही हो ?’
त्रिपाठीले जसले नागरिकताका प्रमाणपत्र प्रदान गरेका छन् उसलाई कारबाही गरेर सरकारले सदनलाई जानकारी गराओस् भन्ने माग गरेका छन् ।
यसैगरी, त्रिपाठीले उखु किसानका समस्याबार पुनः सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले उखु किसानहरुले अहिलेसम्म पनि भुक्तानी नपाएको र सरकारले दिएको अनुदान पनि कृषि मन्त्रालयको बनाएको कार्यविधिमा रहेका अड्चनका कारण किसान समक्ष पुग्न नसकेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
तपाईको प्रतिक्रिया