मधेशमाथि राज्यले चौतर्फी नाकाबन्दी गरेको छ : ठाकुर

राजनीति

6/21/2019

काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले मधेश नेपालको आन्तरिक उपनिवेशको रूपमा रहेको बताएका छन् ।

उनले मधेशमाथि राज्यले चौतर्फी नाकाबन्दी गरेको आरोप लगाएका छन् । बिहीबार संघीय संसदको बैठकमा बजेट, राज्यका निकायमा प्रतिनिधित्व लगायत सबैमा मधेब उपेक्षित बन्दै गएको र नेपालको एउटा उपनिवेशको रूपमा रहेको दाबी उनले गरेका छन् ।

उनले भने, ‘यहाँ नाकाबन्दीको कुरा सुनिन्छ तर मधेसको आर्थिक नाकाबन्दी भइरहेको कहिले कसैले बोलेको छ ? उसको बजेट किन कम ? जनसंख्याको आधारमा उसको किन प्रतिनिधित्व छैन। शासन प्रशासनमा कति छ ? यो नाकाबन्दी होइन मधेशको ? मधेश नेपालको आन्तरिक उपनिवेशको रूप छ । मधेश खुला जेल छ । सबै बन्दी छ ।’ केन्द्र सरकारले मधेशमाथि नाकाबन्दी लगाएको आरोप उनले लगाए ।

मधेशमाथि अहिले पनि विभेद कायमै रहेको भन्दै उनले विभेद कायम रहेसम्म आफूहरूको विरोध जारी रहने बताए ।

संसदबाट त्रुटी हुँदा विश्वमा तानाशाहहरू उत्पन्न भएको सन्दर्भ उल्लेख गर्दै उनले आफूहरू पनि तानाशाहहरू उत्पन्न हुने हुन् कि भनेर शशंकित बनेको बताए । सरकारले कानुनमार्फत् मधेशी जनताको अधिकार कटौती गर्न लागेको आरोप लगाएका छन् ।

उनले भने, ‘यो संविधानले एउटा विभाजन सृजना गरेको छ । राज्य र विभिन्न समुदायको बीचमा। एकअर्काप्रति संशकित छ। यसले पहाड र मधेसको बीचमा एउटा विभाजन रेखा कोरेको छ। जसरी यहाँ लालबत्ती बल्ना साथ अभिव्यक्ति बन्द हुन्छ। आज कानुनद्वारा लालबत्ती बल्दैछ। हरेक कानुनमा केही न केही लालबत्ती राखिएको छ । जो जनताको अधिकार कटौती गर्ने अवस्थामा गइरहेको छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ