काठमाडौं, १० मंसिर । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गर्ने कम्पनीहरुलाई केएफडब्लू बैंकमार्फत प्राप्त अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले प्रिमियर अर्गानिक्स प्रालिलाई ५३ लाख ५१ हजार पाँच सय चौरासी रुपैयाँ, हुलास स्टिल प्रालिलाई १७ लाख आठ हजार चार सय ५६ रुपैयाँ हस्तान्तरण गरेको छ ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुनेगरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहका बीच हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले यस्तो अनुदानले उर्जाको बचत गरी राष्ट्रकै लागि योदान पुग्ने बताए ।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जि इफिसेन्सी प्रोग्राम नेपाल आयोजना कार्यान्वयनको लागि प्रोजेक्ट एक्जुकेटिङ एजेन्सीको रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ ।
बैंकका अनुसार आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मित्व्ययी तथा प्रभावकारी उर्जा बचत हुनेगरी यन्त्र उपकरण गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने छ ।
यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
तपाईको प्रतिक्रिया