निजगढ विमानस्थल बनाउन कतार इच्छुक

अर्थ/वाणिज्य

1/16/2019

काठमाडौं, २ माघ । खाडी राष्ट्र कतारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन इच्छा देखाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार कतारले निजगढ विमानस्थल बनाउन नेपालसामू प्रस्ताव पेस गरेको छ ।

गत कात्तिकमा भएको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा कतारले निजगढ विमानस्थल बनाउने इच्छा देखाएको थियो ।त्यसपछि नेपाल र कतारका सरकारबीच लगानी, मोडालिटी र सञ्चालनका विषयमा दुईरतीन पटक छलफल भइसकेको छ ।

कतारले सुरूमा इपिसिएफ (इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ) मोडालिटीमा विमानस्थल बनाउन प्रस्ताव गरेको थियो ।

नेपाल सरकारले उक्त विमानस्थल बुट (निर्माण, स्वामित्व, सञ्चालन, हस्तान्तरण) मोडलमा निर्माण गर्ने निर्णय गरिसकेकाले कतारलाई सोही मोडलमा विमानस्थल बनाउन प्रस्ताव गरेको छ । कतारले विमानस्थल बनाउने टुंगो भएपछि यो परियोजनाबारे थप कुरा सरकार–सरकारबीचको सम्झौताबाट निर्धारण हुनेछ ।

नेपालको वायु सेवा क्षेत्रमा सहकार्य गर्न कतारले यसअघि पनि प्रस्ताव गरेको थियो । नेपाल वायु सेवा निगमलाई कम्पनी मोडलमा लैजाने सरकारी निर्णयपछि कतार एयरवेजले आफू साझेदार बन्न इच्छुक रहेको बताएको थियो ।

सन् २०१७ जुनमा साउदी बहराइन, इजिप्ट र युएईले नाकाबन्दी लगाएपछि कतारले पछिल्लो समय टाढाका मित्र राष्ट्रसँग सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ