लाल आयोगको प्रतिवेदन माग्दै राजपाद्वारा संसदमा फेरि विरोध

राजनीति

5/20/2019

काठमाडौं, ६ जेठ । राजपा नेपालले तराईं–मधेश आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः सरकारको ध्यानाकर्षण गराएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा पनि राजपाले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

राजपाका सांसद चन्दा चौधरीले मधेश आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् ।

लामो समयदेखि आफूहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक माग गर्दै आएको तथा सदनबाट सो विषयमा रुलिङ भइसक्दा पनि सरकारले कुनै चासो नदिएको चौधरीको भनाई थियो । साथै, सरकारले संसदको रुलिङ उल्लंघन गरेको पनि सांसद चौधरीले आरोप लगाइन् ।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक शुरु भएको जानकारी गराउसाथ राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद चौधरीलाई बोल्न समय दिएका थिए ।

सभामुख महराले भने राजपाका सांसदहरुको विरोधप्रति सरकारको पर्याप्त ध्यान गएको बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने सभामुखकको आश्वासन पछि राजपाका सांसदहरुले विरोध स्थगित गरेका थिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ