काठमाडौं, ७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना मागहरु अविलम्ब पूरा नभए अर्को कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
मंगलबारको संघीय संसदको बैठकमा बोल्दै राजपा नेपालका अध्यक्षमण्डलका नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्र यादवले यस्तो चेतावनी दिएका हुन् ।
उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले बारम्बार रुलिङ्ग गर्दा पनि सरकारले अटेरी गरेको आरोप लगाएका छन् ।
आन्दोलनकारीहरु अहिले पनि थुनामा रहेकोले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा उनले राखेका छन् । उनले राजपा नेपालले उठाएका मागहरुलाई गर्दै जाँदा बाध्य भएर संसद अवरुद्ध गर्ने चेतावनीसमेत दिएका छन् ।
उनले आफूहरुको माग संविधान संशोधनसँग सम्बन्धित रहेको जिकिर गर्दै विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई आश्वासन दिए पनि अहिलेसम्म त्यसप्रति गम्भीर नरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया