काठमाडौं, १ असोज । एनआइसी एसियाले किया ब्रान्डका गाडी खरिद गर्नेलाई कर्जा उपलब्ध गराउने भएको छ ।
बैंक र किया ब्रान्ड गाडीको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिबीच उक्त बैंकलाई वित्तीय साझेदार बनाउने समझदारी भएको बैंकले जनाएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कन्टिनेन्टलका सहायक निर्देशक आशिष पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । अब कियाका ग्राहकले उक्त बैंकको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा पाउने विज्ञप्तिमा उल्लेख छ ।
कन्टिनेन्टलबाट काठमाडौं उपत्यकाका उपभोक्ताले किया कार किन्दा प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने बताइएको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यावसायिक प्रयोजनको लागि सवारी खरिद गर्ने ग्राहकले पाउनेछन् । उक्त बैंकले आवश्यक कागजात प्राप्त भएको ४८ घन्टाभित्रै सवारी कर्जा प्रवाह गर्ने व्यवस्था गरेको जनाएको छ ।
सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने तथा रातो प्लेटका निजी सवारीका लागि ५० र व्यावसायिक प्रयोजनका रातो प्लेटको किन्दा ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र कम्पनीबीच भएको छ । यससँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुवै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया