संविधानलाई मधेशी जनताले अझै स्वीकार गरेका छैनन् : यादव

राजनीति

5/27/2019

जनकपुरधाम, १३ जेठ । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचान र समानता विरोधी वर्तमान संविधानलाई मधेशी जनताले अझै स्वीकार नगरेको उल्लेख गरे ।

अध्यक्ष यादवले राज्यको स्रोत साधनमा भागेदारी र राज्य सत्तामा मधेशी, आदिवासी, जनजाति, मुस्लिम महिला लगायत उत्पीडनमा परेका सबै वर्ग समुदायको बराबरको अधिकार नभएसम्म मुलुकमा आन्दोलन जारी रहने उद्घोष गर्दै त्यसको नेतृत्व समाजवादी पार्टीले गर्ने उल्लेख गरे ।

नेपाली जनता स्वायत्तता सहितको अधिकार सम्पन्न संघीयता खोजी रहेको बेला शासक वर्गले संघीय प्रणालीलाई नै बदनाम गरेर संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै उनले त्यस विरुद्ध सचेत रहन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

समाजवादी पार्टीको एकताले विचलित भएका परम्परागत शासकहरु विभिन्न खाले अफवाहहरु फैलाइरहेको उल्लेख गर्दै उनले त्यस्ता खाले अफवाहमा नफसी पार्टीको मार्ग सिद्धान्तमा अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

मुलुकमा रहेको तीन वटा क्लस्टर मधेशी –थारु, आदिवासी –जनजाति र खस–आर्यलाई समान अधिकार दिएर अघि बढ्ने एक मात्र पार्टी समाजवादी पार्टी रहेको दावी गर्दै उनले अन्य पार्टीहरु एकल जातीय र क्षेत्रीय मात्र रहेको टिप्पणी समेत गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ