काठमाडौं, १० जेठ । समाजवादी पार्टी नेपाल र राजपा नेपालका सांसदहरूले तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भूलबस पुगेको भन्दै क्षमायाचना गरेका छन् ।
समाजवादी पार्टीका सांसद प्रदीप यादव र राजपाका सांसद एकवाल मियाँले एक प्रेस विज्ञप्ति जारी गर्दै गत बैशाख २४ देखि २८ गतेसम्म लाट्भियाको राजधानी रिगामा आयोजना गरिएको सातौँ विश्व तिब्बतबारे संसदीय सम्मेलनमा भूलबश पुगेको दावी गरेका छन् ।
उनीहरूले व्यक्तिगत हैसियतमा निजी तबरबाट टर्की, स्वीट्जरल्याण्ड र लाट्भियाको भ्रमणमा गएको र लाटभियाको राजधानी रिगामा कानून निर्माताहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको भन्ने गलत सूचनाका कारणले अज्ञानतावस उक्त सम्मेलनमा सहभागी हुन पुगेको स्पष्ट पारेका छन् ।
‘जब हामीलाई उक्त सम्मेलनको सम्बन्धमा यथार्थ जानकारी भयो, तत्पश्चात हामी तत्काल उक्त सम्मेलन स्थल छोडी फर्कियौँ । अनभिज्ञताबस गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएकोप्रति हामी दुःखी छौँ,’–विज्ञप्तीमा भनिएको छ ।
तपाईको प्रतिक्रिया