काठमाडौं, ८ पुस । उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाढै अस्वीकार गरेका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा समाजवादी पार्टीले संविधान संशोधनको प्रस्ताव अघि बढाउन खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले इन्कार गरिदिएका थिए ।
स्रोतका अनुसार सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठकमा कानूनमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव पेस गर्न खोजेका थिए ।
प्रधानमन्त्रीले सरकारको नेतृत्व गरिरहेको दल र प्रमुख दलसँग यसबारे छलफल नै नभएको र प्रक्रिया नपुगेको भन्दै प्रस्ताव रोकेका थिए ।
संविधान संशोधनकै शर्तमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले अब के गर्ने भन्ने आम जिज्ञासा देखिएको छ । अब सरकारमा बस्ने कि बाहिरिने भन्ने दोधारमा समाजवादी पार्टी उभिएको हो ।
राष्ट्रिय सभा निर्वाचनका लागि राजपासँग नेकपाले गरेको दुईबुँदे सहमतिपछि समाजवादी पार्टी संकटमा पर्दै गएको छ । नेकपाले भने समाजवादीलाई सरकारबाट हटाएर राजपालाई सरकारमा ल्याउन खोजेको अड्कलबाजी पनि गरिँदैछ ।
राजपा पनि सरकारमा जानका लागि खुट्टा उचालेर बसेको विश्लेषकहरु बताउँछन् । राजपाका नेताहरुले पनि परिस्थिति बन्यो भने संघीय सरकारमा पनि जान सक्ने वक्तव्य दिन थालेका छन् ।
प्रदेश २ मा सत्ता सञ्चालन गर्दै आइरहेको राजपा र समाजवादीबीचको गठबन्धन पनि टुट्ने आशंका गरिँदैछ । नेकपाले राजपा र समाजवादीबीच दूरी बढाएर प्रदेश २ मा पनि सरकारमा बनाउने कसरतमा लागेको स्रोतको दाबी छ ।
तपाईको प्रतिक्रिया