दुई वर्षको उपलब्धी के ? (टिप्पणी)

संगीता रेग्मी

विचार/दृष्टिकोण

4/23/2019


मधेशको मुद्दालाई आधार मानेर राजनीति गर्दै आएका ६ वटा दलहरु मिलेर राष्ट्रिय जनता पार्टी बनेको दुई वर्ष पूरा भएको छ । काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा तामझामका साथ राजपाले शनिबार तेस्रो बार्षिक उत्सव मनाएको छ ।

२०७४ वैशाख ७ गते ६ वटा मधेशवादी दल महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिक मिलेर राजपा नेपाल गठन भएको थियो ।

एउटै लक्ष्य र उद्देश्य भएका दलहरु एकै ठाउँमा बसेर अगाडि बढ्दा शोषित पीडित जनताको आवाज उठाउन सहज हुने भनेर नै एकीकरण गरिएको हो । पार्टी एकीकरण पछि राजपा संघ र प्रदेश तहको निर्वाचनमा भाग लिएर केन्द्रिय संसदमा पुगेको छ भने प्रदेश २ मा संघीय समाजवादी फोरमसँग मिलेर सरकार पनि चलाइरहेको छ ।

यो दुई वर्षको अवधिमा मधेशी जनताले पहिलेको तुलनामा के कति अधिकार प्राप्त गरे, उनीहरुको सामाजिक र आर्थिक अवस्थामा कत्तिको परिवर्तन देखा परेको छ, राजपा नेपाल निर्माण भएसँगै मधेशी जनतामा चेतनाको स्तर कति वृद्धि भएको छ भन्ने जस्ता अनुत्तरित प्रश्न अहिले टड्कारो रुपमा उठेको छ ।

पार्टी निर्माण भएसँगै सत्तामा जान सरकारसँग बार्गेनिङ गर्नु, प्रदेशमा सरकार सञ्चालन गर्नु, केन्द्रमा तेस्रो ठूलो दलको हैसियतमा बस्नु, संविधान संशोधनको लागि आवाज उठाउनु आदि दुई वर्षको उपलब्धी भएता पनि जनताको दैनिकीसँग जोडिएको सवालहरुमा राजपा नेपाल पूर्णतः असफल रहेको देखिएको छ ।

कृषिमा आधुनिकीकरण गर्दै मधेशमा कृषि उत्पादन वृद्धि गर्ने, वैदेशिक रोजागरीमा जानेलाई आफ्नै ठाउँमा काम गर्न प्रोत्साहन गर्ने, भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, अस्पतालको अवस्थामा सुधार ल्याउने, शिक्षाको गुणस्तरमा सुधार ल्याउने, खानेपानीको प्रबन्ध मिलाउने जस्ता जनताको दैनिकीसँग जोडिएका सवालहरुमा राष्ट्रिय जनता पार्टीले कहिल्यै पहल गरेको देखिदैंन ।

जबसम्म मधेशका गरिबको छुप्रोमा बिहान बेलुका खाने गाँसको समस्या हल हुन सक्दैन तबसम्म जतिवटा दल मिलेपनि, जति पटक संविधान संशोधन गरे पनि त्यसले मधेशी जनताको मुहारमा खुशी ल्याउन सक्दैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ