राजपाको महाधिवेशन भण्डारीले गराउन सक्लान् ?

राजनीति

3/22/2019

काठमाडौँ, ८ चैत । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन् ।

दुई महिनामा संयोजक फेरिने चक्रिय प्रणाली अन्तर्गत भण्डारी अध्यक्ष मडलको संयोजक नियुक्त भएका हुन ।

पार्टी विधानअनुसार अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको दुईमहिने अवधि सकिएपछि भण्डारीको पालो आएको हो । यसअघि नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो राजपाको संयोजक भइसकेका छन् ।

पार्टी एकता भएपछि डेढ वर्षभन्दा बढी समय महन्थ ठाकुर संयोजक भएका थिए । त्यसपछि विधान संशोधन गरी चक्रीय प्रणालीमा दुई÷दुई महिनामा संयोजक परिवर्तन हुने व्यवस्था गरिएको हो ।

राजपाको महाधिवेशन आगामी वैशाखको पहिलो साता गर्ने तिथि तय गरिएको छ । घोषित तिथिमै महाधिवेशन भयो भने अध्यक्ष मण्डलका सदस्य अनिल झा र राजकिशोर यादवले संयोजक बन्ने अवसर पाउने छैनन् ।

तर पार्टीको महाधिवेशन तोकिएको समयमा हुने कि नहुने अन्योल देखिएको छ । राजपाले वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने घोषणा गरेको छ । तर तोकिएको समयमा महाधिवेशन हुने कि नहुने कार्यकर्तामा मात्र होइन, शीर्ष नेतामा पनि अन्योल देखिएको छ ।

महाधिवेशनको एक महिना मात्र बाँकी रहँदो तयारी शून्य छ भने पार्टीले त्यसका लागि आन्तरिक व्यवथापन पनि सुरू गरेको छैन । पार्टीले गाउँ, नगर, जिल्ला, प्रदेशको अधिवेशन अहिलेम्म गराउन सकेको छैन । सातवटा प्रदेशमध्ये अहिले कहीँ पनि अधिवेशन भएको छैन ।

केही जिल्लामा अधिवेशन भए पनि अधिकांश जिल्लामा विवाद देखिएको छ । हालसम्म कुनै पनि प्रदेश तथा जिल्लाको प्रतिवेदनसमेत आइपुगेको छैन ।

यस्तै सक्रिय सदस्यता वितरणको मिति पनि तय भएको छैन । मधेशवाणीसँगको कुरामा उपाध्यक्ष वृषेशचन्द्र लालले महाधिवेशन हुन एक महिना मात्र बाँकी रहँदा जस्तो तयारी हुनुपर्ने हो त्यस्तो तयारी नभएको बताए ।

पार्टी दुई महिने चक्रीय प्रणालीबाट सञ्चालित भइरहेको छ । प्रत्येक दुई महिनामा अध्यक्षमण्डलका संयोजक फेरिदै आएका छन् ।

महाधिवेशन हुने समयमा संयोजक बन्नेका भण्डारीलाई आफनो कार्यकालमा महाधिवेशन गराउन ठूलै चुनौती रहेको छ । तर राजपा नेपालभित्रको आन्तरिक विवादका कारण महाधिवेशन अन्योल देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ