स्ववियु निर्वाचन नीति, सिद्धान्तविहीन भद्रगोल विद्यार्थी संगठन

विचार/दृष्टिकोण

– रंजित निष्पक्ष, यूवा नेता लोसपा नेपाल

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति आगामी चैत ५ गतेका लागि तय गरेको छ । २०६५ सालदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तय भए पनि विद्यार्थी संगठनहरुको आन्तरिक तयारी भने कमजोर देखिएको छ । खासगरी ठुला, मधेश केन्द्रीत र अन्य पार्टीका विद्यार्थी संगसंगठन सांगठनिक रुपले भद्रगोल देखा परेको छ ।

कतिपय विद्यार्थी संगठन अझै पूर्णता पाएको छैन एकल रुपमा संगठन चलाइरहेको र कसैलाई नसुईकार्ने र म नै संगठन छु भनी प्रभुसत्ता जमाउनुको कारण अहिले विभिन्न कलेज र जिल्लाहरुमा ब्यापक विवाद र समानान्तर समितिहरु धमाधम गठन र विवाद सिर्जना भएको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयका आड्डकि तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावसम्बन्धी प्रक्रिया र कार्यक्रम त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९ जारी संगै निर्वाचन प्रक्रिया शुरु भएको छ । स्ववियुको निर्वाचन हुने कि नहुने भन्ने दुविधा रहिरहेको अवस्थामा सम्बन्धित विद्यार्थी संघ संगठनका नेता एवं प्रतिनिधिसँग विश्वविद्यालय प्रशासनले गरेको छलफलपश्चात यही चैत्र ५ गते चुनाव सम्पन्न गर्ने गरी निर्वाचन घोषणा गरेको छ ।

स्ववियु निर्वाचनको प्रक्रिया शुरु भएपछि त्रिवि अन्तर्गतका प्रायः सबै क्याम्पसमा निर्वाचनमय माहोल देखिएको छ । स्ववियु निर्वाचन मार्फत् आफ्नो नेतृत्व क्षमता र कौशललाई प्रमाणित गर्नेतर्फ विद्यार्थी नेताहरू खुलेर लागेका देखिन्छन् । राजनीतिमा सामान्य रुचि र चासो राख्ने युवा विद्यार्थीसमेत स्ववियु निर्वाचनमार्फत् आ–आफ्नो अभिमत प्रकट गर्ने उत्कट अभिलाषाका साथ क्रियाशील भइरहेका छन् ।

यति वेला क्याम्पसका नियमित शैक्षिक गतिविधि एवं अध्ययन–अनुसन्धान कार्यमा सरिक भइरहेका विद्यार्थीको ध्यानलाई समेत आकर्षण गर्ने गरी विद्यार्थीको नेतृत्व पंक्तिले प्रभावकारी शैलीमा उच्च शिक्षासँग सम्बन्धित विषयलाई बहसमा राखी रचनात्मक रुपमा प्रस्तुत गर्नु आवश्यक देखिन्छ । तर व्यवहारमा भने विद्यार्थीका हकहित र अवसरसँग सम्बन्धित शैक्षिक मुद्दा र रचनात्मक क्रियाकलाप फरक शैलीका साथ प्रस्तुत भएका गतिविधि देखिएका छैनन् ।

देश लोकतान्त्रिक संघीय गणतन्त्रमा प्रवेश गरिसकेको अवस्था भए पनि हाम्रो सोच, शैली, चिन्तन र व्यवहारमा भने खासै परिवर्तन हुन नसकेको आभास स्ववियु निर्वाचनका क्रियाकलाप र गतिविधिबाट देखिएको छ । विगतमा जस्तो सामाजिक पृष्ठभूमि र राजनीतिक वारतरणमा स्ववियुको स्थापना र क्रियाशील भएको थियो, आज विल्कुल फरक अवस्थाबाट समाजअगाडि बढिरहेको छ । हाम्रा आर्थिक, सामाजिक र राजनीतिक मुद्दामा समेत व्यापक फेरबदल आएको छ ।

यसर्थ तदनुसारका गतिविधि र क्रियाकलापको माग विद्यार्थी राजनीतिले गरिरहेको छ । तर हाम्रो परिवेशमा शासन व्यवस्थाको आवरण नयाँ भए पनि चिन्तन शैली र क्रियाकलाप पुरानै ढर्रामा अगाडि बढिरहेका छन् । देशको शैक्षिक आन्दोलनलाई दिशावोध गर्न सक्ने गरी नवीन सोच र चिन्तनमा आधारित भएर युवा विद्यार्थीले आफ्ना वर्गीय हित अनुरुपका गतिविधिलाई अगाडि बढाउनु आवश्यक छ ।

बदलिदो परिवेश अनुसार देशको उच्च शिक्षा कस्तो हुनुपर्ने हो ? उच्च शिक्षालाई सर्वशुलभ र सबैको पहुँचमा कसरी पु¥याउन सकिन्छ? देश विकासका लागि आवश्यक जनशक्ति निर्माणका लागि साधारण तथा प्राविधिक उच्च शिक्षाको संरचना र विषयवस्तुको स्तरोन्नति कसरी गर्न सकिन्छ ? हाम्रो देशको विश्वविद्यालयबाट प्राप्त शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिश्पर्धी बनाउन के–कस्तो सुधार र पहल गर्नुपर्ने हो ? नेपालमा निशुल्क शिक्षा प्रणाली कहिले, कसले र कुन विद्यार्थी संगठनले लागु गराउन सक्छ?

नेपालमा बढदो शिक्षा माफियाहरुको कुरिती र अनियमित तरिकाले चर्को शैक्षिक शुल्क लिने संचालक माथीको कार्यवाही आदि प्रश्नमार्फत् देशको समग्र शैक्षिक आन्दोलन र अभियानको दिशाबोध गर्ने गरी क्रियाशील हुनुपर्ने विद्यार्थी संघ, संगठनहरू केवल आफ्ना माउ पार्टीहरूको विरासत थाम्नका लागि मात्र पुरानै भद्दा शैली र आचरण लिएर स्ववियु निर्वाचनमा दौडिरहेका छन् । विद्यार्थीहरूको प्रचार शैली, सामग्री र क्रियाकलाप हेर्दा देशको शैक्षिक मुद्दामा बौद्धिक वहस, छलफल र दिशावोध गर्ने तर्फ कुनै प्रयास देखिँदैन।

उनीहरूमा कुनै नवीन सोंच, चिन्तन र रचनात्मक कार्यक्रमसमेत देखिँदैन । आ–आफ्ना माउ पार्टीभत्रका पनि गुट–उपगुटका शक्ति केन्द्र धाउने र स्ववियु निर्वाचनमा आफ्नो उम्मेद्वारी पक्कापक्की गर्ने भन्दा फरक धन्दामा उनीहरू लाग्न सकेका छैनन । देशको राष्ट्रिय राजनीतिमा वर्चश्व राख्ने पार्टीका नेतृत्व तहमा समेत विश्वविद्यालयमा अध्ययनरत शिक्षित एवं युवा जोश, जाँगरबाट भरिएका विद्यार्थीबाट नयाँ भविश्य र सम्भावनाको खोजी गर्नुभन्दा आफ्नो विरासतामात्र थामिदियोस् भन्ने रुग्ण मनस्थिति हावी भएको भएको अवस्था छ ।

स्वतन्त्र विद्यार्थी युनियन मूलतः विद्यार्थीको शैक्षिक हकहित र अवसरका लागि सौदावाजी गर्ने संस्थागत निकाय हो । यसर्थ, स्ववियुलाई विश्वविद्यालयले आवश्यक मान्यता प्रदान गरी एउटा सम्बद्ध पक्षको रुपमा आत्मसाथ गरेकोे छ । यसले विश्वविद्यायमा सञ्चालित अध्ययन–अनुसन्धान कार्यमा सबै विद्यार्थीको पहुँच र सुविधाका लागि आवश्यक पहल गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दछ । तर यसको अर्को र महत्वपूर्ण पक्ष भनेको युवा विद्यार्थीमा राजनीतिक नेतृत्व क्षमताको विकास एवं निर्माण गर्ने अवसर पनि हो ।

सबै विद्यार्थी संघ, संगठन आ–आफ्ना माउ पार्टीका भातृ संगठनका रुपमा क्रियाशील रहेका हुन्छन् । माउ पार्टीले लिएका राजनीतिक दर्शन, सोंच, विचार र सिद्धान्तलाई आत्मसात गर्दै भोलिको राष्ट्रिय राजनीतिमा नेतृत्व प्रदान गर्ने अवसरको सपना बोकेर उनीहरू विद्यार्थीबीच आपसी प्रतिस्पर्धामा नेतृत्वका लागि प्रस्तुत भएका हुन्छन् ।

आज विद्यार्थीको पंक्तिमा सफल नेतृत्व गर्न सक्ने विद्यार्थी नेताहरू नै भोलि स्थानीय समाजदेखि राष्ट्रिय राजनीतिक नेतृत्वमा विकास हुने प्रवल सम्भावना रहने गर्दछ । यसर्थ, स्ववियु नेतृत्वमा आउने हरेक विद्याथीले आफूलाई थोरै फरक शैली र रचनात्मक गतिविधिका साथ प्रस्तुत गर्नु आवश्यक छ ।

यस पटकको स्ववियु निर्वाचन यस अर्थमा पनि महत्वपूर्ण छ कि प्रायः सबै विद्यार्थी स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत छन् र उमेरमा पनि २० वर्ष वा सोभन्दा माथि उमेरका छन् । यसै पटकदेखि विश्वविद्यालयले सबै विद्यार्थी संघ, संगठनको सहमतिमा स्ववियुका अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायतका पदाधिकारी र केही सदस्यको प्रत्यक्ष निर्वाचन मार्फत् निर्वाचित गर्ने र बाँकी पदाधिकारी र सदस्यलाई समानुपातिक प्रक्रियाबाट निर्वाचित गर्ने गरी त्रिविले स्ववियु निर्वाचन कार्य निर्देशिका जारी गरेको छ ।

यसरी युवा विद्यार्थी पहिलो पटक प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रक्रियाको अभ्यासमा सरिक हुँदै २८ वर्षभित्रका आफ्ना दौतरीलाई स्ववियुको नेतृत्व स्थापित गर्दै छन् । त्यस्तै, कतिपय विद्यार्थी स्ववियु निर्वाचनमार्फत् भए पनि पहिलो पटक आफनो जनमत प्रकटको अवसरलाई उपयोग गर्न गइरहेका छन् । उनीहरूले प्रकट गर्ने जनमतबाट देशको समग्र राजनीतिको तस्वीर एवं जनमतलाई आकलन गर्न पनि सहयोग पुग्नेछ । विद्यार्थी युनियनको यस निर्वाचनबाट राष्ट्रिय राजनीतिमा विभिन्न राजनीतिक पार्टी पोजिसनलाई समेत बुझन सहज हुनेछ । यसले विभिन्न विद्यार्थी संघ, संगठन र तिनका माउ पार्टी समेतले यस पटक हुन गइरहेको स्ववियुको चुनावलाई विशेष चासोका साथ हेरेको देखिन्छ ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै जनमतको कदर गर्नु हो । स्वच्छ र भयरहित निर्वाचन जनमतलाई कदर गर्ने सर्वोत्कृट विधि हो । यसको अभ्यासमा भोलिका कर्णधार युवा विद्यार्थी सरिक हुने अवसर प्राप्त भइरहेको छ । चुनाव नेतृत्व चयनको वैधानिक विधि हो र यसलाई मर्यादित रुपमा सम्पन्न गर्दा नै सबैको जीत हुन्छ भन्ने भावनाका साथ स्ववियु निर्वाचन सम्पन्न गर्न सम्बन्धित सबै विद्यार्थी संघ, संगठनले ध्यान दिनु आवश्यक छ ।

०६२।०६३ को जनआन्दोलनपश्चात् दुई पटक संविधानसभाको निर्वाचन भए आन्दोलनको रापताप र बन्दुकको नोखमा संविधान घोषणा भए र त्यस पश्चात दुई पटक प्रदेश र संघको संसदिय चुनाव र स्थानिय चुनाव पनि भए तर देशको राष्ट्रिय राजनीतिमा लम्बिदै गएको संक्रमणकालीन अवस्थाले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने भएपछि देशको समग्र राजनीतिक माहोलसमेत यसले तताएको छ । विश्वविद्यालयबाट प्रमाणपत्र तहको कार्यक्रम पूर्ण रुपमा खारेज भइसकेको अवस्थामा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीबाट नयाँ नेतृत्व छानिनु पर्ने भएपछि विद्यार्थीले नेतृत्व निर्माणमा परिपक्व जनमतको प्रयोग गर्ने अपेक्षासमेत आमरुपमा गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ