काठमाडौं, ९ भाद्र । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय लिम्बूवान पार्टी, नेपालबीच एकीकरण हुने भएको छ ।
एकतामार्फत् राष्ट्रिय शक्ति निर्माणको निमित्त संघीय लिम्बुवान पार्टी नेपालले राजपासमक्ष राजनीतिक प्रस्ताव गरेको छ ।
नेपाली ‘राष्ट्रिय मुक्ति क्रान्ति’को न्यूनतम् कार्यक्रम “बहुलराष्ट्रिय राज्य नेपाल” स्थापना गर्ने, बहुलराष्ट्रिय राज्य निर्माणको दार्शनिक आधार ईण्डिजिनिज्म र शासन कलाको विज्ञान बहुलराष्ट्रिय लोकतन्त्र, संघीयता तथा सामुदायिक समाजवाद हुने संघीय लिम्बुवानले प्रस्ताव गरेको छ ।
संघीय लिम्बूवानले राजपासमक्ष १०बुँदे सहमतिको प्रस्ताव प्रस्तुत गरेको छ । लिम्बूवानका अध्यक्ष सन्जुहाङ पालुङ्वाले राष्ट्रिय राजनीतिक शक्ति निर्माणका लागि मधेशी, आदिवासी जनजाति, पिछडिएका वर्गबीच एकताको अपरिहार्यता रहेको बताएका छन् ।
अध्यक्ष पालुङ्वाले मधेशवाणीसँग कुरा गर्दै भने, ‘नेपालमा वैकिल्पक शक्तिको रुपमा पहाडका आदिवासी जनजातिदेखि मधेशका सम्पूर्ण वर्गको प्रतिनिधित्व गर्ने दलको रुपमा हामी अगाडि बढ्छौं ।’
यता, राजपाका महासचिव केशव झाले संघीय लिम्बूवानसँग एकताका लागि कुराकानी भइरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया