किन जान्छन् मधेशी सीमामा लड्न ?

विचार/दृष्टिकोण

8/1/2020

सदियौंदेखि मधेशीहरु सीमा अतिक्रमणको विरुद्ध लड्दै आइरहेका छन् । सधैं मधेशीलाई भारतीयको संज्ञा दिने महान नेपाली आत्माहरुले कहिले सोचेको हो, किन यति भारतीय भनेर गाली गर्दा पनि यिनीहरु आखिर किन जान्छन् सीमा रक्षा गर्न ! तपाईलाई लागेको होला कि नेपालको भूमिसँग माया छ भनेर तर वास्तविकता योभन्दा धेरै नै फरक छन् ।

मधेशको ८०% जनता कृषिमा निर्भर छन् । मधेश अन्नको भण्डार छ । मधेशको हरेक गाउँ एउटा राष्ट्र र हरेक घर आफैमा एउटा सहर छ । किनकि राउटा राष्ट्रले दिन सक्ने सेवा जतिको क्षमता मधेशको एउटा गाउँले दिन सक्छ । कारण यहि हो प्राचीनकालमा एउटा गाउँपालिका बराबरको एउटा राज्य हुन्थ्यो । साथै एउटा सहरमा जनजीवन बिताउन पाइने सामानहरु मधेशको एउटा घरले आफ्नै बारीमा उत्पादन गर्न सक्छ । त्यसैले मधेशको घर र उनको खेत भनेको एउटा सहर बराबरका छन् ।

जब सीमा अतिक्रमण हुन्छ त्यसको सबभन्दा पहिलो प्रभाव भनेको मधेशीको घरमा पर्छन् । उसको घरलाई चाहिने खाद्यान्नमा कमी आउँछन् । किनकी उसले उब्जाउने खेत भारतीयले खोस्न खोज्छ । यसरी गर्दा एउटा घर होइन पूरा गाउँको घरको जमीन खोसिन जान्छ । जसको कारणले मधेशीलाई खाद्यान्नको कमी हुन्छ । खाना बिना बाच्न सकिन्न, यसको उपाय भनेको आफ्नो खानाको प्रबन्ध आफै गर्नुपर्ने हो भने यसका लागि आफ्नो खेतका लागि लड्नु भन्दा अर्को कुनै विकल्प छैन ।

हो यहाँबाट शुरु हुन्छ भारतीय अतिक्रमण विरुद्धको सीमामा लडाई । यहाँ आइपुग्दा मैले म नेपाली हुँ भन्ने भावना आएको देखिन्न । किनकी उसले दुई छाक खानको लागि लडाई गर्दैछन्, म नेपाली हुँ यो नेपालको जमिन हो भनेर लडेको होइन ।

अब यहाँबाट स्वार्थको राजनीति शुरु हुन्छन् । दुई छाक टार्नका लागि लड्न गएकालाई “भारतीयसँग लडन गएको भनेर गाउँको शासकहरुले आफूलाई राष्ट्रवादी भनेर चिनाउन थाल्छन जो सहरमा बस्छन् ।” यहि कुरा लिएर काठमाडौंमा आएर म चाहिँ ठूलो राष्ट्रवादी भनेर राजनीति गर्छन् ।

फेरि अर्कातिर नेपालका सेना जसलाई सीमा रक्षाका लागि कहिले लडाएन, उनका ठेक्केदारहरु ताली बजाएर बसेका हुन्छन् । आफ्नो देशका लागि लड्नु त ठिक हो तर पेटभारी खानका लागि लड्न गएकोलाई उक्साएर हतियारधारी भारतीय सैनिकसँग लडाउन खोज्नु त कायरको काम हो नि ।

भारतीय सैनिकसँग लड्नलाई ६०% भन्दा बढी बजेटको उपभोग गर्दै आएको नेपाली सेनालाई पठाउनु पर्ने हो न की भुखा जनतालाई उक्साएर लडाउने काम नहोस् । राष्ट्रपतिद्वारा दिने सम्मान किन पाएन त सीमामा गएर लड्ने मधेशी जनता । अब त यतिसम्म भयो कि सीमा अतिक्रमणको विरुद्धमा मधेशी गएन भन्ने उल्टै मधेशीलाई गाली गर्ने गर्छ्न् यी नेपाली शासकहरुले ।

मधेशीलाई उक्साएर सीमाको अगाडि ल्याउने अनि आफू हतियार बोकेर काठमाडौमा बसेर देशको रक्षा गर्ने प्रवृत्ति बन्द गर । सक्छौ भने सीमामा आएर नेपालको झण्डा उचाल काठमाडौको गल्लीमा नेपालको झण्डा उचालेर आफू राष्ट्रवाद प्रमाणीकरण गर्ने काम बन्द गर ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ