काठमाडौं, ५ पुस । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव तथा प्रदेश नं. २ का प्रदेशसभा सदस्य मनिष कुमार सुमनले नेपाल–भारतको सीमा विवाद उठाएर सम्बन्ध बिगार्ने प्रयास भइरहेको बताएका छन् ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरा उठाएर दुई देशबीचको पारिवारिक सम्बन्धलाई खलबल्याउने प्रयास काठमाडौंमा बसेर गरिएको आरोप लगाएका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा महासचिव सुमनले भनेका छन्, ‘नेपालको संविधान जारी गर्दा त्यसमा नेपालको नक्सा पनि बनाइएको छ । त्यो नक्सालाई नियालेर हेर्ने हो भने त्यहाँ लिपुलेक र लिम्पियाधुरा छुटाइएको छ ।’
उनी भन्छन्, ‘त्यसको बारेमा कसैले केही बोलेनन्, जब अस्ति उपनिर्वाचन आयो अनि न्वारनदेखिको बल निकालेर म मात्रै राष्ट्रभक्त, मेरो मात्रै हो यो देश भनेर कहिले माइघर मण्डलामा कहिले भारतीय दूतावास अगाडि आगो बालेर कराउन थाले ।’
‘यस्तो पारिवारिक र सांस्कृतिक सम्बन्धमा भएको देश दुनियाँ बिरलै हुन्छन् । यस्तो सम्बन्धलाई बिगार्न कसैले बेतुकमा लिपुलेक, लिपुलेक भनिरहन्छ भने त्यो राष्ट्रद्रोही हो ।’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया