पार्टीबाट नेता, कार्यकर्ताको विद्रोह किन ?

विचार/दृष्टिकोण

उपेन्द्र झा

चुनाव कै बेला जनाधार भएका, प्रभावशाली, शीर्ष नेताहरुको ठूलो पंक्ति एमाले पार्टीभित्र विद्रोह गरेर स्वतन्त्र भएका छन् । कसैले टिकट नपाएर, कसैले पाएर पनि एमाले पार्टी परित्याग गरेका छन् । विभिन्न ठाउँका ५० भन्दा बढि प्रभावशाली नेताहरुको पलायन हुने कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिता, निरंकूश कार्यशैली तथा परम्परागत सोच नै हुन् ।

यही स्वेच्छाचारी प्रवृतिका कारण गतवर्ष माधव नेपालको नेतृत्वमा एमाले पार्टी विभाजन भएको थियो । जसमा दर्जनौं साँसद सहित ५०भन्दा बढि शीर्ष नेताहरुको पलायन भएको थियो ।

केपी शर्मा ओलीका कारण क्षयीकरण भोग्ने एमालेको नियती बनेको छ । टिकट नपाएर भीम रावल, घनश्याम भूषाल ग्रूपका दर्जनौं नेताहरु स्वतन्त्र उम्मेदवारी दिएका छन् भने रौतहटको सम्पूर्ण एमाले टिकट लिएर स्वतन्त्र उम्मेदवारी दिने प्रभु साहले केपी शर्मा ओली र उपेन्द्र यादबको अप्राकृतिक गठबन्धनबाट रुष्ट भई पार्टी परित्याग गरेका छन् । रुपन्देहीमा पनि जिल्लाका दर्जनौं नेताहरु टिकट नपाएर एमाले परित्याग गरेका छन् ।

एमालेलाई मधेश विरोधीको रुपमा छवि बनाई दिएको अध्यक्ष केपी शर्मा ओलीले चाहेर पनि एमालेलाई संगठित राख्न सकि रहेको छैन । एमाले माओवादीको एकीकरणबाट सशक्त पार्टीको रुपमा रहेको नेकपा एमालेलाई ओलीले संगठित रह्न दिएन ।

केपी शर्मा ओलीको निरंकूश कार्यशैली र चरित्रमा सहकार्य गर्ने गुणको अभावका कारण माओवादी अलग भयो, एमाले टुक्रा भयो । एमाले टुक्रिने प्रक्रिया थामिएन । चुनावको मुखमा आएर पार्टीबाट नेताहरुको व्यापक पलायनबाट कमेडी गरि सबैलाई हँसाउने केपी ओली साह्रै दुःखी भएको देखिन्छ ।

मधेश विरोधी एमाले र आपूmलाई मधेशवादी नमान्ने उपेन्द्र यादबको नोमिनेशनको २ दिनपूर्व भएको गठबन्धन उपेन्द्र यादबको राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । आफ्नो मन्त्रिमण्डलबाट अपमानजनक रुपबाट फालिएका उपेन्द्र यादब त्यसपछिका दिनमा तथानाम गाली गरेर अहिले ओलीको अंकमालमा बाँधिनु वैचारिक स्खलन नभई अरु के हो ?

नेपाली काँग्रेससंग बदला लिनका लागि बिना कारण नागरिकता विधेयक पास हुन नदिएर मधेश विरोधी एमालेसंग उपेन्द्र यादबको साँठगाँठ एमालेसंगै उपेन्द्र यादबको पतनको कारण नबनोस् । एमाले जतिसुकै प्रयास गरोस् मधेशमा पार्टीको प्रतिष्ठा कायम रह्न सक्दैन । उपेन्द्र यादब केपी ओलीसँग गठबन्धन बनाएर मधेशी शहीद र जनताको अनादर गरेको छ । मधेश विरोधी प्रवृतिसंगको मतैक्यता उपेन्द्र यादबलाई भारी क्षतिको बोझ उठाउनु पर्ने सम्भावना छ ।

देश र जनताको विकास र समृद्धिको कल्याणकारी एजेण्डा बोकेर राजनीतिक दलहरु जब सत्तामा आए, स्थायी सरकारले पहिले पैसा कमाउने बाटो देखायो । आपूm समृद्ध भए मात्र देशलाई समृद्ध गर्न सकिन्छ भन्ने मन्त्र राज्यसत्ताले सिकायो । यो मन्त्र सत्य पनि लाग्यो । विस्तारै ठूलादेखि साना दलहरु यही मन्त्र जापमा लागे ।

सबै राजनीतिक दलहरु पैसा कमाउने बाटो अख्तियार गरेपछि देश बनाउने एजेण्डा नै विलीन भयो । यस्तो अवस्थामा देश ३ दशकभन्दा बढि भटकिंदै गएपछि जनतामा राजनीतिक दलप्रति रहेको आस्था बिलायो । देश अर्कै करबट लिने तैयारी गर्न थाल्यो ।

स्थानीय चुनावमा केही शहरका सचेत मतदाताहरुले शक्तिशाली राजनीतिक दलहरुको परम्परागत कार्यशैलीलाई चुनौती दिने उद्देश्यले स्वतन्त्र व्यक्तिलाई मेयर पदमा जितायो । ठूला पार्टीको अहंकार क्षत विक्षत भयो । दुई चारवटा स्वतन्त्र मेयर पदमा आएपछि जनतामा नवीन विचार फैलिन लाग्यो । वालेन शाहको सुधार कार्यबाट प्रभावित जनता एउटाले पनि काम गर्न सक्दछ सोचेर आम चुनावमा स्वतन्त्रलाई जिताउने मनःस्थिति बनाएका छन् ।

धन कमाउन लोभिएका दलहरु स्वार्थ लिप्सामा यति व्यस्त भए कि देशको विकास र समृद्धिका जिम्मेवारी नै बिर्से । देशमा बेथीतिले स्थान पायो । सरकार मात्र होइन, सरकारी संयन्त्र सबैले आफ्नो जिम्मेवारी बिर्से । फलतः हरेक क्षेत्रमा अराजकता फैलियो ।

देश अस्त व्यस्त भयो । दलहरु, व्यक्तिहरु, कर्मचारीहरु, न्यायाधीशहरु, सेना, पुलिस कसैमा ईमानदारी रहेन । सबैले देशको दोहन, शोषणलाई नै आफ्नो जिम्मेवारी ठाने । देशको मौलिक अधिकारलाई पनि विदेशीको हातमा बेचेर खाए । पैसा पाए देशै बेची दिने यस्तो छ हाम्रो राष्ट्रवादी प्रवृति ।

देशका लागि नयाँ कुरा केही दिन नसकेको अवस्थामा जनतामा आएको विरक्तिको परिणाम पनि राजनीतिक दलहरुले नै भोग्नु पर्छ । जनतामा पार्टीहरुप्रतिको आस्था मेटिदै गएपछि आज नेता, कार्यकर्ताको विद्रोह सबै पुराना पार्टीमा देखिएका छन् ।

अनास्था जागृत भएपछि विद्रोह जन्म लिनु स्वाभाविक हो । देशको जनता नवीनताको खोजीमा छन् । पार्टी संगठनको दाम्लो चुँडाएर जनता स्वतन्त्रतिर आकर्षित हुन थालेको छ । मतदाता जति मात्रामा दाम्लो चुँडाएर स्वतन्त्र हुन्छन् त्यति नै मात्रामा स्वतन्त्र व्यक्ति जितेर आउँछन् ।

६ वटै राजनीतिक दलका शीर्ष भ्रष्ट नेताहरुलाई ठाउँका ठाउँ रोक्ने अभियान केही दिनदेखि अभ्यासरत थियो । टाउकेहरुलाई हराउने अभियान अन्तर्गत हरेक ठाउँमा सुयोग्य उम्मेदवारहरुले उम्मेदवारी दिई सकेका छन् । जनतामा रहेको वितृष्णालाई संगठित पार्ने अभियान पनि चलि रहेको छ ।

संसद भवनलाई नेपाली काँग्रेस, एमाले र माओवादीहरु सबै मिलेर जुवाघर बनाएको छ । यहाँ जुवा खेल्नेबाहेक अरु कुनै काम हुदैन । यही परिपार्टीलाई ध्वस्त गर्न टाउके हराउ अभियान चलि रहेको छ । टाउकेहरुको विरुद्धका स्वतन्त्र उम्मेदवारलाई जनताको समर्थन निकै पाईने कुरा पनि छ । जनताले नवीनता हेर्न चाहेको छ । आशा छ, नवीन वातावरणमा साँस लिन पाईएला ।

आफ्नो स्वार्थबाहेक देशप्रति कुनै आस्था नरहेको पुरातन सोच भएका राजनीतिक दलहरु अहिले चुनावमा संगठन भएपनि निरीह बनेका छन् । एक्लै चुनाव लड्ने यसपाली कसैमा हिम्मत देखिएन । गठबन्धनबाट फेरि एकपल्ट जनतालाई झुक्याउन पाइन्छ कि भनेर सत्तापक्ष र प्रतिपक्ष दुबैले गठबन्धन बनाएका छन् ।

अन्तिमकालमा सत्तापक्षको गठबन्धनबाट एक्कासी प्रतिपक्षको गठबन्धनमा पुगेका उपेन्द्र यादब चुनाव खर्च निकै हात पारेका छन् होला । यस्तै विगतमा आन्दोलनबाट भागेर अकस्मात् चुनावमा होमिनु, केपी ओलीको अन्धभक्त बन्नु, उपेन्द्र यादबले अकल्पनीय चुनावी खर्च पाएर देखाएको चमत्कार थियो । अहिलेको पनि अप्रत्याशित परिवर्तनको कारण पनि चुनावी खर्चको आर्थिक लाभ नै हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ